काठमाडौं,२७ फागुन । मुलुकसँग विदेशी मुद्रा सञ्चिति ३३ खर्ब नाघेको छ । चालु आर्थिक वर्षको ७ महिना अवधिमै यस्तो सञ्चिति २३।३ प्रतिशतले बढेको हो । असार मसान्तसम्म २६ खर्ब ७७ अर्ब रुपैयाँ बराबर रहेको सञ्चिति रकम माघ मसान्तसम्म आउँदा ३३ खर्ब २ अर्ब रुपैयाँ बराबर पुगेको हो । नेपाल राष्ट्र बैंकले आज चालु आर्थिक वर्षको सात महिना (साउनदेखि माघ मसान्तसम्म)को वित्तीय विवरण सार्वजनिक गरेको हो ।
विवरणअनुसार सोही सात महिना अवधिमा अमेरिकी डलरमा मुद्रा सञ्चिति १६।७ प्रतिशतले बढेर माघ मसान्तसम्म २२ अर्ब ७६ करोड डलर बराबर छ । कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा २९ खर्ब २६ अर्ब ९९ करोड छ भने बैंक तथा वित्तीय संस्था ९नेपाल राष्ट्र बैंकबाहेक० सँग ३ खर्ब ७५ अर्ब ६७ करोड रुपैयाँ बराबर छ ।
यो अवधिमा रेमिटेन्स भित्रिने दर ३९ प्रतिशतभन्दा धेरैले बढेको हो। मुलुकमा रहेको विदेशी मुद्राको यस्तो सञ्चितिले १८ महिनाको वस्तु तथा सेवाको आयात धान्न सक्छ। यो पर्याप्तता सूचक उच्च हो। नेपालमा सात महिनासम्मको आयात धान्ने सञ्चिति भए पर्याप्त भएको मानिन्छ।












