बुटवल,८ भदौ । बुटवलका मुस्लिम समुदायले धर्मगुरु हजरत मोहम्मदको जन्मदिन पारेर सोमबार नन्दिनी गौशालामा गौआहार हस्तान्तरण गरिएको छ । धर्मगुरु हजरत मोहम्मद मुस्तफा स्वल्लल्लाहो अलैहे वसल्लमको १५०१ औँ जन्मोत्सवको शुभ अवसरमा मदिना मदरसा मस्जिद प्रबन्ध परिषद्, बुटवलको आयोजनामा गौशालाका गाईलाई गौआहार प्रदान गरिएको छ । नेपालको राष्ट्रिय जनावर गाईको संरक्षण होस भन्ने उद्देश्यसहित वसल्लमको जन्मदिनको अवसरमा आकार प्रदान गरिएको हो ।
गाईलाई आहार प्रदान गर्दै बुटवल उपमहानगरपालिका प्रमुख खेलराज पाण्डेयले मुस्लिम समुदायले पुन्य कार्य गरेको बताए । बुटवल प्रमुख खेलराज पाण्डेयले देशभरमा नै जातिय र धार्मिक सहिष्णुता नमुना भएको शहर भएको दाबी गरे । देशभरि नै सन्देश दिने गरि मुश्लिम समुदायबाट काम हुदै आएको उनले बताए ।आगामी दिनमा पनि यस्ता कार्य निरन्तर हुनेमा आशा व्यक्त गरे । मदिना मदरसा मस्जिद प्रबन्ध परिषदका संरक्षक संरक्षक हाजी जमाल मियाकोले नेपालको राष्ट्रिय जनावर तथा लक्ष्मीको संरक्षणमा मुस्लिम समुदायको पनि योगदान होस भनेर आहार दिइएको बताए । आफूहरुले हरेक वर्ष यस्ता सहयोग कार्यक्रम गर्दै जाने मियाले बताए । मदिना मदरसा मस्जिद प्रबन्ध परिषद्का अध्यक्ष हाजी सकुर मियाले हजरत मोहम्मद मुस्तफा स्वल्लल्लाहो अलैहे वसल्लम जन्मदिनमा सहयोग र सामाजिक कार्य गर्दै आएको बताए । कार्यक्रमको सञ्चालन कार्यक्रम संयोजक अन्जिल खानले गरेका थिए ।
यसैबीच परिषदले सोमबार नैं मानव सेवा आश्रममा बेसाहाराहरुलाई भोजन सेवा खुवाएको छ । धार्मिक आस्था र सामाजिक सेवाको भावनालाई जोड्दै आयोजना गरिएको कार्यक्रममा आश्रममा आश्रित व्यक्तिहरूलाई भोजन गराइएको थियो । जन्मोत्सवको अवसरमा आयोजना गरिएको भोजन सेवाले मानवता, करुणा, आपसी सद्भाव र सामाजिक एकताको सकारात्मक सन्देश दिएको आयोजकले जनाएको छ । मदिना मदरसा मस्जिद प्रबन्ध परिषद्ले आगामी दिनमा पनि सामाजिक उत्तरदायित्वअन्तर्गत मानव सेवाका विभिन्न कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ ।मंगलबार बिहान बुटलमा वृहत रक्तदान र धर्मगुरुको स्मरणमा पाठ समेत गरिने कार्यक्रम रहेको उनले बताए ।













