
बुटवल, फागुन । कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान) रुपन्देहीले यही फागुन अन्तिम साता ‘बिजनेस कस्टमर समिट’ गर्ने भएको छ ।
प्राविधिक क्षेत्रमा अध्ययन गरेका विद्यार्थी र नीति बनाउनेहरूलाई लक्षित गरेर फागुन २६ र २७ गते समिट गर्न लागिएको हो ।
मंगलबार बुटवलमा आयोजित पत्रकार सम्मेलनमा क्यान रुपन्देहीका अध्यक्ष जीवन अधिकारीले सूचना तथा सञ्चार प्रविधि क्षेत्रमा भएका विकास तथा नयाँ प्रविधिका बारेमा समिटमा जानकारी गराइने बताए ।
कार्यक्रम संयोजक तथा क्यान महासंघ रुपन्देहीका बरिष्ठ उपाध्यक्ष वीरबहादुर क्षेत्रीले विगतमा क्यान इन्फोटेक गर्दै आएकोमा अहिले नयाँखालको कार्यक्रम ल्याइएको बताए ।
अवलोकनकर्तालाई निःशुल्क प्रवेश दिइने, विश्व बजारका प्रविधिका विषयमा जानकारी दिने मुख्य उद्देश्य रहेको उनको भनाइ छ ।
क्यान रुपन्देहीका सचिव सुरेशचन्द्र भट्टराईले ब्रान्डलक्षित कार्यक्रमलाई यो प्रदर्शनीमा ध्यान दिइएको बताए । आईटीमा चासो राख्नेलाई जतिसक्दो सहभागी गराउने लक्ष्य रहेको तर, यसमा आर्थिक कारोबारको कुनै लक्ष्य नरहेको उनले बताए । विद्यार्थी र स्थानीय सरकारका प्रमुखरउपप्रमुखहरूलाई कार्यक्रममा प्राथमिकता दिइएको छ ।