लुम्बिनी ,२८ जेठ । हातमा स्मार्टफोन, आँखामा सपना तर मनभित्र अलमल—आजका युवाको यही चित्रलाई बदल्ने उद्देश्यसहित जेठ २७ गते लुम्बिनीमा “बुद्धको देशमा Gen-Z चेतना: पञ्चशीलको मार्गचित्र” विषयक विशेष सेसन सम्पन्न भएको छ। ‘रोट्रयाक्ट युथ आइकन २०८३’ अन्तर्गत आयोजित उक्त कार्यक्रमले युवाहरूलाई डिजिटल युगको विचलनबाट आत्मचेतना र मूल्यमा आधारित जीवनशैलीतर्फ मार्गदर्शन गर्ने उद्देश्य राखेको थियो।

कार्यक्रममा अन्तर्राष्ट्रिय बौद्ध उत्प्रेरक, नेपाल सरकारको ‘सुप्रबल जनसेवाश्री’ सम्मानबाट विभूषित तथा लुम्बिनी विकास कोषका पूर्व उपाध्यक्ष पूजनीय भन्ते मेत्तेय शाक्यपुत्रले पञ्चशीलको मार्ग आजका जेन-जी पुस्ताका लागि अत्यन्त सान्दर्भिक जीवन दर्शन भएको बताउनुभयो।
उहाँले स्क्रिन र डिजिटल भुलभुलैयामा अल्झिएको युवा पुस्तालाई भित्री चेतनातर्फ फर्किन आग्रह गर्दै भन्नुभयो, “पञ्चशील कुनै बन्धन होइन, यो त आजको भ्रामक संसारमा युवा मस्तिष्कलाई मानसिक रूपमा बलियो बनाउने मार्ग हो। जब भित्री चेतना जागृत हुन्छ, तब मात्र वास्तविक नेतृत्व क्षमताको विकास हुन्छ।”
त्यस्तै, प्रमुख प्रशिक्षक रमेश अर्यालले बुद्धले २५०० वर्षअघि देखाएको मार्ग आजको आधुनिक युगमा झन् बढी आवश्यक बनेको उल्लेख गर्नुभयो। युवाहरूलाई व्यावहारिक जीवन र मनोविज्ञानसँग जोड्दै उहाँले भन्नुभयो, “ज्ञान किताबमा मात्र सीमित नराखी जीवनमा उतार्ने युवा नै वास्तविक युथ आइकन हुन्।”
रोट्रयाक्ट क्लब अफ बुटवल डाउन टाउनका अध्यक्ष रोट्रयाक्टर आविष्कार खनालले युवाहरूमा नैतिक आचरण, सन्तुलित जीवनशैली तथा सकारात्मक नेतृत्व विकास गर्नु नै कार्यक्रमको मुख्य उद्देश्य रहेको स्पष्ट पार्नुभयो।
कार्यक्रममा निर्णायकको रूपमा लुम्बिनी विकास कोषका वरिष्ठ सूचना अधिकृत श्री राजन बस्नेत तथा प्रख्यात लोकसाहित्यविद् डा. लक्ष्मी पोखरेल रहनुभएको थियो। साथै क्लबका बोर्ड तथा सदस्यहरू तथा छिमेकी रोट्रयाक्ट क्लबका अध्यक्षहरूको समेत उल्लेखनीय सहभागिता रहेको थियो।
कार्यक्रम अन्तर्गत रोट्रयाक्ट युथ आइकन प्रतिस्पर्धा पनि सञ्चालन गरिएको थियो। विभिन्न कलेजबाट छनोट भई आएका २७ जना प्रतिभाशाली प्रतिस्पर्धीहरूमध्ये दोस्रो चरण पार गर्दै १५ जना सहभागीहरूले लुम्बिनीमा “बुद्धको देशमा जेन-जी चेतना” शीर्षकमा आफ्ना विचार, प्रस्तुति तथा अभिव्यक्ति प्रस्तुत गरेका थिए।
अब आगामी जेठ ३० गते हुने फाइनल चरणमा यी १५ जनामध्येबाट छनोट हुने ‘टप पाँच’ बीच अन्तिम प्रतिस्पर्धा हुनेछ। सो प्रतिस्पर्धाबाट यस वर्षको ‘रोट्रयाक्ट युथ आइकन’ घोषणा हुने क्लबका सचिव केशव पौडेलले जानकारी दिनुभयो।












