पोखरा , १० चैत । नेपाल पर्यटन बोर्डको प्रवर्द्धनमा चैत २९ गतेदेखि वैशाख १ गतेसम्म पोखरामा महोत्सव आयोजना हुँदैछ। लेकसाइड (फेवा तालको किनार )मा नयाँ वर्ष महोत्सव आयोजना गर्न लागिएको हो। ४ किलोमिटर लेकसाइड क्षेत्रमा हुने महोत्सवमा यस वर्ष पर्यटन, संस्कृति र खानालाई जोड दिइएको छ।
नेपाली कला, संस्कृतिको संरक्षण र संवर्द्धन गर्ने उद्देश्यले महोत्सवको आयोजना गर्न लागिएको नेपाल पर्यटन बोर्ड, गण्डकी प्रदेशले जनाएको छ।आन्तरिक पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले होटल संघ पोखराले ‘जाऔं है पोखरा’ अभियान सञ्चालन गर्दै आएको छ। आन्तरिक पर्यटन नै दिगो पर्यटनको मूल आधार भन्ने मान्यता राखेर २५ वर्षअघि अभियान सुरू गरिएको थियो। नयाँ वर्षमा पोखरा आउने पर्यटकलाई होटलमा २५ प्रतिशत छुट दिने निर्णय संघले गरेको कोषाध्यक्ष नेत्र प्रसाद पौडेल ९रमेश० ले जानकारी दिए।पोखरामा तालतलैया, हिमश्रृंखलाबाट प्राकृतिक सौन्दर्यताको आनन्द लिन पाइन्छ। बञ्जी जम्प, जिप लाइनिङ, केबलकार, प्याराग्लाइडिङ, अल्ट्रालाइट, क्यानोनिङलगायत सेवाबाट मनोरञ्जन गर्न सकिन्छ। अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालय, गुप्तेश्वर महादेव मन्दिर, डेभीज फल, बिन्द्यवासिनी मन्दिर, तालबाराही र भद्रकाली मन्दिर, विश्व शान्ति स्तूप, महेन्द्र र गुप्तेश्वर गुफा, सेती नदी तथा अन्नपूर्ण क्षेत्रको पदयात्राले पनि पर्यटकलाई आकर्षित गर्छ।












