
दाङ, २९ फागुन– लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले होली पर्वको अवसरमा शुभकामना व्यक्त गरेका छन् । बिहीबार एक सन्देश जारी गर्दै मुख्यमन्त्री आचार्यले मौलिक चाडपर्वहरूले समुदायबीच आपसी सद्भाव बढाउने र राष्ट्रिय एकतालाई अझ मजबुत बनाउने उल्लेख गरेका छन् ।
असत्यमाथि सत्य, अन्यायमाथि न्याय र अन्धकारमाथि उज्यालोको विजयको प्रतीकका रूपमा मनाइने फागु पूर्णिमा (होली) पर्वले समाजमा प्रेम, भाइचारा र मित्रताको सन्देश फैलाउने उनको विश्वास छ । मुख्यमन्त्री आचार्यले लुम्बिनी प्रदेश सरकार मौलिक कला र संस्कृतिको संरक्षण, प्रवद्र्धन तथा विकासमा प्रतिबद्ध रहेको उल्लेख गर्दै प्रदेशको विविध सांस्कृतिक सम्पदा, परम्परा र मौलिक पहिचान नै समृद्ध लुम्बिनी प्रदेशका आधार भएको शुभकामना सन्देशमा उल्लेख गरेका छन् ।‘यस्ता मौलिक सम्पदा र पर्वहरुको जगेर्ना गर्नुपर्छ’, उनले भनेका छन्, ‘पर्व मनाउने क्रममा कुनै पनि विकृति र विसंगति प्रवेश गर्न दिन हुँदैन ।’ मुख्यमन्त्रीले सभ्य, मर्यादित र सौहार्दपूर्ण रूपमा होली मनाउन अपिल गरेका छन् । यस पर्वले सम्पूर्ण नेपालीमा नयाँ उत्साह, उमंग र हौसला प्रदान गरोस् भन्ने कामना गर्दै उनले समाजमा सकारात्मक सन्देश प्रवाह गर्ने पर्वका रूपमा होली मनाउन अनुरोध गरेका छन् ।