नेपाललाई शान्ति क्षेत्र घोषणा गरौं : रवि किरण हमाल

  • काठमाडौं,२८ बैशाख । राष्ट्रिय जेनजी नागरिक अभियानले आयोजना गरेको ‘त्रिदेशीय सीमा समस्या र समाधान’ विषयक अन्तरक्रिया कार्यक्रममा रवि किरण हमालले नेपाललाई शान्ति क्षेत्रको रूपमा पुनः कायम गर्नुपर्ने प्रस्ताव राखेका छन्।
    हमालले भने, “नेपाललाई शान्ति क्षेत्र घोषणा गरौं र क्रमशः अतिक्रमित भूमिमा बलियो उपस्थिति जनाऔं।”
    कार्यक्रममा अभियानका संयोजक सुनिल सिंहले नेपाली युवाहरू बलिदान दिन तयार रहेको बताउँदै आवश्यक परे छिमेकी देशसँग लड्न पनि तयार रहेको दाबी गरे। उनले भने, “नेपाली युवा बलिदान दिन तयार छन् र परेको खण्डमा छिमेकी देशसँग लड्न सक्छन्।”
    यसैगरी अभियानका सहसंयोजक अजय सोडारीले चेतावनी दिँदै भने, “जसरी जेन्जीहरूले देशभित्रका कुलंगारहरूलाई घुँडा टेकाएका थिए, त्यसैगरी भोलि छिमेकी मुलुकले हामीमाथि गिद्धे नजर राखे संघर्ष गर्न तयार छौं।”
    कार्यक्रममा सीमा रक्षाका लागि निरन्तर आवाज उठाइरहेका सीमा विशेषज्ञ बुद्धिनारायण श्रेष्ठ, नापी विभागका पूर्व महानिर्देशकहरू, लोकप्रिय कलाकार नवल खड्का लगायत विभिन्न क्षेत्रका बुद्धिजीवी, पूर्व राष्ट्रसेवक र युवाहरूबीच अत्यन्त सार्थक छलफल भएको थियो। सहभागीहरूले ऐतिहासिक दस्तावेज, प्रमाणहरू र नेपालको वास्तविक सीमा अवस्थाबारे नयाँ पुस्तालाई गहिरो जानकारी दिएका थिए।
    अन्तरक्रियामा कालापानी, लिम्पियाधुरा, लिपुलेक लगायतका अतिक्रमित क्षेत्रमा नेपालको बलियो उपस्थिति कायम गर्ने, कूटनीतिक प्रयाससँगै आन्तरिक एकता आवश्यक रहेको निष्कर्ष निकालिएको थियो।
    राष्ट्रिय जेनजी नागरिक अभियानले सीमा चेतना अभिवृद्धि र युवा पुस्तालाई राष्ट्रिय मुद्दामा सक्रिय बनाउने उद्देश्यले यस्ता कार्यक्रमलाई निरन्तरता दिने बताएको छ।

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    © 2026 Khabar Khata All right reserved Site By : Himal Creation