काठमाडौँ,४ चैत । राष्ट्रिय स्वतन्त्र पार्टीको दुई दिनको अभिमुखीकरण तथा परिचयात्मक कार्यक्रम सम्पन्न भएको छ । नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरूका लागि आयोजना गरिएको यो कार्यक्रम “परिवर्तनको नेतृत्व, परिणामको राजनीति” भन्ने मूल नारासहित चैत्र ३ र ४ गते ललितपुरमा सम्पन्न भएको हो । अभिमुखीकरणमा बुधबार सभापति रवि लामिछानेले समापन सम्बोधन मन्तव्य दिएका छन । मन्तव्यमा उनले रास्वपाका सांसदहरूले अब के गर्ने र के नगर्ने, पार्टीले कस्तो कृयाकलापलाई छुट दिँदैन भन्ने विषयमा ब्रिफिङ गरेका छन्। फागुन २१ को निर्वाचनबाट रास्वपाले प्रत्यक्षतर्फ १२५ र समानुपातिकतर्फ ५७ गरी १८२ सिट जितेको छ। उसैले अब एकल बहुमतको सरकार चलाउनेछ। संसद सुरू हुनुभन्दा अगाडि उसले आफ्ना सांसदहरूलाई तालिम दिएको हो। अभिमुखीकरणले नवनिर्वाचित सांसदहरूलाई आफ्नो जिम्मेवारी प्रभावकारी रूपमा निर्वाह गर्न आवश्यक ज्ञान, सीप, दृष्टिकोण र संस्कार विकासमा टेवा पुर्याउने विश्वास गरिएको छ। दुई दिनसम्म सञ्चालन भएको कार्यक्रममा सांसदहरूलाई नेपालको संवैधानिक व्यवस्था, सङ्घीय संसद्को संरचना तथा कार्य प्रणाली, विधायन प्रक्रिया, संसदीय समितिहरूको भूमिका, बजेट तथा योजना निर्माण, नीति विश्लेषण, सुशासन र पारदर्शिताका मापदण्ड जस्ता विषयहरूमा विस्तृत जानकारी प्रदान गरिएको थियो। पूर्व सचिवहरू, विषय विज्ञहरूले सहजीकरण गरेका सत्रहरूले सांसदहरूलाई व्यवहारिक ज्ञान र दृष्टिकोण विकासमा सहयोग पुगेको छ ।












