राष्ट्रिय हेमजा आलु महोत्सव २०८१ हुदै

  • पोखरा १९ चैत । विष्णु पादुका क्लब आयोजनामा हुन लागेको १३ औं संस्करणको राष्ट्रिय हेमजा आलु महोत्सव २०८१ चैत २४देखि ३ वैशाखसम्म हुँदैछ। सोमबार पत्रकार सम्मेलन आयोजना गरी महोत्सवको तयारी तीव्र पारिएको जनायो छ । हेमजामा विगतमा झैं यसपालि पनि आलु महोत्सवलाई निरन्तरता दिइएको हो ।
    ‘सुन्दर ठाउँ हेमजा जाउँ, आलुका स्वादिष्ट परिकार खाउँः आलु एक परिकार अनेक’ भन्ने मूल नाराका साथ संचालन हुन लागेको उक्त महोत्सवका आकर्षणमा आलु तथा ताजा तरकारीको बृहत् प्रदर्शन, आलुको पहाड निर्माण, आलुका विभिन्न परिकार, कृषकका लागि माटो, बोटविरुवा परीक्षण तथा रोगको निदान लगायत रहेको महोत्सव मूल आयोजक समिति संयोजकसमेत रहेका क्लब अध्यक्ष वसन्तकुमार श्रेष्ठले बताए।
    त्यस्तै, कृषक तथा कृषिसम्बन्धी विविध सांस्कृतिक कार्यक्रम, कृषि झाँकी प्रतियोगिता, चर्चित कलाकारको दैनिक प्रस्तुति, कृषक सम्मान साथै विभिन्न कृषि उपज, बिउविजन तथा अन्य कृषि यन्त्रको प्रदर्शनी पनि रहेको श्रेष्ठले जानकारी दिए । उनले भने ‘यो महोत्सव कृषकको चाड हो।’
    २ हजार घरपरिवार कृषिमा आधारित रहेकामा १ हजार ५० कृषकले व्यावसायिक आलुखेती गर्छन्
    उनले महोत्सव अवधिभर बढीमा ४२ रुपैयाँसम्म प्रतिकेजी आलुको कारोबार हुने पनि उल्लेख गरे । ‘मूल्य भन्ने कुरा दिनदिनै फरक पर्ने रैछ । हामीले बढीमा ४२ रुपैयाँसम्मका कारोबार गर्ने निर्णय गरेका छौं । त्यसमा १÷२ रुपैयाँ घट्न पनि सक्छ, तर ४२ रुपैयाँभन्दा बढ्दैन,’ उनको भने।
    पोखरा महानगरपालिकाका प्रवक्तासमेत रहेका पोखरा २५ का वडाध्यक्ष मोतिलाल तिम्सिनाले आलु महोत्सव समग्र पोखराकै ब्राण्ड बनेको उल्लेख गर्दै महोत्सवसँगै कृषकलाई प्रोत्साहन गर्न खोजिएको स्पष्ट पारे । पछिल्लोपटक हेमजा महोत्सवमय बन्दै गइरहेको उल्लेख गर्दै उनले आलु महोत्सवले पोखरा भ्रमण वर्षलाई सघाउने विश्वास समेत व्यक्त गरे ।
    त्यस अवसरमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाइ गण्डकीका माधव लम्साल, ज्ञान केन्द्र कास्कीका कृषि प्रसार अधिकृत रामकृष्ण अर्याल, नेपाल पत्रकार महासंघ कास्की उपाध्यक्ष माधव रेग्मीलगायतले आलु महोत्सवको प्रवद्र्धनमा जोड दिए । उनीहरुले आलु महोत्सवलाई अझ सुदृढ एवं परिमार्जन गर्दै लैजानुपर्ने बताउँदै कृषि उपजका नाममा महोत्सव हुनु आफैँमा महत्वपूर्ण भएको औँल्याए ।
    २०७८ को जनगणनाअनुसार हेमजामा ३ हजार ५ सय १७ घरमा २२ हजार ५ सय ३२ मानिस बसोबास गर्दछन् । हेमजाको कुल १३ हजार ५ सय हेक्टरमध्ये ५ सय ५० हेक्टरमा आलु खेती गर्ने गरिन्छ । यहाँका २ हजार घरपरिवार कृषिमा आधारित रहेकामा १ हजार ५० कृषकले व्यावसायिक आलु खेती गर्दै आएका छन् । यहाँ प्रतिरोपनी आलुको औषत उत्पादन लागत १८ हजार ५५७ रहेकोमा औषत उत्पादन ७ सय ५ केजी प्रतिरोपनी रहेको तथ्यांकमा छ ।
    हेमजामा उत्पादन भएका आलु तथा अन्य ताजा तरकारीका बृहत् प्रदर्शन एवं प्रचारप्रसार गर्ने, हेमजालाई व्यावसायिक कृषि पर्यटन क्षेत्रका रुपमा देश विदेशमा चिनाउने, क्लब भवन निर्माणका साथै तरकारी संकलन तथा बिक्री वितरण केन्द्र निर्माण गर्ने एवं विष्णुपादुका बहुउद्देश्यीय भवन निर्माणलाई पूर्णता दिने उद्देश्यका साथ महोत्सव गर्न लागिएको हो ।
    महोत्सवका लागि किसानबाट ४० टन आलु पनि आयोजकले खरिद गरिसकेको जनाएको छ ।
    मूल आयोजक समिति संयोजक श्रेष्ठको अध्यक्षतामा भएको उक्त कार्यक्रममा सचिव विकल थापाले स्वागत तथा महोत्सवका महासचिव हिक्मत थापाले कार्यक्रम संचालन गरे ।

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    © 2025 Khabar Khata All right reserved Site By : Himal Creation