
बुटवल, २१ बैशाख । लुम्बिनी प्रदेश सभा सचिवालयले आइतबार बुटवलमा आयोजना गरेको शैक्षिक संस्थाहरुमा अध्ययरत बिद्यार्थीहरुका लागि अभ्यास संसद कार्यक्रमको उद्घाटन गर्दै सभामुख घर्ती मगरले संसद जनताको सार्वभौमसत्ता प्रयोग गर्न थलो भएको बताए । लुम्बिनी प्रदेश सभाले जनताको सार्बभौमिकता प्रयोग गरि प्रदेशलाई आवश्यकता पर्ने कानुन निर्माण गर्ने गरेको उनले बताए । प्रदेश सभाले कानुन बनाउने, सरकार बनाउने, नीति कार्यक्रम बनाउने र संसदीय निगरानी गर्ने रहेको बताउँदै उनले प्रदेश सभामा पहुँच वृद्धि गर्न विद्यार्थीसँग कार्यक्रम गरिएको प्रष्ट पारे । कार्यक्रमा लुम्बिनी प्रदेशका उप–सभामुख मेनुका खाँण केसीले मुलुकको जिम्मेवारी युवाको काँधमा आएको बताइन् । ‘पढेलेखेका सक्षम युवा बिदेश जाने ? यहाँ कसले गर्छ नेतृत्व गर्छ ?’, युवाहरु राजनीतिमा आउन जरुरी छ’,उनले भनिन् ।
लुम्बिनी बौद्ध विश्वविद्यालय मानविकी तथा सामाजिकशास्त्र संकायका डिन डा। हरिशरण चखुँले अभ्यास संसद कार्यक्रमको लागि सिटि क्याम्पसलाई छनोट गरेकोमा धन्यवाद दिए । उनले यो कार्यक्रमले विद्यार्थीलाई ब्यवहारिक ज्ञान दिलाउने बिश्वास व्यक्त गरे ।
लुम्बिनी प्रदेश सभा सचिवालयका सचिव दुर्लभकुमार पुनले कानुन कसरी बनाइन्छ भन्ने कुरा ब्यवहारिक रुपमा अभ्यास गराइने र यसले विद्यार्थीलाई कानुन निर्माणको ब्यवहारिक ज्ञान हासिल गर्न सहयोग पुग्ने बताए । दुई दिनसम्म बुटवलमा संचालन हुने उक्त कार्यक्रममा लुम्बिनी बौद्ध बिश्वबिद्यालय स्कुल अफ ल सिटि क्याम्पस बुटवलका कानुनका १ सय बढी विद्यार्थीहरु सहभागी छन् । कानुन निर्माण प्रक्रियाको विषयमा ब्यवहारिक ज्ञान दिने उद्देश्यले प्रदेश सभा सचिवालयले यो कार्यक्रम संचालन गरेको हो ।