रारा कृषि सहकारी संस्थाको १८औँ वार्षिक साधारणसभा सम्पन्न, विभिन्न विधामा उत्कृष्ट सदस्य सम्मानित

  • रुपन्देही,२१ भदौ । रारा कृषि सहकारी संस्था लिमिटेडको १८औँ वार्षिक साधारणसभा तथा सदस्य सम्मान कार्यक्रम जोगीकुटीस्थित दरबार लन पार्टी प्यालेसमा सम्पन्न भएको छ। संस्थाका अध्यक्ष भूपेन्द्र अर्यालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा निवर्तमान अध्यक्ष भीमकान्त पन्थी प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो। कार्यक्रमको सञ्चालन संस्थाका सचिव यशोधा खरेलले गर्नुभएको थियो।
    साधारणसभाका अवसरमा संस्थाले विभिन्न क्षेत्रमा उत्कृष्ट योगदान तथा उपलब्धि हासिल गर्ने सदस्य तथा सदस्यका छोराछोरीलाई सम्मान गरेको छ। कृषि तथा पशुपालन क्षेत्रमा उत्कृष्ट कार्य गर्ने, कक्षा १२ मा उत्कृष्ट अंक ल्याउने सेयर सदस्यका छोराछोरी, असल महिला तथा पुरुष ऋणी, उत्कृष्ट बचतकर्ता र संस्थामा नयाँ सदस्य प्रवेश गराउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने सिफारिसकर्तालगायत विभिन्न विधामा उत्कृष्ट हुने सदस्यलाई सम्मान गरिएको हो।

    संस्थाले सामाजिक उत्तरदायित्वअन्तर्गत भोटेकोशी क्षेत्रमा आएको बाढीबाट प्रभावित नागरिकको राहतका लागि रु. १ लाख ११ हजार १ सय ११ रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय गरेको छ। साथै बाढीका कारण ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली तथा प्रभावित परिवारप्रति समवेदना व्यक्त गर्दै सभाबाट शोक प्रस्तावसमेत पारित गरिएको थियो।

    साधारणसभाले रु. १२ करोड ५० लाख बराबरको वासलात समेटिएको आर्थिक प्रतिवेदन अनुमोदन गरेको छ। त्यस्तै, संस्थाले हालसम्म गरेका कार्यहरूको समीक्षा गर्दै आगामी दिनमा सञ्चालन गरिने कार्यक्रम तथा गतिविधि समेटिएको संस्थागत प्रतिवेदन र भावी कार्ययोजनासमेत अनुमोदन गरेको छ।

    सभामा संस्थाको आर्थिक अवस्था, सदस्य सेवा, संस्थागत उपलब्धि तथा आगामी योजनाबारे छलफल गरिएको थियो। सहभागी वक्ताहरूले संस्थाको विकाससँगै सदस्यहरूको आर्थिक तथा सामाजिक हितलाई प्राथमिकतामा राख्दै सहकारीलाई थप प्रभावकारी र सदस्यकेन्द्रित बनाउँदै अघि बढ्नुपर्नेमा जोड दिएका थिए।

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    © 2026 Khabar Khata All right reserved Site By : Himal Creation