काठमाडौँ,३ बैशाख । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले सार्वजनिक यातायातको भाडा दर पुनः समायोजन गर्न सरकारसँग माग गरेको छ ।
निरन्तर बढिरहेको पेट्रोलियम पदार्थको मूल्यवृद्धिलाई आधार बनाउँदै महासंघले भाडा दर पुनः समायोजन गर्न माग गरेको हो ।
महासंघले जारी गरेको विज्ञप्तिमा पछिल्लो भाडा समायोजनपछि पनि इन्धन मूल्य दुई पटकसम्म वृद्धि भइसकेको उल्लेख गर्दै विद्यमान दरले सञ्चालन खर्च धान्न कठिन भएको जनाएको छ । महासंघका महासचिव डेकनाथ गौतमका अनुसार इन्धनको निरन्तर मूल्यवृद्धिले यातायात क्षेत्र गम्भीर आर्थिक दबाबमा परेको छ । विज्ञप्तिमा मध्यपूर्वमा देखिएको तनावका कारण आपूर्ति शृङ्खलामा परेको असर र त्यसका कारण नेपाल आयल निगमले पटक–पटक पेट्रोल र डिजेलको मूल्य समायोजन गर्दै आएको उल्लेख छ । यसले यात्रुवाहक तथा मालवाहक दुवै प्रकारका सवारी सञ्चालनमा चुनौती थपिएको महासंघको भनाइ छ ।
महासंघले २०७९ सालयता लागू वैज्ञानिक भाडा समायोजन प्रणालीअनुसार मूल्य समायोजन हुनुपर्ने माग गरेको छ। वर्तमान परिस्थितिमा पेट्रोलियम पदार्थको खपत घटाउने र सेवा सञ्चालनलाई प्रभावकारी बनाउने प्रयास गरिए पनि लागत अत्यधिक बढेकाले तत्काल समाधान आवश्यक रहेको जनाएको छ।
महासंघले नेपाल आयल निगममार्फत भइरहेको पटक-पटकको मूल्यवृद्धिको सट्टा वैकल्पिक व्यवस्था मिलाउन सरकारसँग जोडदार माग गर्दै यथाशीघ्र निर्णय लिन आग्रह गरेको छ ।












