काठमाडौं,१८ असोज । विश्वका प्रगतिशील एवं समाजवादी विचार पक्षधर श्रमिकहरूको अन्तर्राष्ट्रिय केन्द्र विश्व ट्रेड युनियन महासंघ (डब्लूएफटीयू)को ८१औँ स्थापना दिवसका अवसरमा विश्व ट्रेड युनियन महासंघ समन्वय समिति नेपालले विचार गोष्ठी आयोजना गरेको छ।
‘विज्ञान र प्रविधिको विकास–श्रमिक वर्ग र ट्रेड युनियन अधिकार’ विषयमा आयोजित गोष्ठीमा डब्लूएफटीयू समन्वय समिति नेपालका संयोजक तथा पेशागत महासंघ नेपालका अध्यक्ष प्रेमल कुमार खनालले सभापतित्व गर्दै कार्यपत्र प्रस्तुत गर्नुभएको थियो।
कार्यपत्र प्रस्तुत गर्दै खनालले विज्ञान तथा प्रविधिको विकास मानव जातिको हितमा केन्द्रित हुनुपर्नेमा जोड दिनुभयो। उहाँले प्रविधिको विकाससँगै श्रमजीवी वर्गको काम तथा रोजगारी सुनिश्चित हुनुपर्ने र शिक्षा, स्वास्थ्य, सुरक्षित आवास, स्वस्थ खाद्यान्न, खानेपानी तथा सामाजिक सुरक्षाको सुनिश्चितता आवश्यक रहेको बताउनुभयो।
खनालले विश्वमा युद्ध र द्वन्द्वभन्दा आर्थिक तथा सामाजिक विकासलाई प्राथमिकता दिनुपर्ने उल्लेख गर्दै श्रमिकका अधिकार संरक्षणका लागि एकताबद्ध संघर्ष आवश्यक रहेको बताउनुभयो।
कार्यक्रमका प्रमुख अतिथि पूर्व विज्ञान, प्रविधि तथा वातावरणमन्त्री एवं ट्रेड युनियन आन्दोलनका अग्रज नेता गणेश शाहले विज्ञान तथा प्रविधिको विकाससँगै नवप्रवर्तनमा समेत जोड दिनुपर्ने बताउनुभयो। उहाँले बदलिँदो प्रविधिको उपयोगलाई उत्पादन, रोजगारी र सामाजिक विकाससँग जोड्नुपर्ने धारणा राख्नुभयो।
त्यस्तै, ट्रेड युनियन आन्दोलनका अग्रज नेता तथा अखिल नेपाल ट्रेड युनियन महासंघ (अन्टुक)का संस्थापक भैरव रेग्मीले श्रमिक तथा मजदुरका ट्रेड युनियन अधिकारमाथि विभिन्न प्रकारका नियन्त्रणका प्रयास भइरहेको बताउनुभयो। उहाँले लोकतान्त्रिक मूल्य, मान्यता र मर्मअनुकूल श्रमिक अधिकारको संरक्षणका लागि सबै क्षेत्रका श्रमिक तथा मजदुरहरू थप सचेत, सक्रिय र एकताबद्ध हुनुपर्नेमा जोड दिनुभयो।
रेग्मीले श्रमिकका हकअधिकारको संरक्षणका लागि वैचारिक नेतृत्वदायी भूमिका निर्वाह गर्न डब्लूएफटीयू समन्वय समिति नेपाललाई आग्रह गर्नुभयो।
कार्यक्रममा डब्लूएफटीयू लिगल कमिटीका सदस्य तथा वरिष्ठ अधिवक्ता शंकर सुवेदीले ट्रेड युनियन अधिकारका क्षेत्रमा विभिन्न चुनौती देखिएको भन्दै ट्रेड युनियनहरूबीच सहकार्य र एकता आवश्यक रहेको बताउनुभयो। उहाँले एकताबद्ध ट्रेड युनियन आन्दोलनको विकासमा जोड दिनुपर्ने धारणा राख्नुभयो।
कार्यक्रममा ट्रेड युनियन नेताहरू विश्वनाथ प्याकुरेल, रामकुमार वान्तवा, भोला पोख्रेल, आमोद श्रेष्ठ, चिरागमान सिंह कुँवरलगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो। कार्यक्रमको सञ्चालन लालबहादुर पाख्रिनले गर्नुभएको थियो भने स्वागत मन्तव्य मणिरत्न श्रेष्ठले दिनुभएको थियो।
गोष्ठीमा डब्लूएफटीयूमा आबद्ध विभिन्न महासंघका अध्यक्ष तथा महासचिव, डब्लूएफटीयू समन्वय समिति नेपालका पदाधिकारी तथा ट्रेड युनियन आन्दोलनमा सक्रिय श्रमिक, मजदुर तथा पेशाकर्मीहरूको सहभागिता रहेको थियो।
विश्व ट्रेड युनियन महासंघ (डब्लूएफटीयू)को स्थापना सन् १९४५ अक्टोबर ३ मा फ्रान्सको राजधानी पेरिसमा भएको हो। श्रमिकहरूको ट्रेड युनियन अधिकार सुनिश्चित गर्ने, उचित ज्याला तथा पारिश्रमिक र सामाजिक सुरक्षा सुनिश्चित गर्ने, फाँसीवाद, नाजीवाद तथा साम्राज्यवादको विरोध गर्ने र हरेक देशका प्राकृतिक स्रोत–साधनको संरक्षणसहित राष्ट्रिय सार्वभौमिकता सुनिश्चित गर्ने उद्देश्यसहित महासंघ स्थापना भएको आयोजकले जनाएको छ।
प्रेस विज्ञप्तिअनुसार डब्लूएफटीयूमा हाल करिब १० करोड ५० लाख श्रमिक आबद्ध छन्। महासंघअन्तर्गत सार्वजनिक सेवा, बैंक तथा वित्तीय क्षेत्र, ऊर्जा, निर्माण, होटल तथा पर्यटन, खानी तथा खनिज, छालाजन्य उद्योग तथा सेवा निवृत्त पेन्सनधारी श्रमिकलगायत विभिन्न क्षेत्रका ११ वटा अन्तर्राष्ट्रिय ट्रेड युनियन केन्द्र आबद्ध रहेका छन्।












