पाल्पा,३० जेठ । पाल्पाको रामपुर नगरपालिकाले वडा नं. ९ का स्थानीयहरुलाई एकीकृत घुम्ती शिविर मार्फत सेवा प्रदान गरेको छ । नगरपालिकाको कार्यालयको पहुँच भन्दा पर रहेका नागरिकहरुलाई सहज रुपमा सेवा प्रदान गर्ने उद्देश्यले घुम्ती शिविर मार्फत सेवा प्रवाह गरेको हो । नगरपालिकाले स्वास्थ्य परीक्षणसँगै नगरपालिका कार्यालयबाट प्रवाह हुने सेवा सहितको शिविर सञ्चालन गरेको हो । भूगोलका हिसावले टाढा रहेको वडालाई मध्यनजर गर्दै शुक्रबार वडा नं. ९ मा घुम्ती शिविर सञ्चालन गरिएको नगरपालिकाले जनाएको छ । नगरबासीको आवश्यकता तथा सेवामा सहजताका लागि शिविर सञ्चालन गरिएको रामपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुर्य दर्शन पण्डितले बताउनुभयो । नगरपालिका कार्यालयबाट दुरी र पहुँचका हिसावले टाढा रहेका नगरबासीको लागि अन्य स्थानमा पनि शिविर संचालन गर्दै आएको उहाँले बताउनुभयो । शिविरबाट वडा भित्र सञ्चालन भएका कार्यक्रम र योजनाको भुक्तानी, कृषि तथा पशु सेवा, आँखा, कान, घाँटी तथा दन्त परिक्षण सहित अन्य स्वस्थ्य परिक्षण सेवा, संस्था तथा व्यवसाय दर्ता तथा नविकरण, ज्येष्ठ नागरिक तथा अपाङ्ग परिचयपत्र वितरण, महिलाहरुको पाठेघरको मुखको सम्भावित क्यान्सर परीक्षण सेवा प्रदान गरिएको थियो । आधारभूत स्वास्थ्य केन्द्र जब्गाडीको प्राङ्गणमा भएको शिविरमा एकै दिन ६ सय ८१ सेवाग्राहीले सेवा लिएको वडा अध्यक्ष दिल बहादुर रानाले जानकारी दिनुभयो । शिविरमा स्वास्थ्य जाँच तथा ल्यावसेवा ४५५ जना, आँखा तथा कान परीक्षण सेवा ४७९ जना, दन्त परिक्षण सेवा ८६ जना, अपाङ्गता तथा जेष्ठ नागरिक परिचयपत्र ६ जना, योजनाको भुक्तानी सेवा २८ जना, व्यवसाय नविकरण ५ जना, पशु सेवा २२१ र कृषि सेवा २१० जनाले सेवा लिएको रामपुर नगरपालिका योजना शाखा प्रमुख विक्रम बस्नेतले जानकारी दिनुभयो । शिविरमा रामपुर अस्पतालको समन्वयमा विशेषज्ञ सहितको स्वास्थ्य जाँच, नेपाल परिवार नियोजन संघ पाल्पाको समन्वयमा महिलाको पाठेघरको परीक्षण र कालीगण्डकी आँखा उपचार केन्द्रको समन्वयमा आँखा तथा कान परिक्षण संगै आौषधी वितरण गरिएको स्वास्थ्य शाखा प्रमुख गिरिराज घिमिरेले जानकारी दिनुभयो । रामपुर नगरपालिकाले नगरपालिकाले यस अघि वडा वडा मै पुगेर चालू घुम्ती शिविर मार्फत आर्थिक वर्षमा सञ्चालन हुने योजनाको सम्झौता गर्नुका साथै र बैंक खाता खोल्ने व्यवस्था मिलाएको थियो । नगरपालिकाले बैंक भन्दा पर रहेका नागरिकहरुलाई सामाजिक सुरक्षा भत्ता वडा र टोलबाट वितरण गर्दै आएको छ। शिविर मार्फत नगरपालिका कार्यालयका विभिन्न शाखाहरुले प्रदान गर्ने सेवा कर्मचारी तथा जनप्रतिनिधिहरुको उपस्थितिमा सेवा प्रवाह गरिएको थियो ।












