संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गरी स्वदेश फर्किए प्रधानमन्त्री शाह

  • स्वदेश फर्किएका प्रधानमन्त्री बालेन शाह। तस्बिरः प्रधानमन्त्रीको कार्यालय।

    काठमाडौँ,१० असोज । संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी भई प्रधानमन्त्री बालेन्द्र (बालेन) शाह आज (सनिबार)स्वदेश फर्किएका छन् ।
    अमेरिका भ्रमणका क्रममा प्रधानमन्त्री शाहले शुक्रबार महासभालाई सम्बोधन गरेका थिए। सम्बोधनका क्रममा उनले जलवायु परिवर्तनलाई गम्भीरतापूर्वक लिन विश्व समुदायसँग आग्रह गरेका थिए । जलवायु परिवर्तनका कारण नेपालजस्ता मुलुकले भोगिरहेको विनाश र त्यसको जिम्मेवारी विश्व समुदायले लिनुपर्ने विषय उठाउँदै उनले ‘हिमालयको सुनामी’ ले निम्त्याएको विनाशलाई विश्वसामु प्रस्तुत गरे।हालैको भोटेकोशी बाढीलाई जलवायु संकटको गम्भीर प्रभावका रूपमा प्रस्तुत गर्दै त्यसबाट भएको जनधनको क्षति र पूर्वाधार तथा जनजीविकामा परेको असरबारे विश्वसमुदायको ध्यानाकर्षण गराएका थिए।
    नेपालले विश्वव्यापी हरितगृह ग्यास उत्सर्जनमा ०।१ प्रतिशतभन्दा कम योगदान गरे पनि जलवायु परिवर्तनका असमान र गम्भीर असर भोगिरहेको उल्लेख गर्दै उनले जलवायु परिवर्तन नेपालको लागि मानवीय घटना मात्र नभई विकासको संकटसमेत भएको बताएका थिए।
    हिमाली पारिस्थितिक प्रणालीमा जलवायु परिवर्तनले पारेको असर तथा हिमनदी र पर्माफ्रस्ट पग्लिँदा हिमपहिरो, बाढी र पहिरोको जोखिम बढ्दै गएको उल्लेख गर्दै प्रधानमन्त्रीले जोखिमयुक्त हिमतालको निगरानी, पूर्वसूचना प्रणालीको सुदृढीकरण र विपद्का बेला सीमापार समन्वयका लागि ‘हिमालयन क्लाइमेट रेजिलियन्स मेकानिज्म’ स्थापना गर्न प्रस्ताव गरेका थिए।उनले जलवायु परिवर्तनलाई भू–राजनीतिक द्वन्द्वको विषय नबनाई साझा जिम्मेवारी र ऐक्यबद्धताका आधारमा समाधान खोज्नुपर्ने बताएका थिए।
    जलवायु संकट निम्त्याउन ऐतिहासिक रूपमा बढी भूमिका खेलेका र स्रोतसाधन तथा क्षमता भएका मुलुकले थप जिम्मेवारी लिनुपर्ने उल्लेख गर्दै उनले जलवायु न्यायलाई व्यवहारमा उतार्न अन्तर्राष्ट्रिय समुदायलाई आह्वान गरेका थिए।

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    © 2026 Khabar Khata All right reserved Site By : Himal Creation