स्थानीय सरकारसँगको विवादका बीच कैलालीको लम्कीचुहा प्रादेशिक अस्पताल उदघाटन

  • कैलाली १४ जेठ। लम्कीचुहा प्रादेशिक अस्पताल उद्घाटन। प्रवेशद्वारदेखि नै नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको थियो भने नगर प्रहरीलाई  कार्यक्रमस्थल प्रवेश गर्न दिइएन । सम्भावित अवरोध रोक्न भन्दै प्रदेश सरकारले बिहानैदेखि अस्पताल परिसरलाई सुरक्षा घेरामा राखेको थियो ।
    कडा सुरक्षा व्यवस्थाबीच सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले अस्पताल उद्घाटन गरेका छन् । नगर प्रमुख सुशीला शाही अजरबैजान भ्रमणमा रहेका बेला प्रदेश सरकारले अस्पताल उद्घाटन गरेको हो । उनको अनुपस्थितिमा नगर उपप्रमुख जुना चौधरी उद्घाटन कार्यक्रममा सहभागी भइन् ।
    उद्घाटन कार्यक्रममा सामाजिक विकास राज्यमन्त्री सरस्वती खड्का, प्रदेशसभा सदस्य रामेश्वर चौधरी लगायत सहभागी थिए ।
    अस्पताल उद्घाटनलाई लिएर प्रदेश सरकार र नगरपालिकाबीच लामो समयदेखि विवाद चल्दै आएको छ । यसअघि पनि नगर प्रमुख शाहीले विरोध जनाएपछि उद्घाटन कार्यक्रम रोकिएको थियो । यसपटक भने उनी विदेश भ्रमणमा रहेका बेला प्रदेश सरकारले कार्यक्रम सम्पन्न गरेको हो ।
    प्रहरीका अनुसार बुधबार राति अस्पताल परिसरमा डोजर, ट्याक्टर र एम्बुलेन्स तेर्साएर कार्यक्रम अवरुद्ध पार्ने तयारी भएको सूचना पाएपछि अतिरिक्त सुरक्षा परिचालन गरिएको थियो । अस्पताल वरपर बिहानैदेखि प्रहरीले निगरानी बढाइएको थियो ।
    उद्घाटनपछि आयोजित कार्यक्रममा वक्ताहरूले अस्पताललाई राजनीतिक विवादमा नतान्न आग्रह गरेका थिए ।
    नगर प्रमुख शाहीले प्रदेश सरकारले स्थानीय तहसँग आवश्यक सम्झौता नगरी अस्पताल सञ्चालन प्रक्रिया अघि बढाएको भन्दै विरोध गर्दै आएकी छन् । जबकी यसअघि १५ शय्याको नगर अस्पताललाई ५० शय्याको प्रादेशिक अस्पताल बनाउने प्रस्तावमा उनले नै सहमति दिए जनाएकी थिइन् ।
    सोही प्रस्तावका आधारमा संघीय सरकारले अस्पताललाई प्रादेशिक अस्पताल बनाउने निर्णय गरेको थियो । पछि अधिकार क्षेत्र मिचिएको भन्दै शाही सर्वोच्च अदालत पुगेकी थिइन् । तर सर्वोच्च अदालतले तत्काल अन्तरिम आदेश दिन अस्वीकार गरेपछि प्रदेश सरकारले उद्घाटन प्रक्रिया अघि बढाएको हो ।

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    © 2026 Khabar Khata All right reserved Site By : Himal Creation