उद्यमशीलताको माध्यमबाट ग्रामीण क्षेत्रको अर्थतन्त्र बलियो बनाउन सकिने : मुख्यमन्त्री आर्चाय

  • पाल्पा, १२ वैशाख । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले ग्रामीण अर्थतन्त्रलाई बलियो बनाउन कृषि र वनलाई उद्यमशीलतामा जोड्नुपर्ने बताएका छन् । पाल्पाको निस्दी गाउँपालिकामा निर्माण भएको बहुउद्देश्यीय सभाहलको शुक्रबार उद्घाटन गर्दै मुख्यमन्त्री आचार्यले उद्यमशीलताको माध्यमबाट ग्रामीण क्षेत्रको अर्थतन्त्र बलियो बनाउन सकिने बताएका हुन् ।
    ‘यहाँको पहाडी बस्ती, वनजंगल, व्यवसायिक बाख्रापालन, अर्गानिक तरकारी खेतीका लागि उर्वरभूमि छ । वनमा अम्रिसो खेतीबाट पनि आम्दानी बढाउन सकिएको उदाहरण पाएका छौं,’मुख्यमन्त्री आचार्यले भने–‘यी र यस्तै स्थानीय उत्पादनबाट हाम्रो अर्थतन्त्र बलियो हुन सक्छ, हामी आत्मनिर्भर बन्न सक्छौं ।’ प्रदेश सरकारले स्थानीय उत्पादन बढाउनका लागि साझेदारी गर्न मिल्ने खालको नीति निर्माण गरेर अगाडि बढेको समेत उनले बताए।

    स्थानीय उत्पादनलाई प्रवद्र्धन गर्ने नीति सरकारको रहेको र उद्यमशीलताको माध्यमबाट आर्थिक सशक्तिकरण गर्न सकिनेमा उनले जोड दिए । ‘यस ठाउँका महिला दिदीबहिनीहरूले अम्रिसोको खेती गरेर कुचो बनाएर विक्रीवितरण गरी आम्दानी गरिरहेको मैले थाहा पाएको छु, ’मुख्यमन्त्री आचार्यले भने–‘यो कार्यका लागि महिला दिदीबहिनीहरूलाई प्रदेश सरकारकोतर्फबाट हार्दिक धन्यवाद दिन चाहन्छु ।’ मुख्यमन्त्री आचार्यले स्थानीय निजामती सेवा ऐन कार्यान्वयनमा ल्याइएको, नियमावली निर्माण गरेर लामो समयदेखि रोकिएको वृत्ति विकास तथा बढुवाको ढोका खोलिएको बताए । कर्मचारीहरूलाई जनसेवाको काममा ‘भोलि’ भनेर नबोल्न आग्रह गर्दै उनले भने–‘सरकारी सेवा लिन दिनभरीको बाटो हिंड्नुपर्ने स्थानहरू पनि भएकाले सेवा दिदा कर्मचारीहरूले ‘भोलि’ भनेर नभन्नुहोस् । समयमै सेवा प्रवाह गर्नुहोस् ।’
    प्रदेश सरकारले कर्मचारीलाई न्याय दिलाउन कुनै कञ्जुस्याइ नगरेको र भविष्यमा पनि नगर्ने उनको भनाइ छ ।

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    © 2025 Khabar Khata All right reserved Site By : Himal Creation