लुम्बिनी सांस्कृतिक नगरपालिका वडा नं. १ को नवनिर्मित प्रशासनिक भवन उद्घाटन

  • लुम्बिनी,४ भदौ ।रुपन्देही — लुम्बिनी सांस्कृतिक नगरपालिका वडा नं. १ को नवनिर्मित प्रशासनिक भवनको उद्घाटन समारोह भव्य रूपमा सम्पन्न भएको छ। वडा कार्यालयबाट प्रवाह हुने सेवा–सुविधालाई थप सहज, सरल, छिटोछरितो तथा प्रभावकारी बनाउने उद्देश्यले निर्माण गरिएको भवनको उद्घाटन मिति २०८३/०५/०४ गते सम्पन्न भएको हो।
    वडा नं. १ का वडा अध्यक्ष सुरज कुमार कलवारको अध्यक्षतामा सम्पन्न समारोहमा लुम्बिनी सांस्कृतिक नगरपालिकाकी कार्यवाहक नगर प्रमुख कल्पना हरिजन प्रमुख अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो। कार्यक्रममा पूर्वमन्त्री ज्योतेन्द्र मोहन चौधरी (मुन्नुबाबु), प्रमुख प्रशासकीय अधिकृत तारा ज्ञवाली, उपसचिव हरि प्रसाद ज्ञवाली तथा समाजसेवी एवं ज्येष्ठ नागरिक रुखमणी देवी श्रेष्ठ विशिष्ट अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो।
    समारोहमा लुम्बिनी सांस्कृतिक नगरपालिका वडा नं. २ देखि १३ सम्मका वडा अध्यक्षहरू, नगर कार्यपालिका सदस्यहरू, सशस्त्र प्रहरी बल बैरिघाटका प्रमुख, सिद्धार्थ उद्योग वाणिज्य संघ रुपन्देही–भैरहवाका उपाध्यक्ष तथा लुम्बिनी होटल संघ नेपालका संस्थापक गोविन्द ज्ञवाली, वडा सदस्यहरू, शाखा प्रमुखहरू, वडा सचिवहरू, शिक्षाप्रेमी, समाजसेवी, सञ्चारकर्मी, सुरक्षाकर्मी, विभिन्न संघसंस्थाका प्रतिनिधि तथा स्थानीय वडावासीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
    नवनिर्मित प्रशासनिक भवनको औपचारिक उद्घाटन दियो प्रज्वलन, रिबन काट्ने तथा शिलालेख अनावरण गरी गरिएको थियो। भवन निर्माण सम्पन्न भएसँगै वडा कार्यालयबाट नागरिकलाई प्रदान गरिने प्रशासनिक तथा सार्वजनिक सेवाहरू थप व्यवस्थित र प्रभावकारी हुने अपेक्षा गरिएको छ।
    ज्येष्ठ नागरिक सम्मान
    कार्यक्रमका अवसरमा सामाजिक सुरक्षा भत्ता नलिई राज्यप्रतिको आफ्नो जिम्मेवारी तथा सामाजिक उत्तरदायित्वप्रति सम्मान व्यक्त गर्नुभएकी ज्येष्ठ नागरिक एवं समाजसेवी रुखमणी देवी श्रेष्ठलाई सम्मानपत्रसहित सम्मान गरिएको थियो। उहाँको सामाजिक योगदान र जिम्मेवार नागरिकको भूमिकाको प्रशंसा गर्दै सम्मान गरिएको हो।
    उपभोक्ता समिति तथा समाजसेवी सम्मान
    वडा प्रशासनिक भवन निर्माण कार्य निर्धारित समयमै गुणस्तरीय तथा प्रभावकारी रूपमा सम्पन्न गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएका उपभोक्ता समिति तथा समाजसेवी नितेश मोहन चौधरी (बब्लुबाबु) र गङ्गाराम कुर्मीलाई पनि सम्मानपत्रसहित सम्मान गरिएको थियो।
    नवनिर्मित भवनले वडा नं. १ का नागरिकलाई सरकारी सेवा लिन सहज वातावरण सिर्जना गर्नुका साथै सुशासन, पारदर्शिता, उत्तरदायित्व र जनमैत्री सेवा प्रवाहलाई थप सुदृढ बनाउने विश्वास व्यक्त गरिएको छ।
    कार्यक्रममा उपस्थित प्रमुख अतिथि, विशिष्ट अतिथि, अतिथि, जनप्रतिनिधि, कर्मचारी, सुरक्षाकर्मी, सञ्चारकर्मी, समाजसेवी, शिक्षाप्रेमी, उपभोक्ता समिति, विभिन्न संघसंस्थाका प्रतिनिधि तथा सम्पूर्ण वडावासीप्रति आयोजकले कार्यक्रम सफल बनाउन पुर्‍याउनुभएको सहयोग, साथ र सहभागिताका लागि हार्दिक आभार व्यक्त गरेको छ।
    कार्यक्रममा उपस्थित अतिथिहरूलाई वडा सचिव विशाल घिमिरेले स्वागत मन्तव्यमार्फत स्वागत गर्नुभएको थियो भने कार्यक्रमको सञ्चालन लुम्बिनी सांस्कृतिक नगरपालिका समन्वयकर्ता तुलसीराम लामिछानेले गर्नुभएको थियो।
    लुम्बिनी सांस्कृतिक नगरपालिका, वडा नं. १को नयाँ प्रशासनिक भवनसँगै स्थानीय नागरिकले अझ प्रभावकारी, व्यवस्थित र जनमैत्री सेवा प्राप्त गर्ने अपेक्षा गरिएको छ।

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    © 2026 Khabar Khata All right reserved Site By : Himal Creation