पोखरा २ फागुन । सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले सराङकोट धार्मिक तथा पर्यटकीय हव बाउने बताएका छन् । बिहीबार सो क्षेत्रको अवलोकन पछि स्थानीयलाई सम्बोधन गर्दै मन्त्री गुरुङले पोखरालाई नजिकैबाट नियाल्न तथा फेवातालसँगै विभिन्न्न हिमशृङ्खला अवलोकनका लागि सराङकोट पुग्नैपर्ने बताए ।
उनले पछिल्लो समय सराङकोट धार्मिक एवम् पर्यटन क्षेत्र विकास समितिको अग्रसरतामा निर्माण गरिएका संरचनाले त्यस क्षेत्रको सुन्दरता थप बढाएको चर्चा गर्दै पोखराको पर्यटनमा सराङकोटको भूमिका महत्वपूर्ण रहेको बताए ।
उनले प्राविधिक पक्ष संग बुझेर सराङकोट टपस्थित नेपाल टेलिभिजनको टावर स्थानान्तरणका लागि आफूले पहल गर्ने बताउदै निर्माण गरिएका संरचना उद्घाटनका लागि प्रधानमन्त्री केपी शर्मा ओलीलाई ल्याउन आफू प्रयासरत रहेको जनाए ।
कार्यक्रमापोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले सराङकोट अब पर्यटकीयस्थल मात्रै नभई धार्मिककोरुपमा विकास हुँदै गएको बताए । तीनै तहका सरकार तथा स्थानीय जनताको सहयोगमा सराङकोट टपमा विभिन्न संरचना निर्माण गरिएको बताउँदै आचार्यले त्यस क्षेत्रको विकासमा महानगरपालीकाको सधैँ सकारात्मक रहेको बताए।
सो अवसरमा सराङकोट धार्मिक एवम् पर्यटन क्षेत्र विकास समिति अध्यक्ष प्रेमबहादुर जिसी, सराङकोटमा हुन लागेको महायज्ञ प्रचारप्रसार उपसमिति संयोजक कृष्ण थापा, पत्राचार उपसमिति संयोजक सुशील जिसी लगायतले सराङकोटको विकासमा तीनै तहका सरकारको ध्यानाकर्षण गराए थिए ।
२०६१ सालदेखि यहाँ गुरुयोजना बनाई विभिन्न संरचना निर्माण गरिएको छ । हालसम्म विशाल शिव मन्दिर, नेपालकै पहिलो विशाल पञ्चमुखी गणेश मूर्ति, १०८ शिवलिङ्ग, १०८ धारा, भ्यू टावर, बहुउद्देश्यीय भवन, भूमे कालिका, स्वागतद्वार निर्माण भइसकेका छन् । ती संरचना निर्माणमा हालसम्म ३५ करोड बढी खर्च भइसकेको जनाइएको छ ।
नवनिर्मित संरचना आगामी महाशिवरात्रि पर्व अवसरमा १४ फागुनमा उद्घाटन गर्ने कार्य तयारी गरिएको छ । साथै, सोही दिनदेखि २१ फागुनसम्म यहाँ श्रीमद्भागवत् ज्ञानमहायज्ञ एवम् धार्मिक पर्यटन महाउत्सव सुरु हुने सराङकोटका धार्मिक एवम् पर्यटन क्षेत्र विकास समिति अध्यक्ष प्रेमबहादुर जिसीले जानकारी दिए । यज्ञसँगै धार्मिक तथा पर्यटनको सम्मिश्रण हुँदै सराङकोट विश्वबजारमा अझ बढी लोकप्रिय बन्ने अपेक्षा गरिएको छ ।
सराङकोटमा हालसम्म निर्माण गरिएका संचरनाको दिगो व्यवस्थापनमा अलवा बालउद्यान, योग ध्यान केन्द्रसहित दृष्य अवलोकनका लागि सिसाको आकाशे पुलसहितको थप योजना सम्पन्न गर्न यज्ञ फलदायी हुने प्रचार संयोजक कृष्ण थापाले जानकारी दिए ।
सराङकोटमा सडकमार्ग अलावा केवलकार मार्फत पनि पुग्न सकिन्छ । त्यहाँ अझै १५ करोडका संरचना निर्माण गर्ने लक्ष्य राखिएको छ ।
यसैबीच, यज्ञलक्षित स्थानीय संघसंस्था तथा पत्रकारसँग बिहीबार छलफल भएको थियो ।











