उपनिषद् र कर्म सिद्धान्त

  • (दर्शन दीप: विषय क्रमांक ६३)
    आज यो यात्रामा निस्किएको पनि दुई महिना बढी भएको छ, तर सत्यको खोजी भने अझै अधुरै जस्तो लाग्छ।
    वैदिक वाङ्मयको विशाल सागरमा डुबुल्की मार्दा के पाइन्छ भने, हाम्रा पूर्वजहरूले कर्मलाई केवल ‘काम’ मात्र ठानेनन्। ब्राह्मण ग्रन्थहरूले यज्ञ र विधिविधानको चर्चा गरे भने आरण्यकहरूले त्यसको रहस्य खोजे। तर जब हामी उपनिषद्को क्षेत्रमा प्रवेश गर्छौँ, त्यहाँ कर्म एउटा मनोवैज्ञानिक र आध्यात्मिक ऊर्जाको रूपमा प्रकट हुन्छ। उपनिषद्ले भन्छ,’ मानिस जे सोच्छ, त्यस्तै बन्छ।’ यो कुनै जादु होइन, बरु एउटा अटल वैज्ञानिक सत्य हो। गीताप्रेस गोरखपुरबाट प्रकाशित ती साना तर ओजपूर्ण उपनिषद्का पुस्तकहरू पढ्दा मनमा जुन शीतलता मिल्छ, त्यो सायद कुनै आधुनिक मोटिभेसनल किताबमा पाइँदैन।
    बृहदारण्यक उपनिषद्मा एउटा निकै घतलाग्दो प्रसङ्ग छ। ऋषि याज्ञवल्क्य र आर्तभागबीचको संवाद। आर्तभागले सोधे, “हे याज्ञवल्क्य, जब मानिस मर्छ, उसको वाणी अग्निमा, प्राण वायुमा र आँखा सूर्यमा विलीन हुन्छन्, तब त्यो पुरुष कहाँ रहन्छ?” यो प्रश्नले मलाई पनि धेरै पटक झस्काएको छ। याज्ञवल्क्यले उनलाई भीडबाट अलि पर एकान्तमा लगेर भने, “हामी कर्मको चर्चा गरौँ।” त्यहाँ निष्कर्ष निकालियो कि पुण्य कर्मले मानिस पुण्यवान् बन्छ र पाप कर्मले पापी। यसलाई आजको मनोविज्ञानको भाषामा भन्ने हो भने, हाम्रा बानीहरू नै हाम्रो चरित्र हुन्। हामीले बारम्बार गर्ने साना-साना निर्णयहरूले नै हाम्रो भविष्यको खाका कोर्छन्।
    यस सन्दर्भमा एउटा अत्यन्तै महत्त्वपूर्ण मन्त्र स्मरण हुन्छ:
    यथाकारी यथाचारी तथा भवति। साधुकारी साधुर्भवति, पापकारी पापो भवति।।
    (बृहदारण्यक उपनिषद् ४.४.५)
    अर्थात्, जसरी कर्म गर्ने, जसरी आचरण गर्ने, त्यस्तै हुन्छ। असल कर्म गर्ने असल हुन्छ; पाप गर्ने पापी हुन्छ।
    यो मन्त्रको भावार्थ यो हो कि मानिसको व्यक्तित्व उसको बाहिरी आवरण होइन, बरु उसले जीवनभरि सँगालेका कर्महरूको प्रतिफल हो। हाम्रो अन्तस्करणमा जस्ता संस्कारहरू जम्मा हुन्छन्, हाम्रो जीवनको दिशा पनि त्यतै मोडिन्छ। यो ठ्याक्कै त्यस्तै हो जस्तो एउटा किसानले आफ्नो खेतमा जस्तो बिउ रोप्छ, उसले त्यस्तै फल काट्छ।
    मैले कतै पढेको थिएँ, आधुनिक विज्ञानको ‘ल अफ कज एन्ड इफेक्ट’ अर्थात् ‘कारण र प्रभावको सिद्धान्त’ ले पनि कर्मकै कुरा गर्छ। समाजशास्त्रले भन्छ कि व्यक्तिको कार्यले समाजको संरचना निर्माण गर्छ। तर उपनिषद् अलि अगाडि बढेर ‘संस्कार’ को कुरा गर्छ। हामीले गरेका कर्महरू नष्ट हुँदैनन्, ती सूक्ष्म रूपमा हाम्रो चित्तमा रहिरहन्छन्। जसरी एउटा अत्तरको बट्टा खाली भए पनि त्यसमा सुगन्ध बाँकी रहन्छ, त्यसरी नै कर्मको छाप हाम्रो चेतनामा बसिरहन्छ।
    अर्को एउटा मन्त्र ईशावास्योपनिषद्मा आउँछ, जसले कर्म गर्ने विधिलाई नै बदलिदिन्छ:
    कुर्वन्नेवेह कर्माणि जिजीविषेच्छतं समाः।
    एवं त्वयि नान्यथेतोऽस्ति न कर्म लिप्यते नरे।।
    (ईशावास्योपनिषद् २)
    अर्थात्, यहाँ कर्महरू गर्दैगर्दै नै मानिसले सय वर्षसम्म बाँच्ने इच्छा गर्नुपर्छ। यसरी (कर्तव्यबाेध गरी कर्म गर्दै) तिमी जस्तो मानिसमा कर्म लिप्त हुँदैन; यसबाट भिन्न अर्को कुनै उपाय छैन।
    यो मन्त्रको भावार्थ यो हो कि हामीले कर्मबाट भाग्नु हुँदैन। धेरैलाई लाग्छ कि अध्यात्म भनेको सबै छोडेर जङ्गल जानु हो, तर उपनिषद्ले त सक्रिय भएर सय वर्षसम्म कर्म गर्न सिकाउँछ। मुख्य कुरा त ‘कर्तापन’ को अहंकार त्याग्नु हो। जब हामी फलको चिन्ता नगरी, आफ्नो कर्तव्य ठानेर काम गर्छौँ, तब त्यो कर्मले हामीलाई बाँध्दैन, बरु मुक्ति दिन्छ।
    मलाई याद छ, स्कूलमा पढ्दा नैतिक शिक्षा पढाउने गुरूले भन्नुहुन्थ्यो, “बाबु, काम गर्दा इमानदारी राख, फल त विधाताले लेखेकै हुन्छन्।” त्यो बेला यो कुरा अलि पुरानो जमानाको जस्तो लाग्थ्यो, तर अहिले कार्यालयकाे काम गर्दा वा समाजका विभिन्न मानिसहरूसँग व्यवहार गर्दा बुझ्दै छु कि मानसिक शान्तिको एक मात्र सूत्र यही रहेछ। आजको यो तनावपूर्ण युगमा, जहाँ मानिसहरू डिप्रेसन र एन्जाइटीको सिकार भइरहेका छन्, उपनिषद्को यो कर्म सिद्धान्त एउटा अचूक औषधि बन्न सक्छ। हामी भविष्यको चिन्तामा वर्तमानलाई बिर्सिरहेका हुन्छौँ। यदि हामीले आफ्नो कर्मलाई नै पूजा मान्न सक्यौँ भने, आधा समस्या त त्यसै समाधान हुन्छन्।
    आर्य समाजका प्रवर्तक स्वामी दयानन्द सरस्वतीले पनि कर्मको स्वतन्त्रता र ईश्वरको न्यायको कुरा गर्दा उपनिषद्कै आधार लिनुभएको छ। मानिस कर्म गर्न स्वतन्त्र छ, तर त्यसको फल भोग्न भने परतन्त्र छ। यो कुरा बुझ्न ढिलो भयो भने जीवनको उत्तरार्धमा पछुतो मात्र बाँकी रहन्छ।
    उपनिषद् काे दृष्टिकोणमा कर्मका तीन प्रकार छन्:-
    १. सञ्चित कर्म:- यो हाम्रो ‘कर्मको गोदाम’ जस्तै हो। अनन्त जन्मदेखि हामीले जति पनि काम गर्‍यौँ, ती सबैको फल एउटा ढुकुटीमा थुप्रिएर बसेको हुन्छ। यसरी हामीले गरेका सबै शुभ र अशुभ कार्यको सङ्ग्रह नै सञ्चित कर्म हो। मानौँ तपाईंको बैंक खातामा वर्षौँदेखि जम्मा भएको ठूलो रकम छ, जुन तपाईंले अहिले नै सबै खर्च गर्नुभएको छैन तर त्यो त्यहीँ सुरक्षित छ। उपनिषद् भन्छ कि जबसम्म ज्ञानको अग्निले यो ढुकुटीलाई जलाउँदैन, तबसम्म मानिस पुनर्जन्मको चक्रबाट मुक्त हुन सक्दैन।
    २. प्रारब्ध कर्म:- यो सञ्चित कर्मको त्यो सानो अंश हो, जुन यो वर्तमान जीवनमा भोग्नका लागि अगाडि आएको छ। हाम्रो अहिलेको शरीर, परिवार, परिस्थिति, सुख-दुःख र आयु सबै प्रारब्धले निर्धारण गर्छ। धनुषबाट छुटिसकेको वाण जस्तै हो यो। एक पटक निस्किएपछि यसलाई फिर्ता बोलाउन सकिँदैन, यसले आफ्नो लक्ष्यमा प्रहार गरेरै छोड्छ। यसलाई हामीले धैर्यपूर्वक भोग्नुपर्छ। भनिन्छ नि, “हुने हार दैवले नटार” यो प्रारब्धकै एउटा व्यावहारिक अभिव्यक्ति हो।
    ३. क्रियमाण कर्म:- यसलाई ‘आगामी कर्म’ पनि भनिन्छ। यो हामीले अहिले वर्तमान क्षणमा गरिरहेको कर्म हो। यो हाम्रो स्वतन्त्र इच्छा (Free Will) सँग जोडिएको छ। हामीले अहिले गर्ने निर्णयहरू नै भविष्यमा गएर ‘सञ्चित कर्म’ को ढुकुटीमा थपिन्छन्। यो धनुर्धारीको हातमा भएको त्यो वाण हो, जुन उसले अब ताक्दै छ। उसले कता प्रहार गर्ने भन्ने निर्णय लिन अझै स्वतन्त्र छ। हाम्रो पुरुषार्थ यहीँ देखिन्छ। हामीले विगतलाई बदल्न सक्दैनौँ (प्रारब्ध), तर वर्तमानलाई सुधारेर भविष्य (सञ्चित) लाई सुन्दर बनाउन सक्छौँ।

    उपनिषद् अनुसार कर्मका अन्य आयामहरू:-
    • सकाम कर्म: फलको इच्छा राखेर गरिने कर्म। यसले मानिसलाई संसारको चक्रमा बाँधिराख्छ।
    • निष्काम कर्म: ईशावास्योपनिषद्ले सिकाएको मार्ग- “तेन त्यक्तेन भुञ्जीथाः”। फलको आसक्ति नराखी, ईश्वरार्पण बुद्धिले गरिने कर्म। यो कर्म नै वास्तवमा योग हो।

    जीवन र कर्मको सम्बन्धबारे पूर्वीय आस्तिक दर्शनले सधैं गहिरो चिन्तन गरेको छ। मानिस कर्म नगरी बाँच्न सक्दैन, तर त्यही कर्मले उसलाई बाँध्छ पनि। यही सत्यको खोजीमा उपनिषद् र गीता उभिएका छन्। दुवैले कर्मलाई त्याग्नुपर्ने बोझ होइन, जीवनलाई अर्थ दिने साधनका रूपमा स्वीकार गर्छन्, तर व्यक्त गर्ने ढंग फरक छ। उपनिषद्‌हरू मौन र अन्तरमुखी छन्, जहाँ कर्मभन्दा पहिले चेतनाको प्रश्न उठ्छ। कुर्वन्नेवेह कर्माणि जस्ता मन्त्रहरूले यही संसारमा रहेर कर्म गर्नू, तर त्यसमा लिप्त नहुनू भन्ने सूक्ष्म सन्देश दिन्छन्। गीता भने यही मौन ज्ञानलाई जीवनको संघर्षभित्र उतार्छ। युद्धभूमिमा उभिएको अर्जुनलाई श्रीकृष्णले सम्झाउँछन् कि कर्मबाट भाग्नु समाधान होइन, कर्मलाई बुझेर, शुद्ध गरेर र ईश्वरसँग जोडेर गर्नु नै सही मार्ग हो। यस अर्थमा गीता उपनिषद्को दर्शनलाई जीवन्त र व्यवहारिक बनाउने सेतुजस्तो देखिन्छ।
    पूर्वीय आस्तिक दर्शनको केन्द्रमा एउटा पुरानो तर सधैं नयाँ देखिने प्रश्न छ- मानिसले कर्म गर्नुपर्छ कि कर्मबाट टाढा जानुपर्छ ? उपनिषद्‌देखि गीतासम्म यो प्रश्न विभिन्न रूपले उठेको छ। जीवन स्वयं कर्मले बनेको छ, तर त्यही कर्म मानिसका लागि बन्धन पनि बन्छ। यही द्वन्द्वबाट निष्काम कर्म र कर्मसंन्यास जस्ता अवधारणाहरू जन्मिएका हुन् । कर्मसंन्यास र निष्काम कर्मको अन्तर बाहिर देखिने जीवनशैलीमा होइन, भित्री अवस्थामै हुन्छ। कर्मसंन्यास प्रायः संसार र दायित्वबाट टाढा जाने मार्गका रूपमा बुझिन्छ, जहाँ सबै कुरा त्यागेपछि बन्धन समाप्त हुन्छ भन्ने अपेक्षा गरिन्छ। तर गीता यसलाई सतहमा मात्र सीमित ठान्दैन। यदि मनभित्र फलको चाहना र कर्तृत्वको अहं बाँकी छ भने, वनमा बसेको संन्यास पनि अन्ततः कर्मकै अर्को रूप हुन्छ। निष्काम कर्म यसको विपरीत मार्ग हो। यहाँ मानिस घर, परिवार र समाजकै बीच बसेर कर्म गर्छ, तर फलसँग आफूलाई बाँध्दैन। कर्म बाँकी रहन्छ, तर अहंकार क्रमशः खस्दै जान्छ। यही कारण गीता निष्काम कर्मलाई कर्मसंन्यासभन्दा उच्च मान्छ, किनकि यस मार्गमा जीवन बाँचिन्छ, समाज चलिरहन्छ र आत्मा पनि बन्धनबाट मुक्त रहन्छ।

    अहिलेको समयमा निष्काम कर्म कसरी गर्ने त?
    पहिलो कुरा, हामीले आफ्नो दैनिक कामलाई ‘यज्ञ’ सम्झनुपर्छ। चाहे तपाईं एउटा साधारण कर्मचारी हुनुहोस् वा ठूलो व्यवसायी, आफ्नो जिम्मेवारीलाई पूर्ण निष्ठाका साथ निभाउनु नै सबैभन्दा ठूलो उपनिषद्-पाठ हो। दोस्रो, ‘सञ्चित’, ‘प्रारब्ध’ र ‘क्रियमाण’ कर्मको सन्तुलन बुझ्नुपर्छ। विगतको गल्तीलाई लिएर रुनुभन्दा अहिले भइरहेको कर्म (क्रियमाण) लाई सुधार्नु बुद्धिमानी हो। गृहस्थहरूका लागि त यो झनै महत्त्वपूर्ण छ। छोराछोरीलाई राम्रो संस्कार दिनु पनि एउटा महान् कर्म हो, जसको प्रतिफल भविष्यको सुन्दर समाज हो।
    त्यसैले, बेलुका सुत्नुअघि एकपटक सोच्ने गरौँ,”आज मैले कस्तो बिउ रोपेँ? के मेरा कर्महरूले कसैको हित गर्यो?”
    आदि शंकराचार्यले आफ्ना टीकाहरूमा भन्नुभएझैँ, ज्ञानले मात्र कर्मको बन्धन काट्न सक्छ। तर त्यो ज्ञान प्राप्त गर्नका लागि पनि कर्मको शुद्धता अनिवार्य छ। उपनिषद्को यो सारलाई आत्मसात् गर्न सकियो भने मात्रै हाम्रो यो ‘वैदिक ज्ञान शृङ्खला’ को वास्तविक सार्थकता रहनेछ।

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    © 2026 Khabar Khata All right reserved Site By : Himal Creation