बुटवल, माघ – बुटवल उपमहानगर नगरपालिकाले मंगलबारदेखि पाठेघरको मुखको क्यान्सर विरुद्दको खोप ‘एचपीभी लगाउने भएको छ ।
बुटवलका विभिन्न विद्यालय, स्वास्थ्य संस्था स्तरीय खोप केन्द्र तथा आम्दा अस्पतालमा गरि ८३ वटा खोप केन्द्रबाट माघ २२ देखि २९ गतेसम्म खोप अभियान सञ्चालन गरिने उपमहानगरका स्वास्थ्य शाखा प्रमुख युवराज पाण्डेले जानकारी दिए ।
बुटवल भित्रका ७० वटा विद्यालय, १२ वटा स्वास्थ्य संस्था स्तरीय खोप केन्द्र तथा खोप अभियानपछि छुटेकाहरूलाई आम्दा अस्पताल बुटवलमा माघ २८ र २९ गते दुई दिन खोप लगाइने उनले बताए । संघीय सरकारले अभियानका रूपमा सञ्चालन गरेको खोप कार्यक्रम मार्फत बुटवलका १० हजार किशोरीलाई खोप लगाउने लक्ष्य राखिएको स्वास्थ्य शाखा प्रमुख पाण्डेले बताए ।
अभियान अन्तरगत विद्यालय जाने ९ हजार ८१४ तथा विद्यालय बाहिर रहेका १४७ जना किशोरीको तथ्याङ्क संकलन गरि खोप सञ्चालन गर्न लागिएको उनले बताए । एचपीभी खोपलाई प्रभावकारी बनाउन विद्यालय, स्वास्थ्य स्वयम् सेविका तथा सरोकारवाला पक्षसँग छलफल तथा अभिमुखीकरणमा कार्यक्रमहरु गरिएको उनले बताए ।
नेपाली महिलाको सबैभन्दा बढीमा देखिने स्वास्थ्य सम्बन्धी समस्यामध्ये एक पाठेघरको मुखको क्यान्सर हो । यो समस्यालाई निराकरण गर्न लक्षित समुह नछुट्ने गरी खोप केन्द्र तोकिएको र सोही अनुसार तयारी गरिएको बुटवल उपमहानगर खोप फोकल पर्सन कल्पना भुसालले बताइन् । यो खोप ९ देखि १४ वर्ष उमेर समूहका बालिकाहरुलाई लक्षित गरिएको छ ।
यसरी निश्चित उमेर तोकिनुको कारण यौन क्रियाकलापमा सहभागी हुनुभन्दा अगाडि नै यो खोप दिनुपर्ने भएकाले उमेर समूह तोकिएको हो । किनभने यो भाइरस यौन क्रियाकलापबाट सर्छ । तर यौन क्रियाकलाप नगरेको अवस्थामा २६ वर्ष उमेर सम्मका युवतीलाई खोप लगाउन सकिन्छ । बुटवलमा खोप अभियानका लागि १७२ जना स्वास्थ्य स्वयम् सेविका, विद्यालयका शिक्षिका तथा नर्स ७० जनालाई प्रशिक्षित गरिएको खोप फोकल पर्सन भुसालले बताइन् । यसैगरी ४६ जना स्वास्थ्यकर्मी समेत खोपका लागि परिचालन गरिने भएको छ ।












