बुटवल उद्योग वाणिज्य संघको अध्यक्षमा नरीश्वर पौडेल निर्वाचित

  • बुटवल,२७ असोज । बुटवल उद्योग वाणिज्य संघको २६औँ अधिवेशनबाट अध्यक्षमा नरीश्वर पौडेल निर्वाचित भएका छन् । उनले अर्का टंकप्रसाद गैरेलाई २३२ मतले पराजित गरेका हुन् । पौडेलले ८३३ मत प्राप्त गर्दा गैरेले २०१ मत प्राप्त गरेका छन् ।
    अध्यक्षसहित विभिन्न पदमा पौडेल र गैरेले छुट्टाछुट्टै प्यानल बनाएर प्रतिस्पर्धा गरेका थिए ।
    संघको वरिष्ठ उपाध्यक्षमा ७२४ मत प्राप्त गरेर सुरज भट्टराई निर्वाचित भएका छन् । उनका प्रतिस्पर्धी विमलराज भट्टराईले ६९८ मत प्राप्त गरे । उद्योग उपाध्यक्षमा ७१२ मत ल्याएर दिनेश श्रेष्ठ निर्वाचित हुँदा पौडेल पक्षका निर्मित कसजुले ६९३ मत ल्याए ।
    वाणिज्य उपाध्यक्षमा गैरे पक्षका मुक्तिप्रसाद अधिकारी ७१९ मत ल्याएर निर्वाचित भए । उनका प्रतिस्पर्धी पौडेल पक्षका बाबुराम विश्वकर्माले ७०० मत प्राप्त गरे ।
    त्यस्तै, महासचिवमा पौडेल पक्षका वसन्तप्रसाद ढकालले ७१४ मत प्राप्त गर्दा गैरे पक्षकी जमुना पौडेलले ७०२ मत प्राप्त गरिन् । कोषाध्यक्षमा गैरे पक्षका टीकाराम बञ्जाडे र सचिवमा पौडेल पक्षका दीपकप्रसाद चापागाईं निर्वाचित भएका छन । निर्वाचन अधिकृत बाबुराम पाण्डेका अनुसार सोमबार भएको निर्वाचनमा २६ पदका लागि ५२ जनाले उम्मेदवारी दिएका थिए । एक सदस्य पदमा दुई जनाको मत बराबर भएपछि गोलाप्रथाबाट विजयी घोषणा गरिएको उनले जानकारी दिए ।

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?


    © 2026 Khabar Khata All right reserved Site By : Himal Creation