
दाङ,२१ जेठ लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेशको समृद्धिको संवाहकका रूपमा युवा परिचालनलाई सरकारले प्राथमिकतामा राखेको बताउनु भएको छ ।
प्रगतिशील युवा समाज मायादेवी–१, कपिलवस्तुका युवाहरूसँगको छलफलमा मुख्यमन्त्री आचार्यले लुम्बिनी प्रदेशको समृद्धिका लागि हरेक क्षेत्रमा युवा परिचालनको नीति अवलम्बन गरिएको स्पष्ट पार्नुभयो ।
उहाँका अनुसार कृषि, उद्यम व्यवसाय, समुदाय परिचालन र सशक्तीकरणका क्षेत्रमा युवालाई सक्रिय रूपमा संलग्न गराउने नीति बनाइएको छ । सरकारले उक्त नीति अनुरूप बजेटमार्फत सम्बोधन पनि गर्ने स्पष्ट पार्नुभयो ।
`बाल विवाहमुक्त प्रदेश बनाउन किशोर–किशोरीहरूको साथ आवश्यक छ । समुदायमा सचेतना फैलाउन तपाईंहरू सक्रिय हुनु जरुरी छ´ उहाँले भन्नुभयो`मातृ मृत्युदर र बाल मृत्युदर बढ्दो छ । यसमा पनि समुदाय परिचालन र सशक्तीकरणका लागि तपाईंहरूको साथको खाँचो छ । पोषणको अवस्था पनि सुधार गर्न जरुरी छ ।´
भेटमा युवाहरूले बालबालिका, युवा तथा महिलाहरूको सशक्तीकरणका लागि बाल क्लब, युवा क्लब र महिला समूहसँग मिलेर सामाजिक रूपान्तरणका लागि सचेतनामूलक सडक नाटक, र्याली, विद्यालय भर्ना अभियान तथा क्षमता अभिवृद्धि जस्ता कार्यक्रमहरू गर्दै आएको जानकारी गराएका थिए ।
युवा समाजका अध्यक्ष दुर्गेश यादवको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले आगामी आ.व. २०८२/०८३ का लागि युवा लक्षित कार्यक्रम तथा बजेटमा प्राथमिकता दिन आग्रह गरेका छन् ।