
काठमाडौ २१ मंसिर ।
वाइडबडी विमान खरिदमा भएको भ्रष्टाचार प्रकरणका प्रमुख आरोपितमध्येका एक दीपक शर्मामाथि अनुसन्धान गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई विशेष अदालत काठमाडौंले निर्देशन दिएको छ ।
आठ वर्षअघि नेपाल वायुसेवा निगमले २४ अर्ब रुपैयाँमा दुईवटा वाईडबडी विमान खरिद गरेको थियो, जसमा करिव एक अर्ब ४७ करोड भ्रष्टाचार भएको दावी गरिएको थियो ।
मुद्दाको संक्षिप्त फैसला सार्वजनिक गर्दै विशेष अदालतले शर्माका विरुद्ध घुस लेनदेनको प्रारम्भिक प्रमाण समेत सार्वजनिक भएको औल्याउँदै अनुसन्धान गर्न अख्तियारलाई निर्देशन दिएको हो ।
नेपाली मूलका शर्मा बेलायती नागरिक हुन् । दुईवटा वाइडबडी विमान खरिदमा नेपाल वायुसेवा निगमको तर्फबाट वार्ता गर्ने सुगतरत्न कंसाकार र एएआर कम्पनीको इन्टरनेशनल सप्लाई चेनको अध्यक्षका हैसियतले दीपक शर्मा संलग्न थिए ।
विशेष अदालतले खरिदको भ्रष्टाचारमा नेपाल वायुसेवा निगमका तत्कालीन महाप्रबन्धक सुगतरत्न कंसाकार सहित विमान उपलब्ध गराउने अमेरिकाको एएआर कम्पनीका प्रतिनिधि दीपक शर्मालाई दोषी ठहर गरेको छ । र, घुस लेनदेनकै प्रमाण जुटेको भन्दै शर्मामाथि थप अनुसन्धान गर्न निर्देशन दिएको छ ।
बहसका क्रममा सरकारी वकिलहरुले शर्मामाथि अमेरिकाको कोलम्बियामा चलेको मुद्दासम्बन्धी केही कागजात पेश गरेका थिए । उक्त दस्तावेज अनुसार, शर्मामाथि एएआर कर्पले दुईवटा वाइडबडी विमान खरिदमा निगमका अधिकारीहरुलाई घुस दिएको आरोप थियो ।
‘दीपक शर्माले उक्त आरोपलाई हस्ताक्षर गरी स्वीकार गरेको देखिन्छ’ विशेष अदालतले सार्वजनिक गरेको संक्षिप्त आदेशमा भनिएको छ, ‘सो सम्बन्धमा तत्काल छुट्टै अनुसन्धान गरी आवश्यक कारवाही बढाउन अख्तियारमा लेखी पठाउने ठहर्छ ।’
विमान खरिद प्रस्तावसम्बन्धी कागजात९आरएफपी० बनाउँदादेखि नै कंसाकारका साथै बेलायती नागरिक शर्मा पनि संलग्न रहेको अख्तियारको आरोपपत्रमा उल्लेख थियो । टेण्डर प्रक्रियाबाट विमान खरिद गर्नुपर्नेमा उनीहरुले आशयपत्रको प्रक्रिया अघि बढाएका थिए ।
भ्रष्टाचारको योजनामा सुरुवातदेखि नै बेलायती नागरिक शर्माको भूमिका रहेको भनी अख्तियारले प्रश्न उठाएको थियो । टेण्डर प्रक्रियाबाट अघि बढाउनुपर्ने खरिद प्रक्रियालाई उनले आशय प्रक्रियाको बाटोमा लगे, जसलाई विशेष अदालतले पनि भ्रष्टाचारको प्रमुख आधार भनेको छ ।
विमान खरिदका लागि बैना भुक्तानीदेखि छलफलबाट विमानको रकम तय गर्ने प्रक्रिया विवादमा परेको थियो । उनीहरुले मूल्य समायोजनका नाममा वास्तविकभन्दा बढी रकम भुक्तानी गरेकोमा विशेष अदालतले दोषी ठहर गरेको छ ।
निगम भ्रष्टाचार प्रकरणमा तोकिएको भन्दा कम क्षमताको विमान खरिदको प्रश्न सबैभन्दा बढी गम्भिर थियो । उडान भर्दा २४२ टन क्षमताको विमान खरिद गर्नुपर्नेमा २३० टनको विमान खरिद भएको थियो । त्यसले गर्दा वाइडबडी विमानहरु लामो दुरीको उडान गर्न नसक्ने अवस्थामा पुगेको थियो ।
विमानको क्षमता घटाउने भूमिकामा निगमका महाप्रबन्धक कंसाकारका साथै आपूर्तिकर्ता समेत रहेको एएआर कम्पनीका प्रतिनिधि दीपक शर्मा संलग्न थिए । उनले विमानको क्षमता घटाउन पत्राचार गर्ने, सुझाव दिने कामहरु गरेको पाइएको छ । उनले नेपालको विमानस्थलमा २३० टन क्षमताको विमान नै पर्याप्त रहेको भनी इमेलहरु लेखेको अख्तियारको आरोपपत्रमा उल्लेख थियो ।
अनुसन्धान अघि बढेपछि अख्तियारले बेलायती नागरिक शर्मालाई बयानका लागि आउनू भनी सूचना निकालेको थियो, तर उनी उपस्थित भएनन् । फरार रहेकै अवस्थामा अख्तियारले उनीमाथि मुद्दा चलाएको थियो ।
निगमलाई दुईवटा विमान बेचेको आयरल्याण्डको ‘हाइफ्लाई एक्स’ नामक कम्पनी शर्माकै समूहले खडा गरेको थियो । २१ फेब्रुअरी २०१७ ९१० फागुन, २०७३० मा आयरल्याण्डमा दर्ता भएको कम्पनीले एयरबसबाट दुईवटा वाईडवडी विमान खरिद गरी २४ अर्ब रुपैयाँमा नेपाल वायुसेवा निगमलाई बेचेको थियो । यही कम्पनीसँगको खरिदविक्री र त्यसपछिको कारोवारमा अमेरिकामा शर्माको कामकारवाहीमाथि प्रश्न उठेको थियो ।
आयरल्याण्डमा हाइफ्लाई एक्स नामक कम्पनी खोलेर विमान आपूर्ति गरेको उक्त कम्पनीले नेपाली अधिकारीहरुलाई रकम दिन युनाइटेड अरब इमिरेट्स यूएईमा खाता खोलेको र त्यहाँ रकम प्रवाह गरेको भेटिएको थियो ।
अमेरिकाको डिपार्टमेन्ट अफ जस्टिलसले उनले यूएईको दुबई बाहेक अमेरिका र आयरल्याण्डमा पनि खाता खोलेको र रकम प्रवाह गरेको फेला पारेको थियो । एक प्रतिवेदन अनुसार, उनले करिव २५ लाख अमेरिकी डलर घुसका लागि प्रवाह गरेका थिए ।