
बुटवल,१८ चैत ।भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल (जिबिआइए)मा फेरि अन्तर्राष्ट्रिय उडान ठप्प भएको छ । १ अप्रिलदेखि सुरु हुने समर सिजनमा कुनै पनि वायुसेवा कम्पनीले भैरहवा उडानको सेड्युल पेस नगरेपछि तत्काललाई अन्तर्राष्ट्रिय उडान ठप्प हुने भएको हो ।
भैरहवामा जजिरा एयरवेज, थाई एयर एसिया र फ्लाई दुबईले नियमित उडान गर्दै आइरहेका थिए । तर आइतबार (३० मार्च)देखि नै भैरहवामा तीनवटै वायुसेवाले आफ्नो उडान हटाएका हुन् । सम्बन्धित वायुसेवा कम्पनीका प्रतिनिधिसँग छलफल चलिरहेको र छिट्टै टुंगो लगाएर नियमित उडानको प्रयास भइरहेको गौतम बुद्ध विमानस्थलका महाप्रबन्धक प्रताप तिवारीले खबर खाता लाई जानकारी दिए। तत्काललाई भने नियमित अन्तर्राष्ट्रिय उडान रोकिएको उनको बताए ।