रामपुर नगरपालिका स्वास्थ्य शाखाद्धारा आ.व.२०८२/०८३ को वार्षिक समीक्षा सम्पन्न

  • पाल्पा, २५ साउन। रामपुर नगरपालिका स्वास्थ्य शाखाले वार्षिक समीक्षा गरेको छ । नगरपालिका भित्रका १६ वटा स्वास्थ्य संस्था, रामपुर अस्पताल र स्वास्थ्य शाखाबाट आर्थिक वर्ष २०८२/०८३ मा सम्पादन गरेका कार्यक्रमको समीक्षा गरेको हो । कार्यक्रममा स्वास्थ्य संस्था र शाखाले एक वर्षको अवधिमा संञ्चालन गरेका कार्यक्रम र प्रदान गरेका सेवाको समीक्षा गरेको छ । कार्यक्रममा भौतिक अवस्था ,पोषण कार्यक्रम ,गर्भवती महिलाको अवस्था र पोषण,विभिन्न औषधीको उपलब्धता र वितरण , मातृ तथा नवशिशुको स्वास्थ्य अवस्था, जेष्ठ नागरिक तथा विद्यार्थीहरुको स्वास्थ्य जाँच लगायतका विषयमा छलफल भएको थियो । कार्यक्रममा सहभागीले भौतिक संरचनामा सुधार गर्न आवश्यक रहेको र आरडिटी किटको अभावका कारण विरामीको जाँचमा समस्या आएको भन्दै किटको उपलब्धता सहज बनाउनु पर्नेमा जोड दिएका छन् । कार्यक्रममा रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाले भौतिक संरचनाको विकास र परिमाणमुखी सेवा भन्दा गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्नु पर्नेमा जोड दिनुभयो । उहाँले लगनशीलताका साथ जनताको मन जित्ने गरी नगरका हरेक नागरिकलाई स्वास्थ्य सेवा दिन आग्रह गर्नुभयो । नगर प्रमुख थापाले जेष्ठ नागरिक, दीर्घ रोगीलाई घरमै गएर स्वस्थ्य सेवा प्रदान गर्न निर्देशन दिनुभयो । साथै नगरपालिका भित्र रहेका बर्थिङ सेन्टरलाई आवश्यकताको आधारमा कटौती गरी गुणस्तरीय सेवाका लागि सुधार गर्न आवश्यक रहेको उल्लेख गर्नुभयो । जिल्ला स्वास्थ्य कार्यालय पाल्पाका निमित्त प्रमुख टुक प्रसाद पोखरेलले स्वास्थ्य संस्था र स्वास्थ्यकर्मीले नागरिकको आवश्यकताका आधारमा सेवा दिन आवश्यक रहेको बताउनुभयो । साथै सेवाको गुणस्तरमा ध्यान दिनु पर्ने भन्दै जनप्रतिनिधि र सरोकारवालाको ध्यान पुग्न जरुरी रहेको उल्लेख गर्नुभयो । रामपुर नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत चेमन प्रकाश पोखरेलले आधारभूत स्वास्थ्य सेवामा विषेश ध्यान दिदै स्वास्थ्य सुचक पुरा गर्ने गरी काम गर्नु पर्ने बताउनुभयो । रामपुर नगरपालिका स्वस्थ्य शाखा अन्तर्गतका संस्थाले आर्थिक वर्ष २०८२÷०८३ मा २४ हजार १ सय ३५ जनालाई स्वास्थ्य जाँच तथा उपचार सेवा प्रदान गरेको छ भने २ सय २७ जनाले संस्थागत सुत्केरी सेवा लिएको स्वास्थ्य शाखा प्रमुख गिरिराज घिमरेले बताउनुभयो । यस्तै मेरुदण्ड पक्षघात ४ जना, मृगौला डायलासिस २५ जना , क्यान्सर रोग ७९ जना गरी १ सय ८ जनालाई मासिक ५ हजार रुपैयाँ नियमित औषधी उपचार खर्च उपलब्ध गराएको छ भने ३ हजार ९ सय ९५ जनाको नसर्ने रोगको स्क्रिनिङ सेवा, विभिन्न विद्यालयमा १ हजार १ सय ८८ जना विद्यार्थीहरुको रक्त अल्पता परिक्षण र ४ सय ९९ जना महिलाहरुको पाठेघरको मुखको क्यान्सर स्क्रिनिङ सेवा प्रदान गरेको घिमरेले जानकारी दिनुभयो । निमित्त प्रमुख प्रशासकीय अधिकृत चेमन प्रकाश पोखरेलको अध्यक्षतामा भएको समीक्षा कार्यक्रम नगर प्रमुख रमण बहादुर थापाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो। स्वास्थ्य शाखा प्रमुख गिरिराज घिमिरेको स्वागतबाट शुरु भएको कार्यक्रमको संचालन नर्सिङ अधिकृत पुनम धितालले गर्नु भएको थियो ।नगरपालिकाको सभाहलमा भएको कार्यक्रममा रामपुर नगरपालिका भित्रका १६ वटा स्वास्थ्य संस्थाका प्रमुख,रामपुर अस्पताल र स्वास्थ्य शाखाका स्वास्थ्यकर्मी र जनप्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    © 2026 Khabar Khata All right reserved Site By : Himal Creation