संजीवनी शिक्षण अस्पताल, दाङ्गको “शुभसाइत कार्यक्रम’ सम्पन्न

  • बुटवल,६ असोज । बडादशैंको पहिलो दिन घटस्थापनाको अवसरमा ‘संजीवनी शिक्षण अस्पताल’को ‘शुभसाइत कार्यक्रम’ आज दाङ्ग जिल्लाको घोराही उपमहानगरपालिका वडा नं. ३, भानपुरमा भव्य रुपमा सु–सम्पन्न भएको छ । यस अस्पतालको स्थापनासँगै दाङ्ग जिल्ला मात्र नभई साविक राप्ती अञ्चलका प्युठान, रोल्पा, पुर्व तथा पश्चिम रुकुम, सल्यान जिल्लाका विरामीहरु लाभान्वित हुनेछ भने यस क्षेत्रबाट थप उपचार तथा विशिष्टिकृत सेवाका लागि रुपन्देही, बाँके, काठमाण्डौ जानु पर्ने बाध्यता हट्नेछ ।
    करिब ४ अरब लगानीमा स्थापना भएको यस अस्पताल दशैं लगतै पुर्णरुपमा सञ्चालनमा आउनेछ भने हाल ३०० शैयाबाट शुरुवात भई आउँदो ३ वर्ष भित्रमा ५०० शैयामा वृद्धि गरिने अस्पतालको लक्ष्य रहेको छ । अस्पतालको सञ्चालनसँगै यस क्षेत्रका विरामीहरुले आइसियु, सिसियु, एनआइसियु, पिआइसियु, एमआइसियु सेवा प्राप्त गर्नेछ भने अस्पतालमा विशिष्टिकृत सेवाहरुः नसासम्बन्धी न्युरोलजी, मुटुसम्बन्धी कार्डियोलजी, पिसाबसम्बन्धी युरोलोजी, मृगौलासम्बन्धी नेफ्रोलोजी, पेटसम्बन्धी ग्यास्ट्रोलोजी सेवा पनि उपलब्ध हुनेछ । अस्पतालमा मृगौला बिरामीहरुका लागि डायलासिस, मुटुसम्बन्धी विरामीका लागि क्याथ ल्याबका साथै ५० शैयाको आकस्मिक सेवा (इमर्जेन्सी सेवा) २४औं घण्टा सञ्चालनमा रहनेछ । यसका साथै ‘बी’ श्रेणीका अत्याधुनिक प्रयोगशाला सेवाका साथै रेडियोलोजी अन्तर्गत एमआरआई, सिटी स्क्यान, भिडियो एक्सरे, डिजीटल एक्सरे सेवा प्रदान गर्ने अस्पतालका प्रमुख कार्यकारी अधिकृत दिपक रोकाले बताउनु भयो ।
    अहिले करिब ५ विघाको क्षेत्रफलमा तीन तलाका नौ वटा भवनहरुबाट शुरु गरिएको यस अस्पतालको सञ्चालक समितिको अध्यक्ष युवा उधमी खुमा प्रसाद अर्याल हुनुहुन्छ । अर्याल युनिभर्सल मेडिकल कलेज, भैरहवा, नेपालगंज मेडिकल कलेज, कोहलपुर र गण्डकी मेडिकल कलेज, पोखरामा पनि साझेदार लगानीकर्ता हुनुहुन्छ । अस्पतालले यस क्षेत्रमा करिब ४ सयभन्दा बढि रोजगारीको अवसर श्रृजना गर्ने छ भने स्वास्थ्य सेवाका अतिरिक्त निकट भविष्यमा मेडिकल शिक्षा अन्तर्गत एमबिबिएस, बिडिएस, ल्याब, फार्मेसी, हेल्थ एसिष्टेन्ट, स्टाफ नर्स लगायतको पढाई शुरु गरिने बताएको छ ।
    अस्पतालले ‘शुभसाइत कार्यक्रम’ को अवसर पारेर यस भेगका विरामीहरुलाई लक्षित गरि आजबाट ‘निःशुल्क स्वास्थ्य शिविर’ सञ्चालनमा ल्याएको छ, जसमा विरामीहरुले विशेषज्ञ चिकित्सकहरुबाट निःशुल्क परामर्शका साथै निःशुल्क चेकजाँच, ल्याब सेवा, इसिजी, भिडियो एक्सरे तथा औषधीहरु प्राप्त गर्नेछ ।

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    © 2025 Khabar Khata All right reserved Site By : Himal Creation