चितवन, २२ भदौ । सञ्चारलाई केवल पेशा नभई समाजसँग जोडिने माध्यमका रूपमा अघि बढाउँदै आएका चितवनका सञ्चारकर्मी पूर्णबहादुर मगरको एक दशक लामो सञ्चार यात्राले अन्तर्राष्ट्रिय सम्मानको उचाइ प्राप्त गरेको छ। कला तथा संस्कृतिको माध्यमबाट नेपाल–भारत सम्बन्धलाई थप प्रगाढ बनाउने उद्देश्यले आयोजित इन्टरनेशनल एक्सिलेन्सी अवार्ड–२०२६ अन्तर्गत मगरलाई ‘आउटस्ट्यान्डिङ प्रेस एण्ड पब्लिक रिलेसन अवार्ड’ प्रदान गरिएको हो।
काठमाडौंस्थित राष्ट्रिय नाचघरमा शनिबार साँझ आयोजित समारोहमा पूर्वउपप्रधानमन्त्री उपेन्द्र यादवले मगरलाई अवार्ड प्रदान गरे। नेपालसहित भारत, बंगलादेश र भुटानका विभिन्न क्षेत्रमा योगदान पुर्याएका व्यक्तित्वलाई ५० विधामा सम्मान गरिएको समारोहमा सञ्चार तथा जनसम्पर्क क्षेत्रमा मगरले पुर्याएको योगदानको कदर गरिएको हो।
रेडियोको माइक्रोफोनबाट सुरु भएको मगरको सञ्चार यात्रा अहिले स्थानीय सरकारको प्रेस तथा जनसम्पर्क व्यवस्थापनसम्म आइपुगेको छ। विगत एक दशकदेखि रेडियो पत्रकारितामा सक्रिय मगरले समुदायका आवाज, सार्वजनिक सरोकार र स्थानीय गतिविधिलाई सञ्चारमाध्यममार्फत प्रस्तुत गर्दै आएका छन्।
सञ्चार क्षेत्रमा काम गर्ने क्रममा प्राप्त अनुभवलाई उनले पछिल्लो समय स्थानीय सरकारको सूचना तथा जनसम्पर्क व्यवस्थापनमा प्रयोग गर्दै आएका छन्। २०७९ सालको स्थानीय तह निर्वाचनपछि उनी राप्ती नगरपालिकाका नगर प्रमुख शमशेर लामाको प्रेस संयोजक तथा सचिवालयमा जिम्मेवारी सम्हाल्दै आएका छन्।
नगर प्रमुखको सचिवालयमा रहेर मगरले जनप्रतिनिधि र सञ्चारमाध्यमबीच समन्वय गर्ने, नगरपालिकाका गतिविधि तथा सूचनालाई आमनागरिकसम्म पुर्याउने तथा सार्वजनिक गतिविधिको सञ्चार व्यवस्थापनमा भूमिका निर्वाह गर्दै आएका छन्। पत्रकारिताबाट हासिल गरेको अनुभवलाई सार्वजनिक संस्थाको सञ्चार व्यवस्थापनसँग जोड्नु उनको पेशागत यात्राको महत्वपूर्ण पक्ष बनेको छ।
मगरको व्यक्तित्वको अर्को महत्वपूर्ण पक्ष भनेको सञ्चार र जनसम्पर्कलाई जोडेर काम गर्ने शैली हो। पत्रकारिताको आधारभूत अनुभवसँगै स्थानीय सरकारको प्रेस संयोजनको जिम्मेवारीले उनलाई सञ्चारमाध्यम, जनप्रतिनिधि र नागरिकबीचको सम्बन्धलाई नजिकबाट बुझ्ने अवसर दिएको छ।
लामो समयदेखि सञ्चार क्षेत्रमा सक्रिय रहेका मगरका लागि प्राप्त अवार्ड व्यक्तिगत सम्मान मात्र नभई आफूले रोजेको पेशागत यात्राको मूल्यांकनसमेत हो। अन्तर्राष्ट्रिय समारोहमा नेपालसहित विभिन्न देशका विशिष्ट व्यक्तित्वसँगै सम्मानित हुनुले उनको सञ्चार यात्रालाई थप पहिचान दिएको छ।
अवार्ड ग्रहणपछि मगरले सम्मानलाई समुदायमा सञ्चारको माध्यमबाट गर्दै आएको सेवाको प्रतिफलका रूपमा लिएको बताए।
“सञ्चारको माध्यमबाट समुदायका लागि गर्दै आएको कामको प्रतिफलका रूपमा यो सम्मानलाई लिएको छु। विभिन्न देशका विशिष्ट व्यक्तित्वसँगै सम्मानित हुन पाउनु मेरा लागि गौरवको विषय हो। यसले आगामी दिनमा अझ जिम्मेवार भएर काम गर्न प्रेरणा दिएको छ,” उनले भने।
मगरका लागि यो सम्मान यात्राको अन्त्य होइन, सञ्चारमार्फत समाजसँग जोडिने यात्रामा थप जिम्मेवारीको सुरुवात हो। रेडियो पत्रकारिताबाट सुरु भएको उनको यात्रा अहिले प्रेस संयोजन र सार्वजनिक सम्बन्ध व्यवस्थापनसम्म विस्तार भएको छ। प्राप्त अन्तर्राष्ट्रिय सम्मानले उनको यही यात्रालाई थप उत्साह र पहिचान दिएको छ।
सञ्चार क्षेत्रमा निरन्तरता, स्थानीय तहको प्रेस व्यवस्थापनमा सक्रियता र जनसम्पर्कलाई प्रभावकारी बनाउने भूमिकाका कारण पूर्णबहादुर मगर अहिले चितवनको सञ्चार क्षेत्रमा आफ्नो छुट्टै परिचय बनाउन सफल सञ्चारकर्मीका रूपमा स्थापित हुँदै गएका छन्।












