बुटवल ,२० असोज । लायन्स अन्तर्राष्ट्रिय डिस्ट्रिक्ट ३२५ पी, नेपालको आयोजनामा पहिलो पटक १० दिने ‘लायन्स इन्टरनेसनल युथ एक्सचेन्ज क्याम्प’ भव्यताका साथ सम्पन्न भएको छ। नेपालमै पहिलो पटक आयोजना गरिएको यस ऐतिहासिक युथ क्याम्पमा पोल्यान्ड, डेनमार्क, बेल्जियम, क्यानाडा, इटाली, अस्ट्रेलिया, इन्डोनेसिया र आयोजक नेपाल गरी आठवटा राष्ट्रहरूका कुल १५ जना युवाहरूको सहभागिता रहेको थियो।
अन्तर्राष्ट्रिय युवाहरूलाई नेपालको मौलिक संस्कार, संस्कृति, भेषभूषा र बहुसांस्कृतिक पक्षहरूसँग साक्षात परिचय गराउने तथा युवाहरूबीच विश्वबन्धुत्वको भावना अभिवृद्धि गर्ने उद्देश्यका साथ यो कार्यक्रम डिजाइन गरिएको थियो। यस क्याम्पले नेपाली युवाहरूका लागि पनि अन्तर्राष्ट्रिय मञ्चमा जोडिने र वैदेशिक युवाहरूसँग अनुभव आदानप्रदान गर्ने उत्कृष्ट अवसरको ढोका खोलेको छ।
कार्यक्रमका चेयरपर्सन लायन सगुन ढाकवा ज्यूका अनुसार नेपालमा यस प्रकारको अन्तर्राष्ट्रिय युथ क्याम्प पहिलो पटक आयोजना हुनु सम्पूर्ण डिस्ट्रिक्टका लागि गौरवको विषय हो। हाम्रो समृद्ध संस्कृति र परम्परालाई विश्वसामु चिनाउन र युवाहरूबीच अनुभव आदानप्रदान गराउन यो क्याम्प पूर्ण रूपमा सफल भएको जानकारी उहाँले गराउनुभयो।
उक्त कार्यक्रमको सम्पूर्ण व्यवस्थापनमा डिस्ट्रिक्टका सम्पूर्ण अफिसरहरूले सक्रिय सहयोग गरेका थिए।
यसै क्रममा डिस्ट्रिक्ट ३२५ पी का डिस्ट्रिक्ट गभर्नर सन्दीप कसौधनज्यूले यो कार्यक्रम आफ्नो बहुप्रतीक्षित ुड्रिम प्रोजेक्टु ९म्चभबm एचयवभअत० रहेको र यो यति भव्य एवं सफल हुनुमा प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग गर्ने सम्पूर्ण सहयोगी दाताहरूप्रति विशेष धन्यवाद व्यक्त गर्नुभयो। गभर्नर कसौधनज्यूले भन्नुभयो, ूनेपालमा यस्ता कार्यक्रमहरू आयोजना गर्दा विश्वसामु नेपाली युवाहरूलाई परिचित गराउनुका साथै विश्वका विभिन्न अन्तर्राष्ट्रिय मञ्चहरूमा नेपाल र नेपालीको पहिचान तथा शानलाई उच्च राखेर अगाडि बढाउन ठूलो सहयोग पुग्नेछ।ू
साथै, उहाँले यस कार्यक्रमलाई भव्य रूपमा सफल बनाउन सहयोग पुर्याउनुहुने नेपालका सम्पूर्ण लायन्स लिडर्सज्यूहरू, सरकारी निकायका प्रतिनिधि एवं जनप्रतिनिधिज्यूहरू, सम्पूर्ण कोअर्डिनेटरज्यूहरू तथा पूर्व एवं वर्तमान डिस्ट्रिक्ट गभर्नरज्यूहरूप्रति हार्दिक आभार तथा धन्यवाद प्रकट गर्नुभएको छ।
१० दिनसम्म चलेको यस क्याम्पको समापनसँगै सहभागी विदेशी युवाहरूले नेपाली आतिथ्यता र संस्कृतिको भूरिभूरि प्रशंसा गर्दै यहाँ प्राप्त अनुभवलाई आफ्नो देशमा गएर प्रवर्द्धन गर्ने प्रतिबद्धता जनाएका छन्।












