
खैरनी,२७ जेठ । रुपन्देहीको देवदह नगरपालिकाले आर्थिक बर्ष २०८२–०८३ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । नगरपालिकाको १६औं नगर अधिवेशनमा नगर प्रमुख धुव्रप्रसाद खरेलले नगर सभामा नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् । नगरपालिकाले समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय अभियानको जगमा टेकेर ‘समृद्ध देवदह, सुखी देवदहवासी’को परिकल्पना पुरा गर्ने गरी अगाडि बढेको नगर प्रमुख खरेलले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ । प्रमुख खरेलले प्रस्तुत गरेको नीति कार्यक्रममा भौतिक पूर्वाधार, कृषि, पशुपालन, पर्यटन, शिक्षा, रोजगारलाई प्राथमिकतामा राखिएको छ । उत्पादन बृद्धि गर्नका लागि विभिन्न पकेट क्षेत्र घोषणा गरी प्रवद्र्धन गर्दै अगाडि बढ्ने, प्राङ्गारिक मल प्रयोग गर्न प्रोत्साहन गर्ने, बाँझो जग्गालाई उत्पादनसँग जोड्ने उल्लेख गरिएको छ ।वदह क्षेत्रमा रहेका पुरातात्विक स्थल, कला, संस्कृति र परम्पराको संरक्षण सम्वद्र्धन गर्ने, पुरातत्व क्षेत्रको उत्खनन् गर्ने र गरिवी निवारणको लागि प्रमुखसँग उद्यमी रोजगार कार्यक्रमलाई निरन्तरता दिने नगर प्रमुख खरेलले बताए । शिक्षामा सुधार, प्राविधिक शिक्षा तथा प्रविधिमा आधारित शिक्षण सिकाईलाई प्राथमिकता दिने, शिक्षक, कर्मचारी, जनप्रतिनिधिका वालवालिकालाई सामुदायिक विद्यालयमा पढाउने वातावरण तयार गर्दै जाने उल्लेख गरिएको छ ।
स्वास्थ्य विमालाई प्रभावकारी बनाउने, निःशुल्क रगत उपलब्ध कार्यक्रमलाई निरन्तरता दिने उल्लेख गरिएको छ । एक वडा, एक खेलमैदानको व्यवस्था, खुद्रा योजनालाई निरुसाहित गर्दै कम्तीम ५ लाख भन्दा तलको योजना अगाडि नसार्ने, घरबाट निस्कने फोहोरलाई बर्गीकरण गरी प्राङ्गारिक मल रुपमा उपयोग गर्ने, फोहोरलाई मोहरको रुपमा परिणत गर्ने गरी योजना निर्माण गर्ने उल्लेख गरिएको छ ।
१६औं अधिवेशनमा नगर सभा सदस्य णप्रसाद न्यौपाने, अमर लामिछाने, चमकान्त गौडेल, डोलराज न्यौपानेले बोल्दै आवश्वासनको लागि मात्र नीति तथा कार्यक्रम आउने तर कार्यान्वयन नुहने, एक सहकारी एक उत्पादन योजना अगाडि सार्नुपर्ने, छाडा चौपायालाई व्यवस्थापन गर्न योजना निर्माण गर्नुपर्ने, राष्ट्रिय आवास कम्पनीको जग्गाको लालपुर्जाको विषय नीति तथा कार्यक्रमा समावेश गर्नुपर्नेमा जोड दिए ।
नगर सभाको क्रममा उठेका विषयवस्तु माथि प्रकाश पार्दै नगर प्रमुख खरेलले नीति तथा कार्यक्रमलाई टेकेर मात्र योजना अगाडि सार्ने बताए । उपप्रमुख विद्यालक्ष्मी गुरुङ्गको अध्यक्षता र योजना शाखाका अधिकृत रमेश गिरीको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।