
देउखुरी, ६ माघ । लुम्बिनी प्रदेश सभामा पेश भएको प्रदेश आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि सैद्वान्तिक छलफल सकिएको छ । आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्कीले प्रदेश सभाको पाँचौं अधिवेशनको तेस्रो बैठकमा उक्त विधेयकमाथि सैद्वान्तिक छलफल गरियोस् भन्ने प्रस्ताव पेश गरेका थिए । सो प्रस्तावको छलफलमा तीनजना प्रदेश सभा सदस्यले भाग लिएका छन् ।
प्रदेश सभा सदस्य विष्णु पन्थीले बजेट निर्माणको कामलाई व्यवस्थित गर्नुपर्ने बताए । ‘बजेट बनाउँदा एकखाले अराजकता छ । त्यसलाई तोड्न जरुरी छ’उनले भने,‘प्रदेश सभा सदस्यलाई बढी जिम्मेवार बनाएर बजेट ल्याउँदा त्यसको कार्यान्वयन पक्ष बलियो हुन्छ
प्रदेश सभा सदस्य निमा गिरीले आर्थिक स्थायीत्व कायम गर्न विधेयकले दिशा प्रदान गर्ने बताइन । योजना निर्माणमा प्रदेश सभा सदस्यलाई जोड्न जरुरी छ’उनले भनिन्,‘बजेटमाथिको सैद्वान्तिक छलफलको समय एक महिना राखिनुपर्छ । यो विधेयकमा १५ दिन कायम गरिएको छ । प्रदेश आयोजना बैंकलाई प्रभावकारी बनाउने गरी विधेयकले समेट्नुपर्छ ।’
प्रदेश सभा सदस्य इन्द्रजीत थारुले प्रदेशको आर्थिक तथा वित्तीय अधिकारलाई कार्यान्वयन गर्ने गरी विधेयक आएको बताए । ‘योजना र बजेट निर्माणलाई प्रभावकारी बनाउन जरुरी छ । राजस्वको अनुमान र खर्चको अनुमान मिल्यो कि मिलेन समीक्षा गर्न जरुरी छ’उनले भने,‘अहिलेसम्म राजस्व र खर्चको अनुमान मिलेका देखिदैन । अब प्रि बजेटमाथिको छलफल गर्ने व्यवस्था गर्न जरुरी छ ।’उनले घाटा पूर्ति गर्ने स्रोत सुनिश्चित गरेर मात्रै बजेट ल्याउन सुझाव दिए । बैठकमा विशेष समयमा ६ जना प्रदेश सभा सदस्यले सम्बोधन गरे । उनीहरुले प्रदेश सरकारले दायित्व भुक्तानीलाई छिटो गर्नुपर्ने, छाडा पशु चौपायाको समस्या समाधान गर्न ठोस कार्यक्रम ल्याउनुपर्ने, विद्यालयमा विद्यार्थीमाथि शिक्षकले कुटपिट गरेर अंगभंग गराएका विषयहरु समेत उठाए प्रदेश सभा सदस्य रामजीप्रसाद घिमिरेले सरकारले सामाजिक अराजकतालाई न्यूनीकरण गर्ने गरी भूमिका बढाउनुपर्ने बताए । प्रदेश सभा सदस्य भगवती अधिकारीले विद्यालयमा विद्यार्थी कुटिने र अंगभंग भएकोघ घटनाको छानबीन गर्न माग राखिन । प्रदेश सभा सदस्य चन्द्रकेश गुप्ता (सि.के )ले सदनमा उठेका प्रश्न तथा सवालको जवाफ सरकारले दिनुपर्ने माग राखे ।प्रदेश सभा सदस्य नवराज लामिछानेले कपिलवस्तु क्षेत्रमा छाडा पशु चौपायाको समस्या अझैं समाधान हुन नसकेको सुनाए । प्रदेश सभा सदस्य यमबहादुर नेपालीले मानवीय विकासलाई प्राथमिकतामा राखेर कार्यक्रम तर्जुमा गर्न जोड दिए । प्रदेश सभा सदस्य निमा गिरीले आयोजना बैंकलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिइन् ।बैठकमा पाँचौं अधिवेशनबाट पारित भइ प्रदेश प्रमुखको कार्यालयबाट प्रमाणीकरण भएका विधेयक सम्बन्धी प्राप्त पत्र सभामुख तुलाराम घर्ती मगरले पढेर सुनाएका थिए । अब पाँचौं अधिवेशनको चौथो बैठक सोमवार दिउँसो १ बजे बस्नेछ ।