बुटवल, २७ भदौ । राधाकृष्ण युवा क्लबको १६ औ रक्तदान कार्यक्रम शनिबार सम्पन्न भएको छ । युवा पुस्ताको सोच, समृद्ध नेपालको खोज नारासहित स्थापना भएको क्लबले शनिबार माईटीटोल आमा समुहको भवनमा रक्तदान कार्यक्रम गरेको हो । कार्यक्रमको बुटवल उपमहानगरपालिका वडा नं ५ का वडाअध्यक्ष हरि प्रसाद श्रेष्ठले रक्तदातालाई ब्लड ब्याग दिएर उद्घाटन गर्दै बुटवलमा दुई वडामा युवाहरुलाई एकतावद्ध गरि सामाजिक कार्यमा अग्रसर गराउन क्लब सफल भएको बताए । सास्कृतिक, खेलकुद, स्वास्थ्य, लागूऔषध विरुद्ध सचेतना जगाउने जस्ता हरेक जसो क्षेत्रमा क्लबबाट वर्षभरि नै विभिन्न कार्यक्रम गर्दै आएको भन्दै उनले समाजमा रहेका विकृतिविसंगति हटाउदै सभ्य र सुन्दर नगर बनाउने अभियानमा हातेमालो गर्न सफल भएको बताए ।
कार्यक्रममा वडा नं ६ का कार्यवाहक अध्यक्ष चिनकाजी श्रेष्ठ, माईटीटोल आमा समुह संस्थाका अध्यक्ष सिता जोशी, सल्लाहकार राजकुमार गुप्ता, शान्तिटोल विकास संस्थाका सिताराम महतो, कालिका टोल विकास संस्थाका सचिव जयलाल काफ्लेले समाज परिवर्तनमा युवाहरुको भुमिकाबारे प्रकाश पार्दै क्लबबाट भएका महत्वपूर्ण कामको प्रंशंसा गरे ।
कार्यक्रममा क्लबका अध्यक्ष रिम सारूले भोटेकोशीमा गएको बाढीबाट पिडितहरुलाई स्वास्थ्य उपचारमा आवश्यक रगतसंगै आर्थिक सहयोग जुटाउने गरि कार्यक्रम गरिएको बताए । क्लबका सदस्यहरुबाट संकलन भएको आर्थिक सहयोग प्रधानमन्त्री बाढी प्रकोप उद्धार कोषमा जम्मा गर्ने उनले बताए ।
युवाहरुलाई एकतावद्घ गरि ब्यक्तिगत फाईदाभन्दा माथि उठेर समाजको विकास अग्रसर हुने गरि रचनात्मक कामा आफुहरु लागेको क्लबका सचिव शंकर परियारले बताए । युवाहरुलाई दुब्र्यसनीबारे बुझाउदै नेतृत्व, क्षमता विकास गर्दै समुदायमा असल नागरिक बनाउने अभियानमा क्लब लागेको उनले बताए । नेपाल रेडक्रस सोसाइटी, रक्तसंचार केन्द्र बुटवलको प्राविधिक सहयोगमा भएको कार्यक्रममा ४२ युनिट रगत संकलन भएको संयोजक कमल सिंजालीले बताए ।












