
खैरनी ,९ माघ । देवदह व्यापार संघको आयोजनामा हुन लागेको शक्रबारदेखि हुन लागेको नवौं राष्ट्रिय देवदह औद्योगिक व्यापार मेला, कृषि तथा पर्यटन औद्योगिक व्यापार मेलाको तयारी पुरा भएको पत्रकार सम्मेलन गरि जानकारी गराईएको हो ।
पत्रकार सम्मेलनमा मेला मूल आयोजक समितिका संयोजक कोषबहादुर गुरुङले महोत्सवको प्रवेशद्वार, सचिवालय, बाल उद्यान, स्टल निर्माण लगायतको निर्माण कार्य अन्तिम चरणमा पुगेको बताए । मेलाको सरकार सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले उद्घाटन गर्ने कार्यक्रम तय गरिएको छ ।
महोत्सवमा लुम्बिनीको प्राचीन मायादेवी ग्रामसहितको मोडल, पकडी ब्रिक्ष आकृति, फोटो प्रदशनी, विज्ञान प्रर्दशनी, गुरुङ र मगर समुदायको घर, सेल्फी जोन, लगायतका आकर्षण छ । महोत्सवमा होटल, कृषि, विद्यालयका विज्ञान प्रर्दशनी लगायत २५८ स्टल रहने बताए । मेलामा ६ लाख दर्शकले अवलोकन गर्ने र मेलाभित्र १० करोड बराबरको कारोबार हुने लक्ष्य लिइएको मुल आयोजक समितिका संयोजक गुरुङले बताए ।
महोत्सवमा सांस्कृतिक कार्यक्रम अन्तरगत डान्सिङ आइडल, अन्तर विद्यालय लोकगीत, लोक नृत्य प्रतियोगिता, मम्मी डान्स प्रतियोगिता, पन्चे बाज प्रतियोगिता, भजन प्रतियोगिता, टिकटक प्रतियोगिता, भलिबल प्रतियोगिता र डोरी तान्ने प्रतियोगिता लगायतका प्रतियोगिता गराईने छ । कृषि तथा विज्ञान प्रदर्शनी, बाल उद्यान, मेलामा कृषि यन्त्र, पर्यटकीय स्थलहरुको जानकारी दिन सूचना केन्द्र, विभिन्न जातजातिहहरुको संस्कृति झल्किने गरी भेषभुषाको झाँकी प्रदर्शन तथा खाना महोत्सव लगायतका गतिविधिहरू महोत्सवका आकर्षकका रुपमा रहने मूल आयोजक समिति संयोजक गुरुङले जानकारी गराए ।
राष्ट्रिय अर्थतन्त्रलाई सुदृढ एवम् सबल बनाउन उद्योग तथा वाणिज्य क्षेत्रका व्यवसायीहरूको संस्थागत विकास गर्ने उद्देश्यले नवौ देवदह महोत्सव आयोजना गर्न लागिएको बताउँदै देवदह व्यापार संघका अध्यक्ष गुरुङले कृषि क्षेत्र, शैक्षिक, धार्मिक, पर्यटक र व्यापारिक क्षेत्रको रूपमा मात्र नभएर देवदहका ऐतिहासिक स्थलहरू भवानीपुर क्षेत्र, रोहिणी नदी, दह, कन्यामाई, वैरिमाई, पाकरी वृक्ष, खयरडाँडा तथा अन्य विभिन्न धार्मिक एवं पर्यटकीय क्षेत्रको प्रचारप्रसार गर्नपनि महोत्सवले महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे ।
हरेक दिन बिहान ९ बजेदेखि बेलुका ८ सम्म अवलोकन गर्न सकिने मेलाको प्रवेश शुल्क सर्वसाधारणलाई ६० रुपियाँ र विद्यार्थीलाई ४० रुपियाँ कायम गरिएको छ । त्यस्तै देवदह मण्डपको पूर्वाधार विकासको लागि टिकट बिक्रीबाट प्राप्त रकमको ५ प्रतिशत छुट्याएर देवदह मण्डप विकास कोष स्थापना गर्ने र पूर्वाधार निर्माणका लागि देवदहमा क्रियाशिल व्यापारिक संस्थासंग कोषलाई निरन्तरता दिन अनुरोध गर्ने अध्यक्ष गुरुङले बताउए । ज्येष्ठ नागरिक र विशिष्ट शारीरिक क्षमता भएकाहरूलाई परिचय पत्रको आधारमा निःशुल्क प्रवेशको व्यवस्था मिलाइएको छ ।