बुटवल सेन्ट्रल लियो तथा लायन्स क्लबद्वारा अर्घाखाँचीमा विद्यालय पोशाक वितरण

  • बुटवल, ४ असोज । लियो क्लब अफ बुटवल सेन्ट्रल र लायन्स क्लब अफ बुटवल सेन्ट्रलको संयुक्त आयोजनामा अर्घाखाँचीको छत्रदेव–१, चिदिकास्थित चन्द्र माध्यमिक विद्यालयमा मानवीय तथा युवा लक्षित कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा १०० भन्दा बढी विद्यार्थीलाई विद्यालय पोशाक तथा शैक्षिक सामग्री वितरण गरिएको हो।

    कार्यक्रमको अध्यक्षता लियो क्लब अफ बुटवल सेन्ट्रलका अध्यक्ष लियो–लायन केशव पौडेलले गर्नुभएको थियो। कार्यक्रममा प्रमुख अतिथिका रूपमा लायन्स डिस्ट्रीक ३२५ पिका DAT Co-Chief Advisor तथा बुटवल सेन्ट्रल लायन्स क्लबका पूर्व अध्यक्ष लायन विष्णु कुँवर उपस्थित हुनुहुन्थ्यो।

    कार्यक्रममा विद्यालय व्यवस्थापन समिति अध्यक्ष रीता पन्थी, वडा सदस्य हरि प्रसाद पाण्डे, प्रधानाध्यापक शंकर प्रसाद भट्टराई, शिक्षक–अभिभावक संघका अध्यक्ष अमृता बेलबासे, लियो जिल्ला परिषद् ३२५ पिका पदाधिकारी, लियो क्लबका पूर्व अध्यक्ष तथा पदाधिकारी, शिक्षकगण, अभिभावक तथा विद्यार्थीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

    विशिष्ट अतिथि तथा विद्यालयका प्रधानाध्यापक शंकर प्रसाद भट्टराईले क्लबले विद्यालयमा गरेको सहयोगको प्रशंसा गर्दै विद्यालयलाई आगामी दिनमा समेत निरन्तर सहयोगको आवश्यकता रहेको बताउनुभयो।

    स्थानीय सरकारको प्रतिनिधिका रूपमा वडा सदस्य हरि प्रसाद पाण्डेले सरकार सधैँ क्लबहरूसँग हातेमालो गर्न तत्पर रहेको बताउँदै यस्ता सहयोगले अन्य सहयोगी हातहरूलाई समेत विद्यालयमा सहयोग गर्न प्रेरित गर्ने विश्वास व्यक्त गर्नुभयो।

    विद्यालय व्यवस्थापन समिति अध्यक्ष रीता पन्थीले बुटवलबाट विद्यालयमा आएर सहयोग गरेकोमा खुसी व्यक्त गर्दै आगामी दिनमा समेत निरन्तर सहयोगको अपेक्षा गर्नुभयो।

    प्रमुख अतिथि लायन विष्णु कुँवरले १२ देखि ३० वर्षसम्मका युवाहरू लियो क्लबमार्फत नेतृत्व विकास, फेलोसिप, अनुभव तथा सामाजिक सेवाप्रति प्रतिबद्ध हुँदै आएको बताउनुभयो। उहाँले सन् २०१५ मा लायन्स क्लब अफ बुटवल सेन्ट्रलको स्पोन्सरमा गठन भएको लियो क्लब अफ बुटवल सेन्ट्रलले विगतमा लायन्स क्लबसँगको सहकार्यमा वृक्षारोपण, वातावरण संरक्षण, आँखा शिविर, रक्तदान, पिस पोस्टर प्रतियोगितालगायतका विभिन्न सामाजिक कार्य सम्पन्न गर्दै आएको जानकारी दिनुभयो।

    उहाँले हालैको बाढीबाट प्रभावितहरूका लागि पनि क्लबले १ लाख रुपैयाँभन्दा बढी आर्थिक सहयोग गरेको उल्लेख गर्नुभयो। विद्यालय परिवार, लियो डिस्ट्रीकका पदाधिकारी, लियो क्लब अफ बुटवल सेन्ट्रल तथा लायन्स क्लब अफ बुटवल सेन्ट्रलका पदाधिकारीहरूको निरन्तर सहयोग र शुभेच्छाका लागि उहाँले आभार व्यक्त गर्नुभयो।

    कार्यक्रममा बोल्ने वक्ताहरूले विशेषगरी न्यून आय भएका परिवारका विद्यार्थीहरूका लागि विद्यालय पोशाक तथा शैक्षिक सामग्रीको सहयोग महत्वपूर्ण रहेकोमा जोड दिएका थिए। विद्यालय पोशाकले विद्यार्थीलाई अनुशासनमा राख्न सहयोग गर्नुका साथै अध्ययनमा निरन्तरता कायम राख्न प्रेरित गर्ने, अभिभावकलाई आर्थिक राहत पुर्‍याउने तथा शैक्षिक समानता कायम गर्न सहयोग गर्ने विश्वास वक्ताहरूले व्यक्त गरेका थिए।

    कार्यक्रमको सञ्चालन लियो क्लब अफ बुटवल सेन्ट्रलका पूर्व अध्यक्ष लियो–लायन हिमाल खनालले गर्नुभएको थियो।

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?


    © 2026 Khabar Khata All right reserved Site By : Himal Creation