मर्चवार,१३ असार ।रुपन्देहीको सम्मरीमाई गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि ५९ करोड ५३ लाख ८१ हजार रुपैयाँको बजेट पारित भएको छ । कृषि, स्वास्थ्य र भौतिक पूर्वाधारलाई केन्द्रमा राख्दै प्रस्तुत बजेटमा स्वास्थ्य सेवा विस्तार, किसान कार्ड लागू तथा नयाँ अस्पताल निर्माणलगायतका महत्वाकांक्षी योजना समेटिएका छन्। गाउँपालिका उपाध्यक्ष कुमारी प्रियंका शाही सिंहले प्रस्तुत बजेटमध्ये ३७ करोड ३७ लाख रुपैयाँ चालुतर्फ र २२ करोड १६ लाख रुपैयाँ पूँजीगततर्फ विनियोजन गरिएको छ।
बजेटका लागि आन्तरिक राजस्व, गत आर्थिक वर्षको अनुमानित बचत, संघीय तथा प्रदेश सरकारबाट प्राप्त हुने राजस्व बाँडफाँड, वित्तीय समानीकरण, सशर्त, विशेष तथा समपूरक अनुदान तथा अन्य राजस्व स्रोतहरूबाट आवश्यक रकम जुटाइने अनुमान गरिएको छ।
गाउँसभालाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष विनोद कुमार श्रीवास्तवले कृषि, स्वास्थ्य र भौतिक पूर्वाधारलाई प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम तयार गरिएको बताउनुभयो। उहाँका अनुसार स्वास्थ्य सेवाको गुणस्तर सुधार गर्न स्वास्थ्य संस्थाहरूलाई थप व्यवस्थित बनाइनेछ।
अध्यक्ष श्रीवास्तवले साउन १ गतेदेखि वडा नम्बर ५ स्थित आँखा अस्पताल नयाँ भवनबाट सञ्चालन गरिने, वडा नम्बर ७ को स्वास्थ्य चौकीमा प्रसूति सेवा सुरु गरिने तथा वडा नम्बर २ मा १५ शैयाको अस्पतालको शिलान्यास गरिने जानकारी दिनुभयो। साथै कृषकलाई सहज, नियमित र समान सेवा उपलब्ध गराउन किसान कार्ड लागू गरिने योजना पनि सार्वजनिक गर्नुभयो।
गाउँपालिकाले पशु सेवा, सहकारी, वित्तीय क्षेत्र, सामाजिक विकास, साहित्य, कला, संस्कृति तथा पर्यटन, युवा तथा खेलकुद, महिला तथा बालबालिका, ज्येष्ठ नागरिक, लैंगिक समानता, न्यायिक समिति, आयुर्वेद, वातावरण तथा विपद् व्यवस्थापन, खानेपानी तथा सरसफाइ, भौतिक विकास, सुशासन, रोजगार, लघु उद्यम, सुरक्षित आप्रवासन (सामी) कार्यक्रम तथा राष्ट्रिय परिचयपत्र र पञ्जीकरणलगायत क्षेत्रलाई पनि आगामी वर्षका नीति तथा कार्यक्रममा समेटेको छ।
कार्यक्रममा वडा नम्बर १ का वडाध्यक्ष शिवकुमार यादवले छाडा चौपायाको व्यवस्थापनका लागि गाउँपालिकाले स्पष्ट नीति ल्याउनुपर्ने आवश्यकता औँल्याउनुभयो। उहाँले किसानको बालीमा भइरहेको क्षति रोक्न गौशाला निर्माण गरी समस्या समाधान गर्न आग्रह गर्नुभयो।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेश मल्लाह जानकारी दिनु भयो ।












