लुम्बिनी ,८ भदौ । लुम्बिनी सांस्कृतिक नगरपालिका रुपन्देही र नेपाल रेडक्रस सोसाइटी लुम्बिनी सांस्कृतिक नगरपालिका पालिका शाखाको आयोजनामा वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ। नगरपालिका रेडक्रस शाखाका सभापति अल्ताफ हुसेन खाँको अध्यक्षता तथा लुम्बिनी सांस्कृतिक नगरपालिकाकी कार्यवाहक नगर प्रमुख कल्पना हरिजनको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो।
कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत तारा ज्ञवाली, उपसचिव हरि प्रसाद ज्ञवाली, प्रशासन शाखा प्रमुख धर्मेन्द्र बेल्वासे, वरिष्ठ शिक्षा अधिकृत लक्ष्मी पराजुली, समन्वयकर्ता तुलसीराम लामिछाने तथा मर्यादपुर माध्यमिक विद्यालयका प्रधानाध्यापक दयानाथ यादव लगायतको आतिथ्यता रहेको थियो। कार्यक्रममा विभिन्न विद्यालयका शिक्षक तथा विद्यार्थीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
प्रतियोगितामा लुम्बिनी सांस्कृतिक नगरपालिकाका ९ वटा विद्यालयबाट ९ जना विद्यार्थी सहभागी भएका थिए। प्रतियोगिताको निर्णायक मण्डलमा धर्मेन्द्र बेल्वासे, लक्ष्मी पराजुली र दयानाथ यादव रहनुभएको थियो। कार्यक्रमको सञ्चालन तथा सहजीकरण रेडक्रस पालिका शाखाका सचिव दिनेश उपाध्यायले गर्नुभएको थियो।
प्रतियोगितामा खुदाबागर माध्यमिक विद्यालयका दीपेन्द्र यादव प्रथम, आमा माध्यमिक विद्यालयकी धर्मशिला बरई द्वितीय र तेनुहवा सामुदायिक माध्यमिक विद्यालयका रेहान खान तृतीय भएका छन्।
वक्तृत्वकला प्रतियोगितामा विद्यार्थीहरूले विषयवस्तुको ज्ञान, स्पष्ट अभिव्यक्ति, आत्मविश्वास, आवाज तथा उच्चारण, भाषाको प्रयोग, श्रोतालाई बुझ्ने क्षमता तथा प्रभावकारी सुरुवात र समापनजस्ता पक्षलाई ध्यानमा राख्दै आफ्ना विचार प्रस्तुत गरेका थिए।
कार्यक्रममा वक्तृत्वकला विद्यार्थीको आत्मविश्वास, नेतृत्व क्षमता, व्यक्तित्व विकास तथा सञ्चार सीप अभिवृद्धि गर्ने महत्वपूर्ण माध्यम भएको बताइएको थियो। राम्रो वक्ता हुनु भनेको राम्रोसँग बोल्नु मात्र नभई आफ्ना विचार र भावनालाई प्रभावकारी ढंगले श्रोतामाझ पुर्याउन सक्नु भएको सहभागी वक्ताहरूले बताएका थिए।
कार्यक्रममा प्रतियोगितामा सहभागी सम्पूर्ण विद्यार्थीलाई बधाई तथा शुभकामना दिँदै विजेता विद्यार्थीहरूको आगामी शैक्षिक तथा व्यक्तित्व विकासको सफलताको कामना गरिएको थियो।












