निजी क्षेत्र संरक्षण तथा प्रवर्द्धन तत्काल कार्यान्वयनमा ल्याउन अध्यक्ष ढकालको माग

  • काठमाडौँ,२५ माघ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले निजी क्षेत्र संरक्षण तथा प्रवर्द्धन रणनीतिक योजना तत्काल कार्यान्वयनमा ल्याउन सरकारसँग माग गरेका छन्।
    आइतवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष चन्द्र ढकालले आगामी दिनमा निजी क्षेत्रमाथि आगजनी, तोडफोड र लुटपाट हुन नदिनका लागि पनि सरकारले सो योजना तत्काल कार्यान्वयनमा ल्याउनुपर्ने उनको भनाई थियो।
    उनले निजी क्षेत्रबिना शिक्षा, स्वास्थ्य लगायतका हरेक कुरा सम्भव नभएकाले पनि सरकारले यसको महत्वबारे सर्वसाधारणलाई बुझाउनुपर्ने बताए।
    निजी क्षेत्रले रोजगारी सृजना, आयआर्जनको क्षेत्रमा महत्वपूर्ण योगदान दिने भएको र यसलाई यसै रूपमा बुझेर अघि बढ्दा मात्रै सबैको हित हुने स्पष्ट पारे।
    उनले भने, ‘खरानी टकटक्याएर अघि बढ्न तयार छौँ तर सुरक्षा आवश्यक रहेको अध्यक्ष ढकालले बताए। उनले जेनजी वा अन्य कुनै पनि आन्दोलनका नाममा निजी क्षेत्रका संरचनामाथि भएको तोडफोड र आगजनीले लगानीकर्तालाई निरुत्साहित गरेको बताए। ‘निजी क्षेत्रले जीडीपीमा ८१ प्रतिशत र रोजगारीमा ८६ प्रतिशत योगदान दिएको छ। तर, आन्दोलनका नाममा निजी क्षेत्रका सम्पत्ति लुटपाट र आगजनी भइरहेका छन्,’ ढकालले भने, ‘यस्तो अवस्थामा पनि हामी खरानी टकटक्याएर अघि बढ्न तयार छौँ, तर राज्यले सुरक्षाको प्रत्याभूति दिनुपर्छ।’अध्यक्ष ढकालले निजी क्षेत्र नाफामुखी मात्र हुन्छ भन्ने गलत भाष्य समाजमा स्थापित गर्न खोजिएको गुनासो गरे। उनले भने, ‘निजी क्षेत्रले नाफा मात्र कमाउँदैन, आम नागरिकलाई सेवा र राज्यलाई कर पनि तिरिरहेको हुन्छ। सुशासन र भ्रष्टाचार नियन्त्रणको पक्षमा हामी सधैँ छौँ, तर आन्दोलनमा घुसपैठ गरेर लुटपाट मच्चाउने कार्य निन्दनीय छ।’

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    © 2026 Khabar Khata All right reserved Site By : Himal Creation