संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेलाई पत्राचार गर्दै गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल नियमित संचालनका लागि प्रभावकारी कदम चाल्न नगर प्रमुख खाँ को आग्रह

  • भैरहवा, २८ चैत । रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाका नगर प्रमुख इश्तियाक अहमद खाँले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेलाई पत्राचार गर्दै भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल संचालनका लागि सार्थक एवं प्रभावकारी कदम चाल्न आग्रह गरेका छन् । उद्घाटन भएको तीन वर्ष पुग्नै लाग्दा समेत विमानस्थल पूर्णक्षमता संचालनमा आउन नसक्नु यस क्षेत्रका लागि दुःखद र पीडादायी रहेको उल्लेख गर्दै उनले शिघ्र अन्तर्राष्ट्रिय उडान नियमित गराउन मन्त्री पाण्डेको ध्यानाकर्षण गराएका हुन् ।
    ‘विमानस्थल निमार्णका लागि यहाँका नगरवासीले आफ्नो पुर्खौली थातथलो समेत छाडेर जग्गा दिएका थिए । समयमै निर्माण सम्पन्न गर्नका लागि पनि यस क्षेत्रका वासिन्दाले गरेको सहजीकरण महत्वपूर्ण छ’, उनले पत्रमा भनेका छन्, ‘तर, निमार्ण सम्पन्न पछि पनि नियमित अन्तर्राष्ट्रिय उडान नहुँदा यहाँका नगरवासी, बुद्धिजीवी, उद्योगी–व्यापारी, पर्यटन लगायत सिंगो रुपन्देहीसहित लुम्बिनी प्रदेशसमेत प्रभावित भएको छ । निर्माण र निर्माण सम्पन्न पछि निजी क्षेत्र र नागरिकस्तरमा देखिएको उत्साह क्रमशः निरासामा वदलिँदै गएको छ ।’
    नेपालका धेरै दुरगामी महत्वलाई हेरेर विमानस्थल भैरहवामा बनाउने निर्णय भएको उल्लेख गर्दै उनले यो विमानस्थल लुम्बिनी प्रदेश र पश्चिम नेपालकै जनताहरुको बिकास र समृद्धिसँग जोडिएको बताएका छन् । उनले विमानस्थल बनाउँदा अर्बौं रुपैयाँ ऋण सहायक लिएर बनाइएको स्मरण गराएका छन् । हाल यो विमानस्थललाई आवश्यक पर्ने भौतिक पूर्वाधारहरु चार लेनका सडकहरु, तारे होटलहरुमा अर्बौ–खर्बौं रुपैयाँ निजी क्षेत्रले लगानी गरेको जनाउँदै विमानस्थल सचांलनको बिकल्प नरहेको समेत बताए ।
    ‘नियमित अन्तर्राष्ट्रिय उडान हुन लागेको विमानस्थललाई अझै व्यवस्थित गरी पूर्ण क्षमतामा चलाएर यो क्षेत्रलाई चलायमान बनाउनु पर्नेमा सरकारले ८ महिना पहिला विमानस्थल सञ्चालन गर्नका लागि गरेका निर्णयहरु पनि कार्यान्वन नगर्दा झनै निरासा र चिन्ता थपिएको छ’, उनले भने, ‘अत्यावश्यक कार्यालय पनि नखोल्ने, विमान कम्पनीलाई दिने भनिएको छुट सुविधा पनि नदिने जस्ता काम सरकारबाट भएको भन्दै यहाँको सिंगो निजी क्षेत्र आक्रोसित छ । जुन स्वभाविक पनि हो ।’
    पछिल्लो समय केही महिना उडान गरेका विमान कम्पनीले समेत उडान रोक्दा विमानस्थल सुनसान भएको र बिमानस्थल निमार्णका क्रममा गरिएको अर्वौ लगानीलाई समेत सुरक्षित गर्न तत्काल अन्तर्राष्ट्रिय उडान तालिका बनाई पूर्ण क्षमतामा सञ्चालनमा ल्याउन उनले आग्रह गरेका छन् । निजी क्षेत्रले बिमानस्थल संचालनका लागि दिँदै आएको दवाव स्वभाविक रहेको जनाउँदै उनले यसलाई गंभीरतापूर्वक लिएर विमानस्थल संचालनका लागि सार्थक प्रयास नभएमा आफू एवं सिंगो पालिकाले नै नेतृत्व गरेर दवाव दिन बाध्य हुने भन्दै त्यो अवस्था सिर्जना नगराउन समेत उनले सचेत गराएका छन् ।

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    © 2025 Khabar Khata All right reserved Site By : Himal Creation