रुपन्देही व्यापार संघ आजिवन परिषद् संयोजकमा ऋषिबहादुर भण्डारी

  • बुटवल २८ जेष्ठ । रुपन्देही व्यापार संघ आजिवन परिषद्को संयोजकमा ऋषिबहादुर भण्डारी चयन हुनुभएको छ । विहिबार संघको सचिवालयमा सम्पन्न संघमा आबद्ध आजिवन सदस्यहरुको भेलाबाट भण्डारी संयोजक पदमा चयन हुनुभएको हो । यस्तै भेलाबाट आजिवन परिषद्को सह–संयोजकमा झविन्द्र अधिकारी, सदस्यहरुमा टंकप्रसाद तिवारी, यमकान्त गैरे र लोकनाथ पाण्डे रहनुभएको छ । भेलामा आजिवन परिषद् संयोजक ऋषिबहादुर भण्डारीले आफ्नो कार्यकालमा संघलाई थप मजबुद बनाउन भूमिका खेल्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । रुपन्देही व्यापार संघको विधान बमोजिम संस्थागत विकास र व्यवसायीहरुलाई थप गति दिन आजिवन परिषद् समिति गठन गर्ने व्यवस्था रहेको छ । कार्यक्रमकै अवसरमा संघका अध्यक्ष प्रकाश ढकालले संघले हालसम्म गरेका गतिविधिहरु जानकारी गराउँदै संघले आगामी दिनमा गर्न सकिने कार्यक्रमहरुका सन्र्दभमा आजिवन सदस्यहरुको राय सुझाव संकलन गरिएको बताउनुभयो ।
    कार्यक्रममा संघका पूर्व अध्यक्ष एवं लुम्बिनी प्रदेश चेम्बर अफ कमर्सका अध्यक्ष टंकप्रसाद पोखरेलले संस्थाको स्थापना कालदेखि नै संघको स्तरवृद्धिमा आजिवन सदस्यहरुको महत्वपूर्ण भूमिका रहेको स्मरण गर्दै आगामी दिनहरुमा पनि निरन्तर रहने कुरामा विश्वास व्यक्त गर्नुभयो । यस्तै संघका पूर्व अध्यक्ष यमलाल लोहनीले संस्थालाई आजिवन सदस्यहरुको निरन्तर सल्लाह सुझावको अपेक्षा गर्दै संस्थाको सुदृढ विकासमा सदैव भूमिका रहने कुरामा जोड दिनुभयो । संघको विधानको व्यवस्था बमोजिम १५१ जना आजिवन सदस्य रहने प्रावधान बमोजिम हाल १२५ जना आजिवन सदस्य रहनुभएको छ । कार्यक्रममा संघका आजिवन सदस्य होमराज बस्याल, प्रदिपप्रसाद पन्त, लोकनाथ पाण्डे, झविन्द्र अधिकारी, चन्द्रमणि अधिकारी, ऋषिबहादुर भण्डारी, टंकप्रसाद तिवारी, शंकर ज्ञवाली, केशव ज्ञवाली, नामदेव पाण्डे, यमकान्त गैरे, वजिर शाह, ओमलाल पोखरेल, अर्जुन भट्टराई, जयलाल न्यौपाने, धर्मदत्त ज्ञवाली, वृन्दा भट्टराई आचार्य, जिवनारायण घिमिरे, फर्सुराम पन्त, केदारनाथ नेपाल, शोभाकुमारी जोशी, इशु देवकोटा, टेकराज पन्थी, गोविन्द चापागाई, प्रेमनाथ पाण्डे, मनिराम खनाल, माधव ज्ञवाली, विजय ज्ञवाली लगायतले बोल्दै रुपन्देही क्षेत्रको व्यापार व्यवसायीको संरक्षण र नीतिगत सुधारका लागि कार्यसमितिलाई आवश्यक सुल्लाह र सुझाव दिंदै संघले शिक्षा र स्वास्थ्यसँगै पर्यटनको क्षेत्रमा पनि ध्यान दिनुपर्ने कुरामा जोड दिनुभएको थियो । कार्यक्रम संघका अध्यक्ष प्रकाश ढकालको अध्यक्षता, वरिष्ठ उपाध्यक्ष दयानिधि भण्डारीको स्वागत तथा महासचिव प्रकाशराज पौडेलको संचालनमा सम्पन्न भएको थियो ।

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    © 2026 Khabar Khata All right reserved Site By : Himal Creation