पाल्पा,१९ साउन । रामपुर नगरपालिकाले वार्षिक समीक्षा सहित सार्वजनिक सुनुवाई गरेको छ । सोमबार आर्थिक वर्ष २०८२/०८३ को समीक्षा सहित सार्वजनिक सुनुवाई गरेको हो ।
रामपुर नगरपालिकाको आयोजनामा भएको कार्यक्रम सीताकुण्ड मिडिया प्रा.लि. रामपुर पाल्पाको सहजिकरणमा भएको थियो । रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाको अध्यक्षतामा भएको कार्यक्रम जिल्ला समन्वय समिति पाल्पाका प्रमुख टंकनाथ खनालको विशेष उपस्थितिमा भएको थियो ।
कार्यक्रममा बोल्दै जिल्ला समन्वय समिति प्रमुख खनालले विकास निर्माण कार्यलाई गति दिन सहकार्य र समन्वय आवश्यक रहेको बताउनुभयो । नदीजन्य पदार्थ उत्खनन् कार्यलाई ऐन, नियम अनुसार गर्न र गराउन आग्रह गर्नुभयो । निर्माण व्यवसायीको कार्य माथि निगरानी गर्नुका साथै आवश्यक सहजिकरण गर्दै अघि बढ्नु पर्नेमा जोड दिनुभयो ।
नदीजन्य पदार्थ उत्खनन् तथा क्रसर सञ्चालनको विषयमा सहभागीले उठाएको जिज्ञासा मेटाउनुभएको थियो । सहभागीले उठाएका जिज्ञासा मेटाउनु हुँदै रामपुर नगरपालिका प्रमुख रमण बहादुर थापाले नगर भित्र विगतको तुलनामा विकास निर्माणका कार्यले गति लिएपनि सिमित स्रोतका कारण जति हुनु पर्ने हो सो अनुसार हुन नसकेको बताउनुभयो । १० वटै वडामा समानुपातिक रुपमा विकासका योजना नगरले सञ्चालन गर्दै आएको स्पष्ट पार्नुभयो । फोहोर व्यवस्थापन नगरको चुनौतिको रुपमा देखिएको भन्दै निरन्तर प्रयास भैरहेको बताउनुभयो । विकास निर्माणका योजनाको काम गुणस्तरीय र समय मै सम्पन्न गर्नका लागि सबैको साथ र सहयोग संगै निगरानी गर्नु आवश्यक रहेको बताउनुभयो । नगरको विकासका सबैको रचनात्मक सुझावको खाँचो रहने भएकाले सुझाव र सल्लाहहरु दिन आग्रह गर्नुभयो ।
रामपुर नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत सुर्यदर्शन पण्डितले गत आर्थिक वर्षमा भएका प्रगति प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । उहाँले विनियोजित बजेट ८२ करोड ५१ लाख ३० हजार ६२१ मध्ये ६८ करोड ९८ लाख २३ हजार ४४३ रुपैयाँ खर्च भएको जानकारी दिनुभयो । नगर भित्र ६९७ योजना मध्ये ६६४ वटा योजना सम्पन्न भएको जानकारी दिनुभयो । सरोकारवालाहरुको रचनात्मक सुझाव ग्रहण गर्दै सेवा प्रवाहलाई गुणस्तरिय सेवा प्रवाहमा थप टेवा पुग्ने बताउनुभयो ।
कार्यक्रममा नेपाली कांग्रेस रामपुरका सभापति नेत्र प्रसाद भट्टराईले रामपुर अस्पतालमा एन्टीरेविज भ्याक्सिन र एन्टीभेनमको सहज उपलब्धता बारे जिज्ञासा सहित सार्वजनिक यातायात र ट्याक्टरको भाडादर निर्धारण गर्नु पर्ने सुझाव राख्नु भएको थियो ।
नेकपा (एमाले) रामपुर नगर उपाध्यक्ष विशाल श्रेष्ठ (अशोक)ले शिक्षक दरबन्दी मिलानको आवश्यकता औँल्याउनुभयो भने राष्ट्रिय स्वतन्त्र पार्टी रामपुरका अध्यक्ष बुद्धिप्रकाश रेग्मीले सहायता कक्ष व्यवस्थित बनाउन, प्राकृतिक स्रोतको उत्खननमा प्रभावकारी नीति अपनाउन र सल्लाहकारका सुझाव बजेट कार्यान्वयनमा समेट्न आग्रह गर्नुभयो । नगर सल्लाहाकार अर्जुन प्रसाद श्रेष्ठले हुलाक टोल सडक स्तरोन्नति संगै सडकको विद्युतपोल व्यवस्थापनको विषयमा जिज्ञासा राख्नु भएको थियो ।
यसैगरी अर्जुनजंग श्रेष्ठ, रुविया खातुन, लोकनाथ भट्टराई, सन्देश ढकाल, प्रेमप्रकाश श्रेष्ठ, गोविन्दप्रसाद भट्टराई, सम्सुल हक मियाँ, देवबहादुर घर्ती, दामोदर कँडेल, टीका सुनार, रविन भण्डारी, समीर पौडेल, मोनिका माझी, नारायणप्रसाद ढकाल तथा अटो व्यवसायी संघका अध्यक्ष चन्द्रबहादुर थापालगायतले आ–आफ्नो क्षेत्रसँग सम्बन्धित समस्या, जिज्ञासा र सुझाव प्रस्तुत गरेका थिए। सहभागीहरूले नदीजन्य पदार्थ उत्खनन, क्रसर सञ्चालन, फोहोर व्यवस्थापन, सडक स्तरोन्नति, पार्किङ, अटो व्यवस्थापन, स्वास्थ्य सेवा, शिक्षा, कृषि, विशेष नापी, खेलकुद, ऐतिहासिक सम्पदाको संरक्षण, सामाजिक संस्था तथा बजेट कार्यान्वयनलगायत विषयमा जिज्ञासा र सुझाव राखेका थिए।
कार्यक्रममा उपप्रमुख बालकुमारी थापाले नागरिकका गुनासा र सुझावलाई प्राथमिकतामा राख्दै सेवा प्रवाहलाई अझ प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले सार्वजनिक सुनुवाइ जस्ता कार्यक्रमले स्थानीय सरकारलाई जवाफदेही र पारदर्शी बनाउन महत्वपूर्ण भूमिका खेल्ने बताउँदै उठेका विषयलाई क्रमशः सम्बोधन गर्दै जाने जानकारी दिनुभयो । उपप्रमुख बालकुमारी थापाको स्वागत बाट सुरु भएको कार्यक्रममा सहभागीहरुलाई नगर प्रवक्ता कपिल बहादुर खाँणले धन्यवाद ज्ञापन गर्नु भएको थियो । कार्यक्रमको सहजीकरण पत्रकार माधव अर्यालले गर्नु भएको हो । कार्यक्रममा नगरपालिकाका जनप्रतिनिधि, नगरपालिकाका सल्लाहाकार, राजनैतिक दल, कर्मचारी, रामपुर क्षेत्रका सरकारी कार्यालय प्रमुख, पत्रकार तथा स्थानीयहरुको उपस्थिति रहेको थियो ।











