बुटवल,५ असोज । लायन्स क्लब अफ बुटवल स्टार्सको दसौं स्थापना दिवस तथा पुरस्कार वितरण कार्यक्रम मंगलबार बुटवलमा सम्पन्न भएको छ। क्लबका अध्यक्ष डिएस भट्टराईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा लायन्स क्लब्स इन्टरनेशनलका एरिया लिडर अरुण प्रताप राणा प्रमुख अतिथिका रूपमा सहभागी भएका थिए। कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि राणाले लायन्स क्लब अफ बुटवल स्टार्सले छोटो समयमै उत्कृष्ट सामाजिक कार्यमार्फत आफ्नो छुट्टै पहिचान बनाउन सफल भएको बताए। लायन्सवाद विश्वकै उत्कृष्ट सेवामूलक अभियानमध्ये एक भएको उल्लेख गर्दै उनले ‘हामी सेवा गर्छौं’ भन्ने मूल भावनालाई आत्मसात् गर्दै क्लबले शिक्षा, स्वास्थ्य, भोकमरी न्यूनीकरण तथा मानसिक स्वास्थ्यलगायतका क्षेत्रमा निरन्तर योगदान पुर्याउँदै आएको प्रशंसा गरे। बुटवल स्टार्सका सामाजिक गतिविधिहरू अन्य लायन्स क्लबका लागि समेत अनुकरणीय रहेको बताउँदै उनले यस्ता सेवामूलक कार्यलाई निरन्तरता दिनुपर्नेमा जोड दिए।
कार्यक्रममा लायन्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ पी का डिष्ट्रिक्ट गभर्नर सन्दीप कसौधन, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयका प्रमुख प्रहरी उपरीक्षक( एसपि) निशान थापा, डिष्ट्रिक्ट ३२५ पी का फर्स्ट भाइस डिष्ट्रिक्ट गभर्नर मिना पन्थी, पूर्व मल्टिपल काउन्सिल चेयरपर्सन तथा पूर्व गभर्नर सुनिल ओझा, पूर्व गभर्नर अर्जुनमान सैंजु, डिष्ट्रिक्ट, पूर्व गभर्नर पुरुसोत्तम भक्त प्रधानाङ्ग सचिव आशिष कृष्ण श्रेष्ठ, डिष्ट्रिक्ट कोषाध्यक्ष सुरेन्द्र घिमिरेलगायतले शुभकामना तथा मन्तव्य व्यक्त गरेका थिए।
कार्यक्रममा क्लबका निवर्तमान अध्यक्ष राजन जिसीले आफ्नो कार्यकालमा विभिन्न कार्यक्रम तथा गतिविधिमा संयोजकका रूपमा भूमिका निर्वाह गर्ने क्लबका सदस्य तथा सहयोगीहरूलाई धन्यवाद दिँदै मायाको चिनोसहित सम्मान गरेका थिए। साथै क्लबका पूर्व अध्यक्ष सुशील पाण्डेलाई विशेष सम्मान गरिएको थियो। संस्थापक अध्यक्षसहित क्लबका विभिन्न पदाधिकारी तथा सदस्यहरूलाई समेत सम्मान गरिएको थियो।
सो अवसरमा लायन्स क्लब अफ बुटवल स्टार्सका संस्थापक सदस्य कमलेस कसौधनले डिष्ट्रिक्ट ३२५ पी लाई १० थान साइकल हस्तान्तरण गरेका थिए। त्यस्तै, क्लबका तर्फबाट LCIF फन्डमा ५ हजार अमेरिकी डलर तथा NLF फन्डमा ६६ हजार ३ सय रुपैयाँ सहयोग गर्ने घोषणा गर्दै त्यससम्बन्धी चेक LCIF एरिया लिडर अरुण प्रताप राणा र डिष्ट्रिक्ट गभर्नर सन्दीप कसौधनलाई क्लबका अध्यक्ष डिएस भट्टराईले हस्तान्तरण गरेका थिए। तेस्तै नेपालमै पहिलो पटक कप क्लब अफ बुटवल स्टार्स खोलीएको छ’ । लायन्स क्लब अफ बुटवल स्टार्सले बालबालिकामा नेतृत्व क्षमता, सामाजिक भावना तथा सेवामूलक संस्कारको विकास गर्ने उद्देश्यले ‘कब क्लब अफ बुटवल स्टार्स’ स्थापना गरेको छ।
लायन्स इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ पी, नेपाल अन्तर्गत सन् २०२६–२७ का लागि सञ्चालनमा ल्याइएको कब क्लबमा विभिन्न उमेर समूहका बालबालिकाहरू सहभागी रहेका छन्। क्लबले बालबालिकालाई सानै उमेरदेखि अनुशासन, सहयोग, नेतृत्व, वातावरण संरक्षण तथा सामाजिक सेवाका गतिविधिमा सहभागी गराउने लक्ष्य राखेको छ।
‘Shining Lives Together भन्ने भावनासहित अघि बढाइएको यस अभियानमा पथान शर्मा, रिदम पाण्डे, अवियान खड्गी, प्रिन्जा खनाल, रियज जी।सी।, प्रज्ञानय पन्थी, श्री भट्टराई, मनग श्रेष्ठ, दीक्षा भट्टराई, दर्शित पाण्डे, प्रियता भट्टराई, सृर्जन भट्टराई, दीकव भट्टराई, अर्नव के।सी।, हृदया अंशु भट्टराई, हर्षित भट्टराई, अदिती गुप्ता, प्रार्थना घिमिरे, स्वेस्ना पाण्डे, ग्रेसिका भट्टराई र जोनिस्सा पोखरेल लगायतका बालबालिका आबद्ध छन्।
लायन्स क्लब अफ बुटवल स्टार्सले बालबालिकालाई सामाजिक सेवासँग जोड्दै उनीहरूमा ‘सेवा नै जीवनको आधार हो’ भन्ने भावना विकास गराउने र भविष्यका जिम्मेवार नागरिक निर्माणमा योगदान पुर्याउने उद्देश्य राखेको क्लबका अध्यक्ष डिएस भट्टराईले जानकारी दिए ।
क्लबका अध्यक्ष डिएस भट्टराईले क्लबको प्रतिष्ठा र शाखलाई सदैव उच्च स्थानमा राख्न आफूले सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरे। उनले आगामी दिनमा गरिब तथा जेहेन्दार बालबालिकाको शिक्षा र स्वास्थ्यका क्षेत्रमा विशेष कार्यक्रम सञ्चालन गर्ने बताए।
रामबहादुर शाहीको संयोजकत्वमा सम्पन्न कार्यक्रम क्लबका सचिव छविन्द्र भट्टराईले सञ्चालन गरेका थिए। दसौं स्थापना दिवसका अवसरमा क्लबले विगतका गतिविधिको समीक्षा गर्दै आगामी दिनमा सामाजिक सेवाका कार्यक्रमलाई अझ प्रभावकारी रूपमा अघि बढाउने प्रतिबद्धता जनाएको छ।













