मदिना मदरसा मस्जिद प्रबन्ध परिषद्को आयोजनामा रक्तदान

  • बुटवल ,९ भदौ । हजरत मोहम्मद मुस्तफा सल्लल्लाहु अलैहे वसल्लमको १५०१औँ जन्मोत्सवको अवसरमा मदिना मदरसा मस्जिद प्रबन्ध परिषद्को आयोजनामा रक्तदान तथा सामाजिक सेवा कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा मुस्लिम समुदायका युवालगायत विभिन्न व्यक्तिहरूले उत्साहपूर्वक रक्तदान गर्दै मानव सेवाप्रतिको आफ्नो प्रतिबद्धता प्रस्तुत गरेका छन्। रक्तदान कार्यक्रममा ६ जना महिलासहित विभिन्न व्यक्तिहरूको सक्रिय सहभागिता रहेको थियो।
    मदिना मदरसा मस्जिद प्रबन्ध परिषद्का संरक्षक हाजी जमाल मियाले रक्तदान जीवन बचाउने महत्वपूर्ण सामाजिक सेवा भएको बताए। आफूहरूले हरेक वर्ष सामाजिक तथा मानवीय सेवाका विभिन्न कार्यक्रम गर्दै आएको उल्लेख गर्दै आगामी दिनमा पनि यस्ता सहयोगका कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे। परिषद्का अध्यक्ष हाजी सकुर मियाले हजरत मोहम्मद मुस्तफा सल्लल्लाहु अलैहे वसल्लमको जन्मदिनको अवसरमा धार्मिक कार्यक्रमसँगै सहयोग तथा विभिन्न सामाजिक कार्य गर्दै आएको बताए। उनले यस्ता कार्यक्रमले समाजमा आपसी सद्भाव, भाइचारा र मानवताको भावना अझ बलियो बनाउने विश्वास व्यक्त गरे।
    कार्यक्रम संयोजक अन्जिल खानका अनुसार रक्तदान कार्यक्रममा ५६ युनिट रगत संकलन भएको थियो। संकलित रगतमा महिला रक्तदाताको समेत उल्लेखनीय सहभागिता रहेको थियो। कार्यक्रममा रक्तदानसँगै विभिन्न सामाजिक सेवाका गतिविधिसमेत सञ्चालन गरिएको थियो। कार्यक्रमको सञ्चालन संयोजक खानले गरेका थिए। आयोजकले आगामी दिनमा पनि समुदायको हित, सामाजिक सद्भाव तथा मानवीय सेवाका क्षेत्रमा निरन्तर योगदान गर्दै जाने जनाएको छ।

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    © 2026 Khabar Khata All right reserved Site By : Himal Creation