बुटवलमा अपाङ्गता भएका महिलालाई धुप उत्पादन र बजारीकरणबारे तालिम बजारीकरणमा स्थानिय सरकारले सहजिकरण गर्नुपर्ने सरोकारवालाको माग

  • बुटवल, १० जेठ — बुटवल उपमहानगरपालिकाको आर्थिक सहयोगमा अपाङ्गता भएका महिलालाई सीप र स्वरोजगारसँग जोड्ने उद्देश्यले सञ्चालन गरिएको दुई दिने धुप बनाउने तथा बजारीकरण तालिम बुटवलमा सम्पन्न भएको छ। नेत्रहीन महिला संघ नेपाल, सुकेधाराले आयोजना गरेको कार्यक्रममा बुटवल क्षेत्रका अपाङ्गता भएका महिलाको उल्लेख्य सहभागिता रहेको थियो।
    “नेत्रहीन महिला संघको योगदान : हिंसा र विभेदरहित समतामूलक समाजको निर्माण” भन्ने नाराका साथ सञ्चालन भएको तालिममा सहभागीहरूले धुप उत्पादन गर्ने व्यावहारिक सीप सिकेका थिए। तालिमसँगै सरोकारवालाबीच अन्तरक्रिया कार्यक्रम पनि गरिएको थियो।
    कार्यक्रमको उद्घाटन बुटवल उपमहानगरपालिकाकी उपप्रमुख सावित्रादेवी अर्यालले गरेकी थिइन्। उनले अपाङ्गता भएका महिलालाई आत्मनिर्भर बनाउन सीपमूलक तालिम प्रभावकारी माध्यम भएको बताउँदै सिकेका सीपलाई आयआर्जनसँग जोड्न आग्रह गरिन्।
    कार्यक्रममा सहजीकरण गर्दै अपांगता महिला संघकी केन्द्रीय अध्यक्ष शकुन्तला पोखरेलले आर्थिक ऐनभित्र अपाङ्गता अधिकारका विषयवस्तुबारे प्रस्ट पारिन्। उनले राज्यका नीति, योजना र बजेटमा अपाङ्गता भएका व्यक्तिका सवाललाई प्राथमिकतामा राख्नुपर्ने बताइन्।

    अन्तरक्रियामा दृष्टिविहीन क्रिकेट संघका अध्यक्ष सुनिल सुवेदीले अपाङ्गता भएका व्यक्तिका उत्पादनलाई बजारसँग जोड्न सामूहिक पहल आवश्यक रहेको बताए। त्यस्तै आई एलभिमुनकी संस्थापक अध्यक्ष रजिता रेग्मीले गुणस्तरीय वस्तु उत्पादन गरी प्रभावकारी बजारीकरणमा ध्यान दिनुपर्ने बताइन्। उनले सामाजिक सञ्जालमार्फत मार्केटिङ गर्नु अहिलेको आवश्यकता रहेको उल्लेख गरिन्।

    नेपाल नेत्रहीन संघकी केन्द्रीय सदस्य शिला घिमिरे तथा अपांगता महिला संघ रुपन्देहीकी कल्पना ढकालले बिउँपूँजीको सदुपयोग गर्दै एकीकृत व्यवसाय सञ्चालन गर्नुपर्नेमा जोड दिए।

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    © 2026 Khabar Khata All right reserved Site By : Himal Creation