बुटवल,२१ माघ । फर्निचर उद्योग संघ रुपन्देहीले पहिलो पटक आगामी दुई वर्षे कार्यकालका लागि दीर्घकालीन रणनीतिक योजना तयार गर्ने उद्देश्यले पाल्पाको रमणीय तथा पर्यटकीय क्षेत्र दम्कडामा दुई दिने कार्ययोजना कार्यशाला गोष्ठी आयोजना गरेको छ। संघको संस्थागत विकासलाई सुदृढ गर्दै उद्योग प्रवर्द्धन र व्यवसायिक क्षमतामा अभिवृद्धि गर्ने लक्ष्यका साथ गोष्ठी सञ्चालन गरिएको हो।
कार्यशालामा संघका सल्लाहकार, पदाधिकारी, कार्यसमिति सदस्य तथा सरोकारवाला व्यक्तिहरूको उल्लेख्य सहभागिता रहेको थियो। सहजकर्ता मुकुन्द ज्ञवालीको सहजीकरणमा सम्पन्न गोष्ठीमा आगामी कार्यकालमा संघले निर्वाह गर्नुपर्ने भूमिका, फर्निचर उद्योग क्षेत्रका विद्यमान चुनौती तथा सम्भावित अवसरहरूको पहिचान गर्दै ठोस र कार्यान्वयनयोग्य योजना निर्माणमा केन्द्रित छलफल गरिएको जनाइएको छ।
संघका अध्यक्ष जिवकान्त काफ्लेले गोष्ठीमा फर्निचर उद्योगको गुणस्तर अभिवृद्धि, प्रविधिको आधुनिकीकरण, दक्ष जनशक्ति उत्पादन, बजार विस्तार तथा उद्योगमैत्री नीतिका लागि प्रभावकारी नीति पैरवीलाई प्राथमिकतामा राखेर रणनीतिक योजना निर्माण गरिने जानकारी दिए। उनका अनुसार स्वदेशी उत्पादनको प्रवर्द्धन गर्दै आयात प्रतिस्थापन र रोजगारी सिर्जनालाई केन्द्रमा राखेर संघले आगामी योजना अघि बढाउने निर्णय गरिएको छ।
कार्यक्रममा संघका सल्लाहकार तथा रुपन्देही उद्योग संघका पूर्व अध्यक्ष बोनिन पियाले फर्निचर उद्योग देशको आर्थिक विकास र रोजगारी सिर्जनाको महत्वपूर्ण आधारस्तम्भ भएको उल्लेख गरे। उनले उद्योगमैत्री नीति, सहुलियतपूर्ण व्यवस्था तथा प्रविधिगत सहयोग बिना उद्योगले अपेक्षित गति लिन नसक्ने धारणा व्यक्त गर्दै संघलाई थप सशक्त र प्रभावकारी बनाउन पारदर्शिता, व्यवसायिक नैतिकता, सहकार्य र नवप्रवर्तनमा जोड दिनुपर्ने बताए।
कार्यशालाबाट प्राप्त सुझाव र निष्कर्षलाई समेटेर संघले आगामी दुई वर्षका लागि स्पष्ट मार्गचित्रसहितको रणनीतिक योजना तयार गर्ने कार्यक्रम संयोजक तथा संघका वरिष्ठ उपाध्यक्ष नेत्र रुचालले जानकारी गराए। रणनीतिक योजना कार्यान्वयनमा आएपछि फर्निचर उद्योगलाई व्यवस्थित, प्रतिस्पर्धात्मक तथा दिगो बनाउने दिशामा ठोस योगदान पुग्ने संघका निवर्तमान अध्यक्ष तेजप्रसाद पराजुलीले विश्वास व्यक्त गरे।
यस्तै, संघका महासचिव खिमबहादुर खड्काले यस्ता प्रकृतिका कार्यक्रमले कार्यसमिति, पदाधिकारी, सल्लाहकार तथा पूर्व अध्यक्षहरूबीच अनुभव आदान–प्रदान, आपसी सहकार्य अभिवृद्धि र साझा लक्ष्य निर्धारणमा महत्वपूर्ण भूमिका खेल्ने बताए ।












