काठमाडौ,१७ फागुन । इरानको आक्रमणमा परी युएईमा एक जना नेपाली नागरिकको मृत्यु भएको छ।
युएईको रक्षा मन्त्रालयले सामाजिक सञ्जाल एक्समार्फत मिसाइल आक्रमणबाट तीन जनाको मृत्यु भएको पुष्टि गरेको हो। जसमध्ये एक जना नेपाली नागरिक रहेको उल्लेख छ। साथै विभिन्न राष्ट्रका ५८ जना सामान्य घाइते भएका उल्लेख छ । यद्यपि मृतक नेपालीको परिचय भने खुलाइएको छैन । मृतक अन्य दुई जना पाकिस्तानी र बंगलादेशी नागरिक रहेका यूएईको रक्षा मन्त्रालयले जनाएको छ । फेब्रुअरी २८ देखि सुरु भएको यस आक्रमणमा यूएईले १६५ ब्यालिस्टिक क्षेप्यास्त्र र ५४१ इरानी ड्रोनको सामना गरेको पनि समाचारमा उल्लेख छ । यसैगरी दुई वटा क्रुज मिसाइललाई पनि युएईको प्रतिरक्षा प्रणालीले नष्ट गरिएको रक्षा मन्त्रालयले जनाएको छ।
आक्रमण सुरू भएयता इरानले कुल ५४१ वटा ड्रोन हमला गरेको थियो। तीमध्ये ५०६ वटा ध्वस्त पारिएको र ३५ वटा देशभित्र खस्दा भौतिक क्षति पुगेको मन्त्रालयले जनाएको छ। २१ वटा ड्रोनले सर्वसाधारणका संरचनामा प्रहार गरेको उल्लेख गरिएको छ।घटनामा विभिन्न देशका नागरिक गरी ५८ जना सामान्य घाइते भएका छन्। घाइतेमध्ये इमिरेट्स, इजिप्ट, इथियोपिया, फिलिपिन्स, पाकिस्तान, इरान, भारत, बंगलादेश, श्रीलंका, अजरबैजान, यमन, युगान्डा, एरिट्रिया, लेबनान र अफगानिस्तानका नागरिक रहेका छन्।












