बुटवल ,१८ असोज । युवाको ऐक्यबद्धता, रक्तदानमा नयाँ पाइला’ भन्ने मूल उद्देश्यका साथ पहिलो पाइला नेपाल, बुटवल शाखाले सदाका वर्षहरूमा जस्तै यस वर्ष पनि बृहत् रक्तदान कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको छ। पछिल्लो समय देखा परेको रगत अभावलाई सम्बोधन गर्न र विशेष गरी युवा पुस्तालाई रक्तदानप्रति आकर्षित गर्ने लक्ष्यका साथ यो कार्यक्रम आयोजना गरिएको हो।
पहिलो पाइला नेपाल बुटवल शाखाका अध्यक्ष गौरव खनालको अध्यक्षता तथा कार्यवाहक सचिव रक्षा न्यौपानेको संचालनमा सम्पन्न उक्त कार्यक्रमको संयोजकत्व कार्यसमिति सदस्य प्रकाश जी.सी.ले गर्नुभएको थियो।
कार्यक्रममा नियमित रक्तदाता समाजका अध्यक्ष अशिष सिलवाल प्रमुख अतिथिका रूपमा रहनुभएको थियो। त्यसैगरी, पहिलो पाइला नेपालका केन्द्रीय कार्यसमिति सदस्य एवं बुटवल शाखाका पूर्व अध्यक्ष सन्तोष भण्डारी, केन्द्रीय कार्यसमिति सदस्य तथा सचिवालय सदस्य राजन अधिकारी, केन्द्रीय सदस्य सन्तोष खरेल, टाकाबाङ रुपन्देही सम्पर्क समाजका सचिव शिव खनालका साथै संस्थाका सल्लाहकारद्वय अनुपमान सैजु र गंगाधर न्यौपाने लगायतका अतिथिहरूको विशिष्ट उपस्थिति एवं आसन ग्रहण रहेको थियो।
नेपाल रेडक्रस सोसाइटी रुपन्देहीको प्राविधिक सहजीकरणमा सम्पन्न उक्त कार्यक्रमबाट ४० पिन्टभन्दा बढी रगत संकलन भएको छ। कार्यक्रमको मुख्य आकर्षण भनेको नयाँ तथा प्रथम पटक रक्तदान गर्ने युवाहरूको उल्लेख्य सहभागिता रहनु हो, जसअन्तर्गत २५ जना नयाँ (फ्रेस) रक्तदाताहरूबाट रगत संकलन गरिएको छ।
शाखाका पदाधिकारी, कार्यसमिति सदस्यहरू तथा स्थानीय युवाहरूको उत्साहजनक उपस्थितिले कार्यक्रम भव्य रूपमा सफल भएको थियो। युवाहरूलाई समाजसेवा र मानवीय कार्यमा जोड्दै आगामी दिनमा पनि यस्ता सामाजिक तथा जीवनरक्षक अभियानहरूलाई निरन्तरता दिइने प्रतिबद्धता आयोजक पक्षले व्यक्त गरेको छ।












