सेजको संरक्षण तथा उद्योगी व्यवसायीले उठाउँदै आएका समस्या समाधान गर्नुपर्नेमा जोड

  • भैरहवा, ५ बैशाख । प्रतिनिधि सभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले भैरहवास्थित शुक्रबार रुपन्देहीको रोहिणी गाउँपालिका–१ मा अवस्थित विशेष आर्थिक क्षेत्र (सेज)को स्थलगत अनुगमन गर्दै समितिका सभापति सहितका सदस्यहरुले सेजलाई निर्यातजन्य क्षेत्रमा भरपूर्ण उपभोग गर्न सक्नुपर्नेमा आफूहरु एकमत रहेको जनाए छन । उद्योगी व्यवसायीले उठाउँदै आएका समस्या समाधान गर्नुपर्नेमा जोड दिएको छ ।
    । समितिले सेजमा रहेका उद्योगहरुको अनुगमन गर्दै यहाँ रहेका समस्याबारे जानकारी लिएको थियो । दुई दशक अघि स्थापना भएको सेज अझै पूर्णरुपमा संचालनमा आउन सकेको छैन । पछिल्लो समय केही उद्योग स्थापना भए पनि सेज नीतिले संचालनमा कठिनाई भएको उद्योगी ब्यवसायीको गुनासो छ ।
    अनुगमन पश्चात आयोजित छलफलमा समितिका सभापति अब्दुल खानले सेजको संरक्षण तथा यसलाई बचाइराख्नुपर्छ भन्ने निजी क्षेत्रको चासो सकारात्मक भएको बताए । राज्यले यसमा विशेष ध्यान दिनुपर्ने जनाउँदै उनले उद्योगी–व्यवसायीको चासो र चिन्ता सकारात्मक रहेको र सेजमा लगानी गर्न नहिचकिचाउन आग्रह गरे । उनले सेज सबैको सम्पत्ति भएको जनाउँदै गुनासो र समस्या सरकार समक्ष पुर्याउने बताए ।

    आयातलाई प्रतिस्थापन र निर्यातलाई प्रवद्र्धन गर्ने नीतिलाई सार्थकता दिनुपर्ने उनको भनाइ छ । सभापति खानले सेज अनुगमनका क्रममा उद्योगी, व्यवसायी, श्रमिकका समस्या बुझ्न पाइएको र कतिपय गुनासो र समस्या कानूनमार्फत सम्बोधन गर्नुपर्ने बताए । ‘सेजलाई सबै मिलेर जर्गेना गर्नुपर्छ, यहाँका समस्या समाधानका लागि समितिमार्फत पहल गर्छौं,’ उनले भने ।
    समिति सदस्य रेखा यादवले सिमेन्ट लगायत वस्तुको मूल्यवृद्धि भएको उजुरी आएपछि वास्तविक अवस्था बुझ्न लुम्बिनी प्रदेशमा रहेका उद्योगहरुको स्थलगत अनुगमन गरिएको जनाइन् । यसक्रममा सेजको अवस्था बुझेको जनाउँदै यहाँको वस्तुस्थितिबारे सरकारलाई अवगत गराउने उनको भनाई छ । मूल्य बृद्धिको अवस्था बुझेर आवश्यक कदम चालिने उनले बताइन् ।
    भैरहवा भन्सार कार्यालयका प्रमुख रामप्रसाद रेग्मीले भन्सारका कारण सेजमा कुनै समस्या नरहेको जनाए । समस्या भए समाधान गर्न सकिने उनको भनाई छ । छलफलका क्रममा पञ्चकन्या समूहका महाप्रबन्धक देवेन्द्र साहुले सेजमा उद्योग सञ्चालन गर्ने वातावरण बनाउनुपर्नेमा जोड दिए । वस्तु निर्यात गर्ने उद्योगहरुलाई सेजमा ल्याउने वातावरण बनाउनुपर्ने जनाउँदै साहुले सेज बचाउन यसलाई सञ्चालन गर्न पहल आवश्यक रहेको बताए ।

    अनुगमनमा समितिका सभापति खानसहित सदस्यहरु कान्तिका सेजुवाल, गणेश पराजुली, रमा कोइराला पौड्याल, रुकमणि राना बराइली, रेखा यादव, हेमराज राई सहभागी थिए । सेजमा भएको छलफलमा रोहिणी गाउँपालिकाका अध्यक्ष विद्याप्रसाद यादव, आन्तरिक राजस्व कार्यालय भैरहवाका प्रमुख प्रेमराज पोख्रेल, सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीका अध्यक्ष नेत्रप्रसाद आचार्य, महासचिव कृष्णप्रसाद घिमिरे, नेपाल भन्सार एजेण्ट संघ सिद्धार्थनगरका अध्यक्ष मधुप्रसाद पन्थी, व्यवसायी राजेन्द्र गुप्ता, सेजका कर्मचारी लगायत सहभागी थिए ।

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    © 2025 Khabar Khata All right reserved Site By : Himal Creation