बुटवल,१९ भदौ । भोटेकोसी आयको बाढी, पहिरो तथा डुबानबाट प्रभावित नागरिकको राहत तथा पुनर्स्थापनामा सहयोग पुर्याउने उद्देश्यले लायन्स क्लब अफ बुटवल स्टार्स परिवारले २ लाख १ हजार रुपैयाँको चेक हस्तान्तरण गरेको छ ।
लायन्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ पी, नेपालले विपद् प्रभावित परिवारलाई सहयोग गर्न आह्वान गरेसँगै क्लबले मानवीय सेवाको भावनासहित कुल २ लाख १ हजार रुपैयाँ सहयोग गरिएको अध्यक्ष डिएस भट्टराई ले बताउनुभयो ।सहयोग रकम सस्थापक सदस्य ढकबहादुर क्षेत्री बाट १ लाख रुपैयाँ, अन्य सदस्यहरूबाट १ लाख १ हजार रुपैयाँ गरि २ लाख १ हजार रुपैयाँ लायन्स इन्टरनेसनल डिस्टिक गर्भनर सन्दीप कसोधनलाइ हस्तान्तरण गरिएको हो ।
हाल देशका विभिन्न क्षेत्रमा बाढी, पहिरो र डुबानका कारण ठूलो जनधनको क्षति भइरहेको अवस्थामा विपद्मा परेका दाजुभाइ तथा दिदीबहिनीहरूको राहत, उद्धार तथा पुनर्स्थापनाका लागि सबैले हातेमालो गर्नुपर्ने क्लबले जनाएको छ। लायन्सको मूल भावना “We Serve” लाई आत्मसात् गर्दै विपद्को कठिन घडीमा पीडितहरूको साथमा उभिने प्रतिबद्धता क्लबले व्यक्त गरेको छ।
“साथ दिऔँ, सेवा गरौँ, विपद्को घडीमा आशाको किरण बनौँ” भन्ने सन्देशसहित लायन्स क्लब अफ बुटवल स्टार्सले आफ्नो सामाजिक उत्तरदायित्वलाई थप प्रभावकारी बनाउँदै विपद् पीडितको सहयोगमा योगदान गरेको हो। यस्ता मानवीय सहयोगले विपत्तिमा परेका परिवारलाई राहतसँगै आशा र हौसला प्रदान गर्ने विश्वास गरिएको छ।












