पाल्पा, ११,असार । रामपुर नगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि नीति तथा कार्यक्रम सहित ८४ करोड ९६ लाख २ हजार बराबरको बजेट सार्वजनिक गरेको छ । बुधबार नगर सभाको १९ औं अधिवेशन मार्फत बुधबार नीति तथा कार्यक्रम सहित बजेट सार्वजनिक गरेको हो ।
नगर सभामा विनियोजन विद्येयक र आर्थिक विद्येयक प्रस्तुत गर्दै उपप्रमुख बालकुमारी थापाले पूर्वाधार विकास, कृषि आधुनिकीकरण, रोजगारी सिर्जना, सामाजिक विकास, पर्यटन प्रवद्र्धन तथा डिजिटल सुशासनलाई केन्द्रमा राखेर बजेट विनियोजन गरिएको जानकारी दिनुभयो । विनियोजित बजेट मध्ये चालु खर्चमा ६० करोड १४ लाख ३४ हजार २०६ र पूँजिगत खर्च २४ करोड ८१ लाख ६८ हजार विनियोजन गरेको छ ।
जस मध्ये नगरपालिकाले संघीय समानिकरण अनुदान बाट १२ करोड २६ लाख, संघीय राजस्व बाँडफाँड बाट ११ करोड ४ लाख ५९ हजार, संघीय समपुरक पुँजीगत २ करोड ५९ लाख, संघीय सशर्त चालु तर्फ ३७ करोड ११ लाख, संघीय सशर्त पूँजिगत तर्फ ६९ लाख, प्रदेश समानिकरण अनुदान ८३ लाख ८८ हजार, प्रदेश राजस्व बाँडफाँड बाट १ करोड ४३ लाख ३० हजार, प्रदेश समपुरक १ करोड २० लाख, प्रदेश विशेष अनुदान २९ लाख, प्रदेश सशर्त चालु तर्फ १९ लाख २५ हजार, प्रदेश सशर्त पूँजिगत १ करोड ३० लाख र आन्तरिक स्रोत बाट १६ करोड आम्दानी जुटाउने लक्ष्य राखेको छ ।
जस मध्ये संघीय सरकार बाट हस्तान्तरण भएको कार्यक्रम ४० करोड ३९ लाख, प्रदेश बाट हस्तान्तरण भएको कार्यक्रम २ करोड ८९ लाख २५ हजार रहेको छ । नगरपालिका बाट बाँडफाँट हुने योजना तथा कार्यक्रमको बजेट ४१ करोड ६७ लाख ७७ हजार रुपियाँ मात्र रहेको छ । नगर बाट बाँडफाँड भएको बजेट मध्ये प्रशासनिक खर्चका लागि १७ करोड, नगरपालिकाले १० वटै वडालाई समान रुपमा ५०/५० लाख, विषयगत शाखाका लागि ३ करोड, नगर स्तरीय योजनाको लागि २ करोड ३७ लाख ७६ हजार, समपूरक योजना तथा साझेदारी कार्यक्रमका लागि ६ करोड, नगर स्तरीय खानेपानी व्यवस्थापनका लागि १० लाख, नगर गौशालामा घाँस तथा विरुवा उत्पादन व्यवस्थापनका लागि ११ लाख, वैकल्पिक उर्जा कार्यक्रमका लागि २० लाख, विपद् कोषका लागि ४० लाख, युवा स्वरोजगार कार्यक्रमलाई ४० लाख, सन्तान प्रोत्साहन कार्यक्रमका लागि ५ लाख, आमा घर सञ्चालन तथा व्यवस्थापनका लागि १० लाख, निस्दी खोलालाई माछा पकेट क्षेत्रको रुपमा विकास गर्न ३ लाख, सार्वजनिक जग्गा संरक्षणका लागि पाँच लाख, बालमैत्री शासन अबलम्बन कार्यक्रमका लागि ४५ लाख विनियोजन गरिएको उपप्रमुख थापाले जानकारी दिनुभयो ।
नगर सभामा रामपुर नगरपालिका प्रमुख रमण बहादुर थापाले नीति तथा कार्यक्रम प्रस्तुत गर्दै “सुखी समृद्ध, सुसंस्कृत शहर, समुन्नत रामपुर, हाम्रो रहर“ भन्ने मूल नारालाई आत्मसात गर्दै नगरपालिकाले समृद्ध रामपुर निर्माणका लागि बहुआयामिक योजना अघि सारेको बताउनुभयो । नगरपालिकाले सबै नागरिकलाई स्वच्छ खानेपानीको पहुँच पुर्याउने लक्ष्यसहित “एक घर–एक धारा” अभियानलाई पूर्णता दिने, ढल व्यवस्थापनलाई व्यवस्थित गर्दै “रामपुर नगर ढलरहित शहर” बनाउने अभियानलाई पनि निरन्तरता दिने, पूर्वाधार विकासलाई नगरको समृद्धिको आधार मानेर व्यवस्थित बस्ती विकास, भू–उपयोग क्षेत्र वर्गीकरण, नगर यातायात गुरुयोजनाअनुसार सडक सञ्जाल विस्तार, सडक सुरक्षाका उपाय तथा आधुनिक सडक पूर्वाधार निर्माणलाई प्राथमिकता दिने नीति लिने बताउनुभयो ।
युवालाई स्वदेशमै अवसर सिर्जना गर्न “मिसन रोजगारी” र “मिसन स्वरोजगार” कार्यक्रम अघि सारेको छ । वैदेशिक रोजगारबाट फर्किएका तथा बेरोजगार युवाहरूलाई सीप विकास तालिम, उद्यमशीलता प्रवद्र्धन, व्यवसाय दर्तामा शतप्रतिशत छुट तथा सहुलियतपूर्ण कर्जाका लागि सहजीकरण गरिने जनाइएको छ । शिक्षा क्षेत्रतर्फ “मेरो विद्यालय, मेरो दायित्व” अभियानलाई प्रभावकारी बनाइने भएको छ । विद्यालयमा ई–लर्निङ प्रणाली विस्तार गर्दै ‘ग्रीन स्कूल, क्लिन स्कूल’ अवधारणालाई लागू गरिने नीति लिएको छ ।
पर्यटन प्रवद्र्धनका लागि “गाउँमै पाहुना, घरमै आम्दानी” अभियान अन्तर्गत होमस्टे विकासलाई प्रोत्साहन गरिनेछ । कालिगण्डकी नदी किनारमा पैदलमार्ग तथा साइकलिङ करिडोर निर्माण गरिने भएको छ । साथै रामपुरलाई धार्मिक तथा सांस्कृतिक पर्यटनको केन्द्रका रूपमा विकास गर्न रामायण सर्किट र वैदिक स्मार्ट सिटी अवधारणालाई अगाडि बढाइने जनाइएको छ । थापाले नगरवासीको सर्वाङ्गङ्गीण विकास संगै समृद्धि सुशासन सेवा प्रवाहका साथ तिव्र विकासको संकल्प सहित नीति तथा कार्यक्रम ल्याएको बताउनुभयो । विगतका केही कार्यक्रमलाई निरन्तरता संगै अन्य थप योजना अघि सारेको जानकारी दिनुभयो । नगरपालिकाले नीति तथा कार्यक्रममा उत्पादन वृद्धिका लागि ‘कृषि उत्पादकत्व वृद्धिः रामपुरको समृद्धि’को नारा अघि सारेको छ ।
सभामा लेखा समितिका संयोजक तेज बहादुर राना, अनुगमन तथा सुशासन समितिका संयोजक मोहन बहादुर राना र न्यायिक समितिका सदस्य खेमराज अधिकारीले आफ्नो मातहतका समितिको प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । विद्यायन समितिका संयोजक मिन बहादुर सिंजालीले राजस्व प्रशासन सम्बन्धी विधेयक प्रस्तुत गर्नु भएको थियो । सभामा नगर प्रवक्ता एवं वडा नं. १ का वडा अध्यक्ष कपिल बहादुर खाँण, वडा नं.–७ का वडा अध्यक्ष दोवराज तिवारीले शुभकामना मन्तव्य राख्नु भएको थियो ।
साथै सभाको शुन्य समय, विशेष समय र छलफलमा वडा नं. १० का वडा अध्यक्ष तोयानाथ सारु थापा, वडा नं. ८ का वडा अध्यक्ष दिनेश आचार्य, रामपुर ६ का वडा सदस्य हरिनाथ ढुङ्गाना, वडा नं. ४ का वडा सदस्य मोहम्मद अजिम शेख, वडा नं. ७ का वडा सदस्य मिन बहादुर सिंजाली, मिठ्ठु माया सुनार लगाएतले समसामयिक विषय, नीति तथा कार्यक्रम र बजेटको विषयमा आफ्नो राय पेश गर्नु भएको थियो । सभामा पेश भएको नीति तथा कार्यक्रम, आर्थिक विद्येयक, विनियोजन विद्येयक र विभिन्न समितिका प्रतिवेदन थप छलफल पश्चात सर्वसम्मत रुपमा पारित भएको प्रमुख प्रशासकिय अधिकृत सूर्यदर्शन पण्डितले जानकारी दिनुभयो ।सभामा विभिन्न क्षेत्रबाट योगदान पुर्याउने व्यक्तिहरुलाई सम्मान समेत गरेको छ । नगर सभाको १९ औं अधिवेशनको अवसरमा बुधबार जिल्लामा क्रियाशील चार जना पत्रकार सहित उत्कृष्ट कर्मचारी, उत्कृष्ट करदाता, विद्यार्थी, खेलाडी र प्रशिक्षकलाई सम्मान गरेको हो ।
सञ्चारकर्मीहरु तर्फ कान्तिपुर मिडिया ग्रुपका उपसम्पादक माधव प्रसाद अर्याल, सार्वजनिक सेवा प्रशारण (नेपाल टेलिभिजन) का पाल्पा संवाददाता सुनिल कार्की, बोलीखबर डटकमका सम्पादक बन्दना पोखरेल र पृथ्वी टेलिभिजनका व्यवस्थापक कृष्ण प्रसाद पौडेललाई नगद १० हजार रुपियाँ, प्रशंसा पत्र र मायाँको चिनो सहित सम्मान गरेको हो । पत्रकारिता मार्फत नगरको पहिचान, गरिमा र विकासका गतिविधिहरुलाई उजागरमा पुर्याएको योगदानको उच्च मुल्याङ्कन गर्दै सम्मान गरेको रामपुर नगरपालिकाले जनाएको छ ।
नगर सभाको अवसरमा २०८२ को माध्यमिक शिक्षा परीक्षा एसईईमा चार जिपीए ल्याउन सफल दरैठाँटी माविका अभिषा भट्टराई र दिव्या भण्डारी, रामतुलसी माविका आकृती बाकाबल र संगम ढेंगा सम्मान गरेको थियो । आर्थिक वर्ष २०८२/०८३ को उत्कृष्ट करदाता मुक्ति प्रसाद भट्टराईलाई सम्मान प्रदान गरेको छ । यस्तै राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलहरुमा सहभागी नगरभित्रका खेलाडीहरुलाई पनि सम्मान गरिएको थियो ।
भलिबल प्रशिक्षक कमल राना, यु–१९ दोस्रो काभा महिला भलिबल च्याम्पियनसिप २०२५ का उपविजेता राष्ट्रिय टिमका खेलाडी विनिता राना, यु– १३ फुटबल खेलाडी पुस्कल रेग्मीएनएसकेए इन्टरनेश्नल कराते च्याम्पियनसिपमा यु – १६, ५० केजी तौल समुहमा स्वर्ण पदक विजेता जिसान सिद्धिकीलाई सम्मान गरेको हो । नगरपालिकामा कार्यरत कर्मचारीहरु मध्ये उत्कृष्ट कर्मचारीहरुलाई पनि सम्मान गरिएको थियो ।
पालिकाले वरिष्ठ इन्जिनियर रन्जन न्यौपाने, सिनियर अहेव विजिता फाल, कृषि प्राविधिक युवराज नेपाली, नगर प्रहरी तुल बहादुर थापा र सवारी चालक सीताराम आचार्यलाई सम्मान गरेको हो । नगर प्रमुख रमण बहादुर थापा, उपप्रमुख बालकुमारी थापाले सम्मानित सबैलाई नगद १० हजार सहित प्रशंसा पत्र र मायाँको चिनो सहित सम्मान गर्नु भएको थियो ।
रामपुर नगरपालिका प्रमुख प्रशासकिय अधिकृत सुर्य दर्शन पण्डितले सूचना वाचन पश्चात सुरु भएको नगर सभा रामपुर ३ का वडा अध्यक्ष दामोदर पाठकको स्वागत बाट सुरु भएको थियो । वडा नं. ५ का वडा अध्यक्ष दुर्गा प्रसाद पोखरेलले शुभकामना सहितको धन्यवाद मन्तव्य राख्नु भएको थियो । कार्यक्रमको सञ्चालन प्रमुख प्रशासकिय अधिकृत सुर्य दर्शन पण्डितले गर्नु भएको हो ।












