म्याग्दे गाउँपालिकाद्वारा ४८ विपन्न परिवारलाई घर हस्तान्तरण

  • तनहुँ,३ असार। म्याग्दे गाउँपालिकाले विपन्न परिवारलाई आवास निर्माण गरी हस्तान्तरण गरेको छ ।
    गाउँपालिकाले ४८ वटा घर सम्बन्धित परिवारहरूलाई हस्तान्तरण गरेको हो । ‘नमुना आवास कार्यक्रम’ अन्तर्गत गाउँपालिकाले सातै वडाका घरविहीन वा जोखिमयुक्त घरमा बस्न बाध्य परिवारहरूलाई आवास निर्माण गरेको हो ।

    गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारीका अनुसार पहिलो चरणमा आर्थिक वर्ष २०८०र८१ मा संघीय सरकारको समपूरक कोष र गाउँपालिकाको बराबरी हिस्साबाट एक करोड बजेट विनियोजन गरिएको थियो । उक्त बजेटमध्ये रु। ८१ लाख ४३ हजार ३९६ मा म्याग्दे मूलबाराही निर्माण सेवाले ठेक्का सम्झौता गरी १६ वटा घर निर्माण गरेको हो ।त्यसै गरी, चालु आर्थिक वर्षमा रु। तीन करोड नौ लाखको समपूरक बजेटबाट थप ३२ वटा घर निर्माण सम्पन्न गरिएको छ । यसका लागि रु। एक करोड २० लाख संघीय सरकारले र बाँकी रकम गाउँपालिकाले विनियोजन गरेको हो । पासा शुक्ला जेभीले रु। दुई करोड ७३ लाख ५९ हजार ३७४ मा ठेक्का सम्झौता गरी ती घर निर्माण गरेको गाउँपालिकाले जनाएको छ ।

    गाउँपालिका–१ मा सात, वडा नं २ मा सात, वडा नं ३ मा ६, वडा नं ४ मा आठ, वडा नं ५ मा ६, वडा नं ६ मा ६ र वडा नं ७ मा आठवटा घर निर्माण गरिएका छन् ।

    गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले सम्बन्धित वडाको सिफारिसका आधारमा विपन्न नागरिकलाई घर उपलब्ध गराइएको जानकारी दिए । उनका अनुसार निर्माण गरिएका घरहरू १० वर्षसम्म बेचबिखन गर्न, बैंकमा धितो राख्न वा अन्यलाई भाडामा दिन नपाइने व्यवस्था गरिएको छ ।

    जग्गा नभएकालाई छरछिमेकीले जग्गा निस्शुल्क पास गरिदिएका छन् भने केही लाभग्राहीसँग आफ्नै जग्गा छ । वडा नं ७ हर्कपुरका सुकमान श्रेष्ठले गाउँपालिकाले गाउँमै सुविधा सम्पन्न घर निर्माण गरिदिँदा आफू अत्यन्त खुसी भएको बताए ।

    वडा नं २ जामुनेकी विष्णुमाया सुनारले आफ्नो आयले कहिल्यै घर बनाउन नसक्ने अवस्थामा गाउँपालिकाले आफ्नै घर बनाइदिएर जीवनभरको सपना पूरा गरिदिएको बताए । यस्तै, वडा नं ४ धोद्रेका लक्ष्मण परियारले आफूजस्तो सम्पत्तिविहीनलाई निस्शुल्क घर र घरमै खानेपानीको व्यवस्था गरिदिँदा गाउँपालिकाप्रति आभार प्रकट गरे ।

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    © 2025 Khabar Khata All right reserved Site By : Himal Creation